म सुन्दरताको पारखी – सुर्य चन्द

45

सुर्य चन्द काठमाडौँ : सुन्दरता भन्ने चिज यस्तो छ, जसले सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । सुन्दर’ विशेषणमा ‘य’ प्रत्यय जोडिएर बनेको शब्द हो ‘सौन्दर्य’, यो शब्द कुनै ब्यक्ति वा बस्तुको आवरणको ब्याख्या गर्न प्रयोग गरिन्छ । भनिन्छ सौन्दय हेर्ने मान्छेको आँखामा भरपर्छ रे, तर मलाई लाग्छ, सौन्दर्य आँखा मात्र नभएर हरेक संबेदनशील अंगले अनुभव गर्ने कुरा हो । मुहारमा मात्र नभएर कसैको आवाजमा, कसैको स्पर्शमा अनि कसैको विचारमा लुकेको हुनसक्छ अदित्यिय सौन्दर्य, यसलाई केवल नियाल्न अनि अनुभव गर्न आबस्यक हुन्छ ।

सुन्दरतालाई समय, ठाउँ र सन्दर्भअनुसार फरकफरक रूपले अर्थाइन्छ। कसैका लागि सुन्दरता सुन्दर अनुहार होला, सुन्दर अनुहार पनि कालो, गोरो, गहुँगोरो विभिन्न पर्न सक्छन्। कसैलाई सुन्दरता मन होला, कसैलाई सुन्दरता व्यक्तित्व लाग्न सक्छ अनि कसैलाई आकर्षण र आत्मविश्वास पनि मानिसको सुन्दरता लाग्न सक्छ।

मेरो विचारमा सुन्दरता भनेको भावनात्मक कुरा हो, जसलाई एउटै विशेषण र परिभाषाभित्र सीमित राख्न सकिँदैन। यसका विविध आयाम हुन्छन्। यसलाई विविध आयमबाट व्याख्या एवं विश्लेष्ण गर्नुपर्छ। जस्तो भूगोल, वर्ण, जातजाति, लिंग, वर्ग, सुमदाय संस्कृतिअनुसार सुन्दरताको परिभाषा फरकफरक हुन्छ।

सौन्दर्य ईश्वरको प्राकृतिक बरदान हो, सौन्दर्यले मानिसमा आत्मबिस्वासको उजागर गर्छ त्यस्तै, सौन्दर्यले कसैलाई माया पनि दिलाउन सक्छ, जस्तै एउटा सुन्दर बालक सबैको मायाको पात्र बन्छ, सौन्दर्य स्वयंहितको लागि मात्र नभएर अरुको लागि पनि लाभदायी हुन्छ जसरी एउटा सुन्दर मुहारले कसैलाई तनाब मुक्त पार्नसक्छ अनि ओंठमा मुस्कान ल्याउनसक्छ । सुन्दर व्यक्तिमात्र नभएर सुन्दर दृष्यले पनि मानिसलाई लालायित बनाउने गर्छ । एउटा मनोरम प्रकृतिको काखमा बसेर त्यसको सुन्दरता चुम्न कसको मनले चाहन्नहोला ? मानिस घन्टौं सम्म हराउन सक्छ यस्तो स्थलमा मानौं उसले संसार बिर्सिएको होस् । येस्तो किन हुन्छ त? मानिस सौन्दर्यको अगाडी किन नतमस्तक हुनपुग्छ? अवश्यपनि सौन्दर्यसंग कुनै अध्भूत शक्ति छ; कुनै अदृश्य अनि बिपिनप्रचुर चुम्बक छ सौन्दर्यसंग, यही शक्तिमा संसार झुकेको अनि टिकेको छ।

तर के सौन्दर्यको परिभाषा यतिमा सिमित छ त? के एउटा दृष्टिबिहिन मान्छेको लागि कोहि सुन्दर ब्यक्ति बनेको छैन? ऊसकोलागि सौन्दर्य कस्तो होला यदी त्यसलाई आँखाले हेर्नुपर्ने हो भने? अवश्यपनि हामीसंग यसको उत्तर छैन। उसलाई कुनै न कुनै ब्यक्ति पक्कै पनि सुन्दर लाग्छ तर त्यो सुन्दरता उसले आखाँले हैन स्पर्श वा आवाजले अनुभव गर्छ अनि त्यो ब्यक्तिको सोचलाई अँगाल्छ । त्यसैले सौन्दर्य कसैको सुन्दर मुहार अनि हेर्ने मान्छेको आँखामा मात्र नभएर विभिन्न स्वरुप अनि मूल्यांकनमा निहित हुने कुरा हो । कोइलीको सुरिलो आवाज मन नपर्ने को नै होला र? तर त्यो आवाजलाई हाम्रो आँखाले हेर्न सक्दैन, यदी त्यो सौन्दर्य अनुभव गर्न आँखानै खोज्ने हो भने त्यो आवाजको मिठास कसैले भोग्न पाउँदैन। त्यो सौन्दर्य हामीले श्रवण गर्नुपर्ने हुन्छ। अव भन्नुस के सौन्दर्य आँखामा मात्र हुन्छ त? पक्कै पनि हुदैन, सौन्दर्य सर्बत्र छ र यसलाई सर्बाङ्गले स्पर्श गर्न सकिन्छ, झरनाको छंग-छंगमा, चराचुरुंगीको चिरबिरमा, धानको बालिमा, खेतको आलीमा, मुलको पानीमा, आँखाको नानीमा, बच्चाको हाँसोमा अनि संसारको हरेक कुनामा सौन्दर्य छ। केवल मनको नयनले देख्न सकिन्छ यो अपार सुन्दरता ।

मानव जातिमा नारीलाई सौन्दर्यको प्रतिमूर्ति मानिन्छ, हुन पनि हो, उसमा कोमलता छ, सालीनता छ अनि ममता छ । वास्तावमा नारी शक्तिसाली छन तसर्थ ऊनि सुन्दर छिन, नारि विनाको परिवार अनि समाज कल्पना पनि गर्न सकिंदैन। मानौं ऊ नै मानवताको परिचालक हो, यही कारणले होला परापुर्वकाल देखी नारीलाई ‘सुन्दर’ को उपमा दिंदै आएको छ हाम्रो समाजले । ‘सुन्दरता’ भनेको त्येस्तो चिज हो जसले अरुलाई आफ्नो बसमा राख्न सक्छ, नारी हावी भएका राष्ट्रहरु विकसित हुनुमा कतै यसको देन त छैन? किनभने उनीहरुको समाज नारिद्वारा संचालित अनि नियन्त्रित हुन्छन तर वर्तमान परिपेक्षमा नारी अनि सौन्दर्य दुवैको अस्तित्व परिबर्तित छ| आज नारी समाजद्वारा नियन्त्रित छ, कुनै तराजुमा जोख्न सकिने कुरा हैन सौन्दर्य तर आजको संसारले नारीको मात्र नभएर सौन्दर्यको पनि प्रतिस्पर्धा गराएको छ। विभिन्न सौन्दर्य प्रतियोगिताहरुले नारीको परिचयमा प्रश्नचिन्ह खडा गरेका छन्। मानिसहरु यसलाई अवसर भन्छन्, म बिकृति भन्छु । कतिलाई यो कुराले चित्त नबुझ्ला पनि, तर नकाप निकालेर र वास्तविकतालाई चिरेर हेर्ने हो भने सबै छर्लङ्ग हुन्छ।के एउटा प्रतिस्प्रधाले नारीको सुन्दरता वा क्षमताको मुल्यांकन गर्न सक्ला? नारीहरु सोच्दै नसोची येही प्रतिस्पर्धामा आफ्नो समय अनि आस्तित्व बेच्ने गल्ति गर्छन् । सौन्दर्य एउटा सौन्दर्य प्रतियोगिता भन्दा धेरै माथिको कुरा हो।

तसर्थ, सुन्दर हुनु भनेको कसैको आखाँमा केन्द्रित भएर मस्तिस्कमा बास बस्नु हैन । कुनै सौन्दर्य प्रतियोगिताको बिजेता हुनु पनि हैन सुन्दरता, सुन्दरता स्वयंमा हुने कुरा हो, हामीभित्र लुकेको हुन्छ सौन्दर्य; हाम्रो सोच, विचार अनि कर्ममा र क्षमतामा । अरुको मनगणन्ते सुन्दरताको पछाडी लाग्नु भनेको आफ्नो सुन्दरताको हत्या गर्नु हो जुन एउटा पाप हो । त्येसैले सुन्दर बन्न खोज्नुभन्दा आफूमा भएको सौन्दर्य नियाल्नु बुद्दिमानी हुन्छ । त्यसैले भन्छु म सुन्दरताको पारखी ।

Comments

comments