बिष्णु पादुका

यौनलाई नजिकैबाट नियाल्ने दार्शनिक केही कम नै भए झैं लाग्छ अझैपनी । साहित्यका माध्यमबाट सूक्ष्म विश्लेषण गरिए पनि खुलेर प्रसंगको खुलासा गरेको पाईंदैन । उसो त अहिलेको युगमा एउटा समाज नियाल्न एउटा कोणबाट मात्रै हेर्नू अप्रासंगिक हुन्छ । ईन्टरनेटको सन्जालले क्षणभरमा जो कोहिका अवधारणा सार्वजनिक हुने गर्छन् । अहिलेका मानिसको धुन र ध्याउन्न अफ्रिकी पादरी सेफर्ड बसिरी हुने देखिन्छ । जति सक्दो छोटो समयमा चर्चा र कमाइ होस् । सभ्यताको आदिम कालदेखी विशिस्ट कामले नै उसको नाम र दामको बर्चस्व कायम रहन्छ भन्नेकुरा भुलिन्छ । कुनै पनि कुरा प्रती तत्काल धारणा बनाइन्छ र सार्वजनिक गरिन्छ ।

आधुनिक भाषा प्रयोग गर्दा सबैलाई भाइरल हुने भोक जागेको छ । स्व प्रचार अहिलेको ठूलो मानसिक समस्या हो । द्वैध जीवन बाँच्नु अर्को समस्या हो । छरपस्ट हुन सक्ने यथार्थलाई जतिसक्दो ढाकछोप गर्नमै मानिसले अधिक समय ब्यतित गरेको छ । आत्मिय उदारतालाई ढाँटेर आदर्शको ढवाङ्ग बजाइएको छ । यो क्रम धर्म दर्शन राजनीति शिक्षा विकास सर्बत्र व्यापक भए पनि आज अलि फरक कोणबाट संप्रेषण गर्ने प्रयत्न गर्दैछु ।

संसारमा नारीलाई युगौ देखि सौन्दयको प्रतीक मानियो । बंश वृद्धिको अत्यधिक भार प्राकृतिक रूपमा महिलामाथी छ । औसत नौ दस महिना त गर्भकै कारण महिलाहरुको बाहिरी काममा सक्रियता कम देखिन्छ । गरिबी र पछौटेपनका कारण उचित खानपान र स्याहारको अभावमा गुमेको सुन्दरता फिर्ता हुन बर्षौ लाग्छ । नजिकैको बिगत सम्म पनि कति बच्चा जन्माउने भन्ने अधिकार पुरुषलाई मात्रै थियो । मृत्यु सँग लड्न बारम्बार महिलालाई बाध्यता थियो । देशका कुना कन्दरामा अझै यो अवस्था कायम छ । कति महिला त्यस युद्धमा ज्यान गुमाएर गुमनाम भएका छन् । यहाँ हतियार साँधिएका युद्दका बारे धेरै लेखियो ।धेरै पढियो । कथित सुनौलो इतिहासका नाममा । तर आधा आकाश सदैव युद्धरत छ । यो युद्धमा युद्ध विराम सम्म भएको देखिदैन । अधिकारका नाममा फाटो र बैमनस्यता बढ्दो छ । कानुनमा जे सुकै लेखिएको भएता पनि महिला उत्पीडन रोकिएको छैन ।

पुरुष प्रधानता भित्र घुलित महिलाहरु पनि निसंकोच महिलाको बिरोध गर्छन् सतही रूपमा । अरुका कुरा काट्नु नै प्रमुख मनोरञ्जनको श्रोत भएको छ । पिडित पक्षको पिडाको गहिराई हेर्नू कता हो कता शृङ्खलावद्द सजायको पछि लाग्छ कानुनी निकाय । पुरै पुरुष सत्ता महिला अस्तित्वमाथी हावी छ । अनेकौं प्रहार बिरुद्द एकाध बिरोध त सूनिन्छ केही दिनमा साम्य पारिन्छ । मूल्य र मान्यता, नियम र कानुन एकातिर भए पनि सामाजिक कुरितीले गर्दा बिद्रोहको आवाज सामुहिक हुन सक्दैन । परिवर्तनका घण्टाको स्वर जति चर्को सुनिए पनि घरभित्र कोठाभित्र अझ सिरकभित्र हुने उत्पिडन ज्युका त्युँ छ ।

नेपाली समाजको समस्या भनेकै देखाउने दाँत हुन् । सफेद र आदर्शका चिल्ला दाँत । बर्षौ अघि बेट्टी फ्राइडनले “फेमिनिन मिस्टिक ” महिला रहस्यलाई पितृसत्ताको विपक्षमा अस्तीत्वका लागी संघर्ष भएको थियो अमेरिकामा । खवर आउनु छापिनु र बजार तताउनु त नेपालमा पनि भएकै छ ।

बैदिककाल देखि ललितकला काष्ठकला र मूर्तिकलामा नारी सुन्दरतालाई भरपुर पस्किने काम भयो । मनोरञ्जन र कलाकौशलको मर्यादामा नग्नता देखिएन । आज पनि यस्ता स्थलहरु पर्यटकको आकर्षणको सूचिमा पर्छन् ।

सुन्दरतालाई आत्माले देख्ने कति आँखा होलान् त्यहाँ ? अनि कति कामुकता हुर्काउने आँखा होलान् ? चित्रकला तस्विर हुँदै मोडलिङ्गमा आइपुगेको छ यौनकला । न्युड बडि पेन्टिङ समारोह हुने आजको युगमा हाम्रो नेपाली समाज एउटा किशोरीको बाथरुम चेन्जरुम ढुकी बस्छ । तिखा पुरुष आँखाहरु चोक चौराहामै बलात्कार गर्छन् । यहि सुन्दरताको कुरुपपन ढाक्न मुस्लिम देशहरुले बुर्काको आविस्कार गरेको हुनुपर्छ । बात्सायन र ओसो रजनिस एउटा कोणबाट बिज्ञापित भए । सारमा समाजले ती धारणालाई आत्मसात गर्न सकेन । कृषि अध्येता मदन राइ यौनका बारे उदार धारणा राख्छन् ।भएका गरेका कुरा जिब्रो नचबाई बोल्छन् ।

संस्कारको एउटा संस्था बिबाहले महिलामाथी अनेकन उत्पिडनको बोझ बोकाएको छ । बैबाहिक जीवन सफल हुँदा सम्म अथवा चित्तबुझ्दा सम्मकी गृहलक्ष्मी कुन बेला अलक्षिणी हुन्छे थाहै हुँदैन । चाहे बिकटको गरिव र अशिक्षित परिवार होस् या राजधानीको सभ्रान्त र सपन्न परिवार किन नहोस् । त्यहाँ कँहि पारिवारिक बिचलन होस् त त्यसको जरो यौन या यौनसँग जोडिएको तनाव हुन्छ । अनि समाज र नियम कानुन सजिलो बाटो देखाउँछ सम्बन्ध बिच्छेदको ।

त्यसपछिका अप्ठ्याराहरु आवश्यकताहरु अनि अपेक्षाहरुमा समाज र नियम कानुन मौन देखिन्छ । यस मामिलामा कुना कन्दरामा बरु उदारता पाइन्छ सभ्य र शिक्षित समाजमा भन्दा । सभ्यता र शिक्षाले समाजलाई अधकल्चो पो बनाएको हो अथवा संस्कार रितिरिवाज र शिक्षा बिच सामान्जस्यता नभएको हो कि ?

सभ्यता सुसंस्कृत नहुँदा सम्म कागजको डिग्री र पदिय श्रेष्ठताले सामाजिक रुपान्तरण सहि तरिकाले हुँदैन । किशोर अवस्था देखि नै बालबालिकामा शारीरिक र मानसिक रुपमा शसक्त बनाउन अनिवार्य हुन्छ । स्कुलमा हुने बिविध क्रियाकलापमा लैङिक बिभाजन गरिनु हुँदैन । हरेक अभिभावक ले तँ छोरा तँ छोरी भनेर लैङ्गिक विभेद झल्किने काम गर्न निर्देशित गरिनु हुँदैन । फरक लुगालत्ता सभ्यताको लज्जा छोप्न बाहेक अरु केही होइन भन्ने चेतना भर्दिन सके छोरी पनि निर्धक्क सजिलो लुगा लगाउन सक्छन् । छोरीलाई देविको रूपमा पुज्ने, छोरालाई बहादुरको रूपमा देखाएर हामिले आलो माटोमा सिस्नो रोपेका छैनौं ?

परिवार नै हो बलियो मानसिकताको जग । हामी बालबालिका प्रती कति उत्तरदायी छौँ भन्ने कुरा उनिहरुमा देखिने आत्मबिस्वासले निर्धारण गर्छ । उनिहरुलाई कुनै बिध्यालय र युनिभर्सिटीले भन्दा बढी परिवारले नै निर्देशन गरेको हुन्छ । त्यसैले आफुले पार गरेर आएको झाडिदार बाटो सन्ततिकालागी सुगम बनाइदिनु हरेक बाबुआमाको कर्तव्य हुन्छ । र बाबुआमाको दर्जा लिएर बसेको सरकार र अन्य सामाजिक संघसस्था समेतको दायित्व असल समाज निर्माण गर्नु नै हो ।

आधुनिक युग प्रविधिको युग हो । बालक बोल्न सिक्नु पुर्व नै उसले मोबाइल खेलाउन थाल्छ । यसबाट हुने प्रत्यक्ष दुर्घटना बाहेक परोक्ष प्रभाव जटिल देखिन्छ । अलिकति समय पायो कि मोबाइलमा झुण्डिने लत किशोरावस्थामा पुग्दा इन्टरनेट सम्म उ जोडिएको हुन्छ । घटित घटनाको विश्लेषण गर्दा जुनसुकै घटना मोबाइल सम्म पुगेर जोडिएको देखिन्छ । आम सन्चारको सबैभन्दा नकारात्मक पाटो हो यो ।यसको न्यूनीकरण गर्न चेतनामूलक अभियानको आवश्यकता खड्कीइ सकेको छ । एक या दुई मात्रै सन्तान हुनु र सकभर केटाकेटीको माग पूरा गरिदिने आमाबाबुले बेलैमा सचेतता देखाउन जरुरी भइ सकेको छ ।

यौनलाई बेलैमा बुझ्नु भनेको आकर्षण बढाउनु हुँदै होइन । सत ज्ञानले जीवनलाई नै सहज बनाउँछ । सामाजिक रूपमा दिइने परामर्श र सचेतनाले अपराधमा कमि आउँछ ।उचित अभिभावकत्व र उचित प्रेमले नै जीवनको गोरेटे सहज हुने हो ।अहिलेको अवस्थामा अधिकांश अभिभावक वैदेशिक रोजगारिमा भएकोले पारिवारिक आत्मियतामा खलल पुगेको छ । सुख सुबिधाको लालचमा एकल र टुक्रे परिवार आजको सभ्यता भएको छ । हरेककुराको देखासिकीले जीवनमा ” कन्फ्युजन ” ल्याएको छ । आर्थिक असन्तुलन र प्रविधिको चापले जीवनको गति नै अलमलिएको अवस्थामा एक शब्द पनि तौलेर लेख्नु र सार्वजनिक गर्नुपर्ने हुन्छ । कसैले एउटा प्रयोजनका लागि गरिएको कामलाई भिन्न भिन्न कोणबाट अर्थ्याउन लागिएको छ । उहीँ कुरा कुनै अवस्थामा सहि र कुनै अवस्थामा गलत साबित हुन्छ ।सामाजिक संजालमा देखिने तस्बिर र भिडियो या लेख्य सामग्री पस्कन समेत ख्यालगर्नु पर्ने बेला हो यो । तर निजि धारणा र तस्बिरलाई अनर्गल प्रचार गराएर भाइरल बनाइदिनु झन् सामाजिक अपराध हो । धारणा राख्ने अधिकार भएर पनि त्यो धारणाले समाजमा पर्न सक्ने प्रभावको ख्याल गर्नै पर्छ ।

निगरानी गर्ने सचेत बर्गले नै हो । स्वतन्त्रताको हनन , उपयोग या दुरुपयोग माथिको निगरानी गर्ने निकाय फितलो भए पनि हरेकले आफ्नो सामाजिक दायित्व बिर्सन हुँदैन ।

 

Comments

comments