एनआरएनए अमेरिकाको आठौं साधारण सभा तथा बिज्ञ सम्मेलन सफलता पुर्वक सम्पन्न भएको छ । नव निर्वाचित पदाधिकारीको पदभार ग्रहण, नेपालमा हुने अधिवेशनका लागि प्रतिनिधी चयन समिती गठन, महासचिवका प्रस्थावमाथी छलफल लगायतका महत्वपूर्ण निर्णय सहित यहि जुन ६ र ७ तारिखका दिन सिकागो सम्मेलन सम्पन्न भएको हो ।

इलिनोइस राज्यको शिकागोमा सम्पन सम्मेलनमा एनआरएनए अमेरिकाका नव निवार्चित पदाधिकारीहरुले पदभार ग्रहण गर्नुका साथै अध्यक्ष सुनिल कुमार साहको अध्यक्षतामा नयाँ कार्यसमिति (२०१९-०२१) को पहिलो बैठक पनि बसेको छ । तात्कालिक आवश्यकता, दिर्घकालिन कार्ययोजना र सान्दर्भिक विषयवस्तुलाई समेटेर महासचिव पशुपति पाण्डेद्वारा राखिएका प्रस्तावहरु माथि बैठकमा छलफल भएको सो बैठकमा कार्यसमितिका निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थितिमा रिजनल कोर्डिनेटर गौरी जोशी, डिआरसी नविन लामा र आइसीसी सदस्यहरु समेतको सहभागिता रहेको थियो ।

बैठकको प्रारम्भमा नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरु वीचमा आपसमा परिचय साथै दूई वर्षको सहयात्रा र सहकार्यका लागि आत्मियता र आपसी सद्भाव जगाउदै संस्थाको हितमा अगाडि बढ्ने सामुहिक प्रतिवद्धता सहित सिकागोमा उपस्थित पदाधिकारी र सदस्यहरु आमनेसामने वसेर कार्यसमितिको बैठक शुभारम्भ भएको थियो भने महासचिवको दुई वर्षिय कार्ययोजनाको प्रारम्भिक प्रस्थाव माथि विचार मन्थन गरिनुका साथै ती प्रस्तावहरु पदधिकारी र सदस्यहरुको थप राय सुझाव सहित आगामी बैठकमा पेश गर्ने सहमति पनि भएको छ ।

त्यस्तै आगामी अक्टोबरमा नेपालमा हुने एनआरएनए आइसीसीको अधिवेशनमा अमेरिकाबाट सहभागि हुने प्रतिनिधि चयन गर्न बैठकले प्रतिनिधि चयन समिति पनि यहि सम्मेलनमा गठन गरेको छ । जसमा बरिष्ठ उपाध्यक्ष संयोजक र क्षत्रीय उपाध्यक्षहरु, महासचिव र कोषाध्यक्ष सदस्य रहने गरि ७ जनाको समिति गठन गरिएको छ । समितिले प्रतिनिधि चयनमा संस्थाको विधान, अमेरिकाको विद्यमान कानुन, आइसीसीको गाइडलाइन र आवश्यक परेमा अरु महत्वपुर्ण पक्षलाई आधार बनाएर प्रतिनिधि चयन कार्यविधि बनाइ काम गर्ने छ ।

त्यस्तै यो सम्मेलनबाट बिधान समिती संयोजकमा उपाध्यक्ष वी आर लामा, अमेरिकामा हुने जनगणनामा नेपालीहरुको सहभागिता वढाउन गठीत सेन्सस २०२० समितिको संयोजकमा बरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडे र आइटी समितिको संयोजकमा महासचिव पशुपति पाण्डे रहने गरी पहिलो चरणमा तिन समिति गठन गरिएको छ । समितिमा थप सदस्य संयोजकहरुले बोर्डको सल्लाहमा चयन गर्ने निर्णय भएको छ ।

यस बिषयमा महासचिव पशुपती पाण्डेद्वारा जारी गर्दै पहिलो बैठकले आठौं साधारण सभा र सपथ ग्रहण कार्यलाई सफल बनाउन सहयोग पुर्याएका संपुर्ण सदस्यहरु, स्थानिय च्याप्टर, आठौं साधारण सभा र सपथ ग्रहण कार्यक्रम तयारी समिति सदस्यहरु, निबर्तमान केन्द्रिय समिति तथा च्याप्टर समिति, टास्कफोर्स, सल्लाहकार, स्थानिय नेपाली संघरसंस्था, कलाकार, सन्चारकर्मी र सहयोगी सवैलाई धन्यबाद ज्ञापन गरेका छन् ।

 

Comments

comments