काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगतको ६२ आंगिक तथा एक हजार ४० सम्वन्धन प्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को निर्वाचन हुँदैछ । निर्वाचन विहान आठ बजेबाट सुरु भएको छ । त्रिभिवन विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार निर्वाचन दिउँसो चार बजेसम्म चल्नेछ । स्ववियू विधान अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्षसहित ५० प्रतिशत कार्यसमिति प्रत्यक्ष निर्वाचनबाट चुनिनेछन् । बाँकी उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत कार्यसमिति भने समानुपातिक निर्वाचन प्रणालीबाट छानिनेछन् । कतिपय क्याम्पसमा नेतृत्व निर्विरोध चयन भएका छन् ।
निर्वाचन हुने क्याम्पसमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । हरेक दुई–दुई बर्ष हुने स्ववियू निर्वाचन ०६५ देखि हुन सकेको छैन । ०७३ मा त्रिविले घोषणा गरेपनि मातहतका सबै क्याम्पसमा स्ववियू निर्वाचन हुन सकेको थिएन । स्ववियू विधान अनुसार दुई सय विद्यार्थी भएको क्याम्पसमा ११ सदस्यीय स्ववियू कार्यसमिति हुनेछन् । त्यस्तै, दुई सयदेखि दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति रहने व्यवस्था छ । एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने वैधानिक व्यवस्था छ ।
प्रतिक्रिया