केन्टकी/ अमेरिका ।
गैर आवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष साथै मेम्बर सीप ड्राइभ कमिटीका चेयर डिलु पराजुलीले आफ्नै गृह राज्य केन्टकीको लेक्जिन्टनमा सदस्यता विस्तार अभियानको पहिलो कार्यक्रम गरेका छन् । मार्च १९ तारिक आइतबार लेक्जिन्टनमा सदस्यता विस्तार अभियानका लागि आयोजना गरिएको कार्यक्रममा स्थानीय सङ्घ संस्थाका प्रतिनिधि, समाजका अगुवाहरू र स्थानीयहरूको राम्रो उपस्थिति रहेको थियो । धेरै राज्यका प्रमुख सहरहरूमा सदस्यता अभियानमा जानु पर्ने भएका कारण छोटो समयको सूचनामा कार्यक्रम आयोजना गरिएको मेम्बर सीप ड्राइभ कमिटीका चेयर डिलु पराजुलीले बताए । कार्यक्रममा स्थानीय सङ्घ संस्थाका प्रतिनिधि र समाजका अगुवाहरूले एनआरएनए अभियान आफ्नै लागि हो भनेर सबैलाई बुझाउन र संस्थाको आवश्यकतालाई प्रस्ट्याउन सुझाव दिए । मेम्बर सीप ड्राइभ कमिटीका चेयर डिलु पराजुलीले नेतृत्व गरेको अभियानलाई सफल बनाउन केन्टकीबासी नेपालीहरू सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत उनीहरूले जाहेर गरेका छन् ।
अमेरिकामा रहेका नेपाली मूलका अमेरिकन र नेपालीहरूलाई अप्ठ्यारोमा एनआरएनएले साथ सहयोग गरेको साथै आपद् विपद्मा नेपाल र नेपालीका लागि पनि सहयोग अभियान चलाएका दृष्टान्तहरूको कार्यक्रममा चर्चा भयो । गैर आवासीय नेपालीहरूले विदेशमा गरेको अनुसन्धान, आर्जन गरेको ज्ञान सीप, अनुभव र पुँजीलाई नेपालसँग जोड्ने प्रयासको सुरुवात अमेरिकाबाटै भएको हो । कार्यक्रमका प्रमुख अतिथि एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा मेम्बर सीप ड्राइभ कमिटीका चेयर डिलु पराजुलीले गैर आवासीय नेपाली अभियानलाई उचाइमा पु¥याउन सानातिना मत मतान्तरमा नभुली सबैले सबैलाई सम्मान र विश्वास गर्दै सबै सँगै समेटिएर अगाडि बढ्नु श्रेयस्कर हुने बताए । कार्यक्रममा अग्रज वक्ताहरूले दिएको सल्लाह सुझाव र हौसलालाई आफूले आशीर्वादको रूपमा ग्रहण गरेको पराजुलीले उल्लेख गरे । पराजुलीले भने ‘विश्वकै ठुलो एनसीसी गैर आवासीय नपाली सङ्घ अमेरिकाको ताजलाई जोगाउँदै संस्था माथिको विश्वास र गरिमालाई जोगाउन मलाई एनआरएनए अमेरिकाले दिएको जिम्मेवारीलाई पुरा गर्ने छु ।’
समाजका अग्रज शेष नारायण तिवारी, एन्काका वरिष्ठ उपाध्यक्ष श्याम पराजुली , चर्चित कलाकार साथै इनास अमेरिकाका वरिष्ठ उपाध्यक्ष गोपाल नेपाल, नेपाली जन सम्पर्क समिति केन्टकी च्याप्टर सभापति सुधीर ओझा, प्रवासी मञ्च नेपालका केन्टकी च्याप्टर सभापति टेकराज भट्टराई, सुदूर पश्चिम समाज केन्टकीका सभापति उद्धव उप्रेती, शान्ता कुवर, सरिता मरासिनी, सुन्दर मनी पौडेल र सरद ढकालले कार्यक्रममा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा डेढ सय भन्दा बढी केन्टकीबासीको सहभागिता थियो ।
अध्यक्ष बुद्धि सागर सुबेदी र महासचिव अन्जन चौलागाईको प्रस्तावमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाको कार्यसमितिले डिलु पराजुलीलाई मेम्बर सीप ड्राइभ कमिटीको चेयरको जिम्मेवारी दिएको थियो । मेम्बर सीप ड्राइभ कमिटीको जिम्मेवारी पाएपछि नेपाल भ्रमणको अवधि छोटाएर अमेरिका आएको दुई दिन भित्रै पराजुलीले मेम्बर सीप ड्राइभ कमिटीलाई बिस्तार गर्दै सदस्यता विस्तार अभियानको पहिलो कार्यक्रम आफ्नै गृह राज्य केन्टकीबाट सुरु गरेका हुन् । नेपालीहरूको बसोबास रहेका अमेरिकाका विभिन्न राज्यका प्रमुख सहरमा पुगेर अभियानलाई तीव्रता दिने पराजुलीले बताए ।
प्रतिक्रिया