काठमाडौं । युवा पुस्ता माझ लोकप्रिय नायक अनमोल केसी अभिनीत चलचित्र ‘छड्के २.०’ बक्स अफिसमा डिजास्टर भएपछि नायक केसीले सामाजिक सञ्जालमा स्टाटस लेखे, उनले दर्शकलाई निराश बनाएको भन्दै माफि मागे । धेरैले उनलाई यमान्दारतिा सहित फिल्म झुर भएको स्विकारेकोमा तारिफ पनि गरे । तर सो चलचित्रका जापानका वितरक सचिन आचार्यले अनमोलको उक्त स्टाटसमा कडा आक्रोश व्यक्त गरेका छन् । जापानमा ‘छड्के २.०’ लाग्दालाग्दै अनमोलको स्टाटस आएपछि आफ्नो लगानी डुबेको उनले गुनासो गरेका छन् ।
सहानुभुती बटुल्न माफी मागेर दर्शक भड्काएको भन्दै आचार्य अनमोलमाथि खनिएका हुन्। उनले लेखेका छन्, ‘उता मेघा स्टारलाई सहानुभूति कमाउनु थियो। पुरै आत्मसमर्पण गरिबक्स्यो। आफ्नो यता अझै शो हुँदै छ।’ आफ्नो शोका लागि भिडियो सन्देश पठाउन भन्दा अनमोलले नाानेको आचार्यको दाबी छ । उनले अनमोललाई चेतावनी दिँदै भनेका छन्, ‘मेरो शो राम्रो बनाउन १० सेकेन्डको भिडियो पठाउन भन्दा नमान्ने तिमीलाई मेरो शो बिगार्ने पनि कुनै अधिकार थिएन। याद गर्नु महँगो पर्छ यो हर्कत तिमीलाई।’ जापानमा प्रदर्शनमा आउने अधिकांश नेपाली फिल्महरूमा जोडिइरहने सचिनले पहिलो पटक छड्के जापानमा वितरण गर्न लागेका थिए। आफूले फिल्मको राईट्स लिँदा नगद तिरेर निर्माता प्रशान्त गिरीसँग सम्झौता गरेको उनको भनाइ छ।
‘दर्शकले गाली गरून् या ताली मारून् त्यो मलाई मञ्जुर छ। तर मेरो शो नै बरबाद पार्ने गरी अनमोल केसीलगायत अन्य टिमले आफ्नो जुन भनाई दिएका छन्, त्यो खेदजनक छ। ख्याल होस म मुर्गा होइन र कदापि हुँदिन,’ उनी थप्छन् । यस वर्षको बहुप्रतिक्षित मानिएको चलचित्र ‘छड्के २.०’ रिलिज पूर्व नेपाल तथा बाहिरका तर्कहरुले लिएका थिए। अनमोलको क्रेजले दर्शकहरू हलसम्म आउने र हाउस फुल हुनेमा सबै विश्वस्त देखिन्थे। अनमोलकै मुख हेरेर नेपालका वितरक सुनिल मानन्धरले डेढ करोडमा फिल्मको राईट्स किनेका थिए। तर फिल्मले सोचेजस्तो व्यापार नगरेपछि सबै निराश भए।
कथावस्तु नै राम्रो नभएका कारण केही दिनमै फिल्म हलबाट उत्रिएको थियो । अनमोलको स्टारडमले मात्रै दर्शक हलसम्म तान्न सकेन । चारैतिर आलोचना हुन थालेपछि दर्शकले सोचेजस्तो काम गर्न नसकेकोमा बताउँदै अनमोलले दुख व्यक्त गरेका थिए । यसबाट चलचित्र नहेरेका दर्शकहरूमा समेत चलचित्र राम्रो नभएको छाप बस्यो। यता दर्शकहरूमा यस्तो छाप बसिदिँदा उता लाखौँ करोडौँ तिरेर राईट्स किनेका वितरक भने मारमा परेका छन् । फिल्म अझैं ओभरसीजका केहि सेन्टरहरुमा प्रदर्शन हुन बाँकिनै छ । अनमोलको स्टाटसले प्रदर्शन बाँकि रहेका क्षेत्रहरुमा असर पुग्ने पक्का छ ।
प्रतिक्रिया