मंगलबार बौद्धस्थित समता अस्पतालमा युवतीको झुण्डिएको अवस्थामा भेटिएको शवको विषयमा झन् झन् रहस्य थपिदैँ गएको छ । अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङको मृत्यु पश्चात उनका आफन्त तथा स्थानीयले अस्पताल तोडफोड गरेपछि अस्पतालको वातावरण निकै तनावपूर्ण बनेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

आक्रोशित स्थानीयको ढुंगा प्रहारबाट प्रहरी समेत घाइते भएका छन् । आक्रोशित प्रदर्शनकारीले हत्यारालाई फाँसी दे भन्दै नाराबाजी गरेका छन् । उनीहरुले सीसी टिभीको फुटेज समेत देखाउन माग गरेका छन् । अस्पतालको प्यासेजमा तामाङको शव झुण्डिएको अवस्थामा भेटिएको हो । तर, स्थानीय तथा आफन्तहरु भने तामाङ झुण्डिएर मरेको स्वीकार गर्न तयार छैनन् ।

घटना त त्यतिवेला रहस्यमय बन्यो जतिवेला मृतकको खल्तिमा सानो कागजको टुक्रा भेटियो । उक्त कागजको टुक्रामा अस्पतालकै कर्मचारी तीर्त दिदीलाई समाउनुस, रिसेप्सेनको संगीतालाई समाउनुस र म्यामलाई समाउनुस भनेर लेखिएको भेटियो । यो कागजको टुक्रा भेटिएसँगै आफन्त तथा स्थानीयले भनेजस्तै घटना थप रहस्यमय बनेको हो ।

Comments

comments