धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका खेलाडीलाई २ लाख रूपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । राष्ट्रिय टिमका खेलाडीभित्र परेका सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुई दुई लाख पुरस्कार प्रदान गर्ने सरकारका प्रवक्ता नरेशकुमार शाहीले बताए । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौंमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स ९युएई०लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ । यस्तै, राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका सन्दिप जोरालाई एक लाख र टिमभित्र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन साउँदलाई ५० ५० हजार पुरस्कार दिइने भएको छ ।
नेपालले पहिलोपटक विश्वकप क्रिकेट छनोटमा पुगेर ऐतिहासिक सफलता प्राप्त गरेको छ । साथै, फागुनमा सम्पन्न खेलमा यू–१९ विश्वकपमा नेपाल एसिया विजेता बन्दै अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा पुगेको छ । क्षेत्रीय छनोटबाट विजेता भएर यू–१९ विश्वकपमा पुग्ने नेपाल पहिलो राष्ट्र हुन सकेको गौरवमा योगदान गर्ने सुदूरपश्चिमका पाँच जना खेलाडीलाई पनि जनही एक–एक लाख पुरस्कार दिने प्रदेश सरकारको घोषणा छ । पुरस्कार पाउने घोषित खेलाडीमा सुदूरपश्चिमका हेमन्त धामी, आकाश चन्द, दिपक बोहरा ब्याट्सम्या, दीपक बोहरा अलराउन्डर र मिलन बोहरा रहेका छन् । सरकारले उक्त टिममा पाँच जना अफिसियललाई पनि जनही ५० हजार नगर प्रदान गर्ने घोषणा गरेको छ । नेपाल क्रिकेट संघ क्यान का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टीमले उचाइ प्राप्ति गरेको बताउँदै प्रदेश सरकारले आफ्नो प्रदेशका खेलाडीलाई पुरस्कृत तथा सम्मान गर्ने घोषणाले खेलाडीलाई प्रोत्साहन हुने बताए ।
प्रतिक्रिया