काठमाडौँ । दि गोर्खा इन्जिनियरिङ एन्ड सर्भिसेज इन्टरनेशनल प्रा. लि.ले, डुर्मेवेशी सडक तथा पुल निर्माणको ठेक्का रद्द बापतको क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सो प्रा. लि.का कार्यकारी अध्यक्ष वसन्त बहादुर भुजेलले सम्झौता विपरीत सरकारले एकतर्फी ठेक्का तोड्दा कम्पनीलाई ठुलो क्षति पुगेको भन्दै त्यसको सरकारको ध्यानाकर्षण गराए । पत्रकार सम्मेलनमा उनले भने ‘तत्काल मैले पाउन पर्ने क्षतिपूर्ति सहितको रकम उपलब्ध गराउन हार्दिक आग्रह गर्दछु । यदि अव पनि सरकारले मलाई छिटो भन्दा छिटो न्याय नदिए तत्काल कडा भन्दा कडा सङ्घर्षमा जाने चेतावनी समेत दिन चाहन्छु ।’
उनले सङ्घर्षका क्रममा हुने सम्पूर्ण जनधनको क्षतिको जिम्मेवारी स्वयम सरकारले नै लिनुपर्ने चेतावनी समेत दिएका छन् । उनले सो काम सम्पन्न गर्न कम्पनीको तर्फबाट भएको सम्पूर्ण आर्थिक लगानी जुटाई अफिसियल बैङ्कको रूपमा बैङ्क अफ काठमाडौँ मार्फत कार्य प्रारम्भ गरिएको र सो सम्पत्ति सोही बैङ्कले लिलाम बिक्री समेत गरेको दुखेसो गरेका छन् । कम्पनीको तर्फबाट विगत लामो समयदेखि कानूनी प्रशासनिक र राजनैतिक माध्यमद्वारा समस्याको समाधान खोज्न अनवरत प्रयत्न हुँदै आए पनि आफूले न्याय नपाएको उनको भनाई छ ।
प्रतिक्रिया