बिष्णु पादुका

नेपालमा अझै पनि यौनको विषयलाई अस्लिलताको आँखाबाट मात्रै हेरिन्छ । तर यँहिनेर एउटा भूगोल भित्रका यौन आचरण र ब्यवहारलाई नजरअन्दाज गरिएको छ । नेपाललाई एउटा सुत्रमा बाँध्ने नाममा कुनै नियम कानुन बन्छन् । केही बिकशित शहर र काठमाडौ खाल्डोको अवस्था हेरेर नियम बनाइएको हुन्छ । देशका भिन्न भिन्न क्षेत्रहरूमा भिन्न संस्कार र परिस्थितिको बेवास्ता गरिएको पाइन्छ ।

यौन र बैबाहिक प्रणाली एक आपसमा जोडिएको देखिन्छ । यौन क्रियाकलापलाई बैधानिक बनाउन नै विबाहको संस्था या संस्कार बिकसित भएको देखिन्छ । बिबाहपछिको पारिवारिक उतारचढावका कारण पारपाचुके तथा दोश्रो या तेस्रो बिबाहलाई कानुनतः केही सिमा सहित बैधता दिइए पनि सामाजिक रूपमा कानेखुसी गर्ने र हेलाँको दृष्टिले हेर्न छुटेको देखिदैन ।

मान्छे स्वतन्त्र र विवेकशिल प्राणी हो । त्यसैले सामाजिक रूपमा उसले समाजले निर्धारण गरेका दायरा भित्र रहनुपर्छ । चलन धर्म हुँदै आज कानुनी रूपमा यो ब्यवहारमा लागू भएको छ । सिन्धु सभ्यताबाट आएका आर्य सम्प्रदायमा एक थरी संस्कार बिकसित भयो भने मंगोल समुदायमा अर्को अथवा भिन्न संस्कार चलेको देखिन्छ । कारणहरु विबिध भएपनी अझैसम्म बहुपती प्रथा समेत छन् देशका कुना कन्दरामा । जग्गा जमिन र घरबासको अभावमा मात्रै बहुपती प्रथा रहेको हो या त्यसको अन्य सामाजिक कारण पनि छ ।आजको युगमा त्यो संस्कार या ब्यवस्था कसरी टिकेको छ ? जब कि एउटा बिवाह दर्ता भए पछि त्यो लोग्ने या स्वास्नीले अर्को बिहे गर्न चाहे छोडपत्र र बिवाह दर्ता अनिवार्यको नियम छ । हाडनाता सम्बन्धी नियम पनि यदाकदा मिचिएको देखिन्छ कुनै जाती विशेषमा ।

मामा फुपुको छोराछोरी विच बिबाह हुनु र नहुनु प्रमुख फरक देखिए पनि अझ गहिरिएर हेर्दा धेरै असमानता भेटिन्छन् । केही वर्ष अगाडि सम्म अशिक्षा र चेतनाको अभावमा गर्ने बाल बिवाहा लगभग न्यून हुँदै गएको छ । बहु बिवाहलाई कानुनी बन्देज लागेको छ । बिस्तारै यौन र प्रजनन शिक्षा फैलिएको छ । तर पनि सामाजिक रुपान्तरणको हिसाबले यौनका बारेमा हेर्ने दृस्ठिकोण उस्तै पाइन्छ । उसो त शिक्षा र आत्मनिर्भताका कारण वैयक्तिक स्वतन्त्रताको दायरा पनि फराकिलो हुँदैछ । अन्य क्षेत्रको झैँ असमानताको दुरि सामाजिक रूपमा पनि देखिन्छ ।शहरीकरणको प्रभाव गाउँ गाउँमा पुगेको छ । हिजोको अनुदार र साघुरोपन घट्दो क्रममा देखिन्छ । तर पनि आजको स्वतन्त्रता काखी च्यापेको पुस्ता समेत यौनका बारे खुलेर बोल्न चाहेको पाइएन । सामाजिक संजालमा जोडिएका एकसय पचास साथी संग मैले एउटै प्रश्न सोधेँ, ” यौन के हो ? तपाईंको बुझाइमा आफ्नो अवधारणा दिनुहोस् ।” दुइचार जनाको बाहेक अधिकांशको जवाफ उस्तै पाइयो । प्राकृतिक प्रक्रिया , जैविक आवश्यकता अनि बिपरित लिङ्गी प्रतिको लगाव समर्पण र सन्तानोत्पादन ।

केही साथीहरूले फ्रायड वात्सायन र ओशोका बिचारहरु पनि सम्प्रेषण गर्नु भयो । यौनको विश्लेषण गर्ने विभिन्न दार्शनिकका कुरा पनि आए । यौनले सिर्जनसिल भुमिका खेल्छ खेल्दैन भन्ने बारेमा पनि फरक धारणा आए । प्रशिद्द डि एच लरेन्स , जेम्स जोयस जस्ता साहित्यकारहरु यौन असन्तुष्टिको मनोविकार लेख्थे भन्ने कुरा पनि आए ।

आफ्नो बौद्धिक र आत्मिक उर्जा एउटि महिलाको अगाडी समर्पित गर्ने मान्छे सुन्दर हुन सक्दैन भन्ने नित्से बर्षौ सम्म बेश्यालय धाउथे । जीवन भोगाइ पछि नै बल्ल साँचो चिन्तनको शुरूवात हुन्छ भन्ने सिद्धान्त नित्सेले प्रयोगात्मक तरिकाले देखाएका थिए । उनले निचोडमा भने कि आफ्नो उच्चतम सम्भावनाको हत्या गर्ने मान्छेको भिडले नै समाजमा कुरुपता ल्याएको हो । कुनै महान दार्शनिक बिवाहित हुन सक्दैन । मान्छे यौनबाट पूर्ण निस्पृह हुन सक्दैन । तर यौनमा कति निर्लिप्त हुने मुल प्रश्न यो हो ।

सम्पुर्ण प्राणीहरुमा पुस्ता हस्तान्तरणको निम्ति बनाइएको प्राकृतिक ब्यवस्था जसलाई मान्छेले कुरुप बनाइदियो । यौन जीवनको गुरुत्व केन्द्र हो ।एक थोपा स्पममा हुने असंख्य शुक्राणु जसमा जीवनका आनिबानी आकार रुप रोग सबै लुकेको हुन्छ । एक कोषिय देखि सम्पुर्ण प्राणिको उद्देश्य र लक्ष्य फैलिनु हो । त्यही प्रक्रियाको एउटा सुविचारित प्राकृत ब्यवस्था यौन हो ।

यौनका बारे किन पनि खुला बहस चलाउनु जरुरी छ भने हरेक ब्यक्ती नयाँ गर्न चाहन्छ । मानविय चेतना र मानसिकता सम्बन्धि अध्ययनहरुका अनुसार जो कोहि जीवनको कुनै एउटा अध्यायमा अरु भन्दा भिन्न देखिन चाहन्छ । हरेक ब्यक्तिको जीवनमा कुनै न कुनै दिन एउटा बलियो आवेग उद्घाटित हुन्छ । उसलाई के गरौं कसो गरौको असमन्जसताले घेर्छ । भिन्न देखिने चाहनाको उत्कर्षमा उसले परिणाम हेर्दैन । सकारात्मक उर्जाको अभावमा उसले गलत कदम चाल्छ । फलत: समाजमा जघन्य अपराध घटित हुन्छन् । नियम कानुन र समाचारहरु परिणामकै वरिपरि घुमेको देखिन्छ । समस्याको जरो पत्ता लगाउन कसैलाई फुर्सद देखिदैन । समाजले देखेको अपराध र अपराधीलाई दुधले नुहाउन खोजेको किमार्थ होइन । नियम कानुन छ उसले भोग्नु पर्छ । तर उसलाई थाहा नभएर अपराध गरेको हो ? मान्छे मारेपछी जेल जानुपर्छ भन्ने थाहा हुँदैन कुनै हत्यारालाई ?

जेलहरु जति बलिया र नियमहरु जति कडा भएपनि खोइ त अपराध घट्नु सट्टा बढेको छ । चेतनास्तर र शिक्षा पनि बढेको भनेर बोल्छन् तथ्यांकहरु । घटना कसरी घट्छ ? किन घट्छन् ? सामाजिक संरचना कस्तो छ ? आधुनिकता को दौड कुन रफ्तारमा छ ? सामाजिक विकास क्रम र आधुनिकता अनि अनुशासन र स्वतन्त्रता बिच तारतम्य मिले नमिलेको हेर्ने निकाय खोइ ?

जसको बाबू मर्‍यो उसैको छोरो टुहुरो भने झैँ अरुलाई पर्दा रमिते दर्शक हुने परम्परा देखि हामी कहिले माथी उठ्ने ? घटनाहरुको सूक्ष्म बिश्लेषण गर्न विभिन्न निकायमा छलफल चलाउनु जरुरी छैन र । जति हामी संकोच मान्छौ त्यतिकै हामिमा कौतुहलता हुन्छ । भएका भोगेका देखेका कुरा सम्म हामी अरुमाझ स्पस्ट राख्न सक्दैनौ । दबिदै गएका धेरै कुरा धेरै पछि कुण्ठाको रूपमा देखिन्छ । जुन कुरा ब्यक्ती र सामाजिक रुपमा नै अपराधको जड हो । जति खुल्ला रूपमा बहस गर्न सकिन्छ त्यति स्तरिय समाधान निस्कने हो । खुल्ला भनिएको समाज पनि त अपराध मुक्त छैन । हामिले भोगेको हिजोको समाज आज परिवर्तन भएको छ भोलि यस्तै रूपमा अवस्य रहने छैन । यसर्थ मानव जीवनको अपरिहार्य तत्व भएर पनि हरेक ब्यक्तिपिच्छे भिन्नता बोक्ने बिषयमा बोल्न लेख्न छलफल गर्न अलिकति उदारता देखाउने कि !

अस्तु !

Comments

comments