US Khabar

देउता अंकल…!

- Admin | २ वर्ष पहिले प्रकाशित

देउता अंकल…!

रविन्द्र श्रेष्ठ

 

 

शर्मिलासँग मेरो भेट ठ्याक्कै कहिले भयो, मलाई ज्ञात भएन; यद्यपि कथाको सिलसिला यसरी शुरु हुन्छः–

मित्र रोशनसँग किताबको डिजाइन तथा प्रुफ रिडिङको काममा म कोटेश्वर गएको थिएँ । उनको डेरामा पनि कम्प्युटर थियो । त्यसैले मलाई डिजाइन गर्न सजिलो भयो । पुस\माघको समय । त्यहाँ जाँदा रातको ८ बजिसकेको थियो । बाहिर पूरै अँध्यारो भईसकेको थियो ।

रोशनले कोठामा पस्नुअघि अन्दाजी ७ वर्षकी एक बालिकालाई एक बोतल पानी ल्याईदिन अह्राए । ठण्डी मौसम अनि जाडो रातले हामीलाई च्यालेञ्ज गरेकाले रोयल स्ट्याग र सितनसातन बोकेर कोठैमा जम्ने ‘महान्’ निर्णय गरेका थियौं हामीले । ‘महान्’ चाहीँ यसर्थ कि बाहिर खानुभन्दा त भित्रै खानु वेश हो नि ! हैन र ?

रोशनले सितन फिजाएर ग्लास भरिसक्दैमा ती फुच्ची पानी लिएर आईपुगिन् ।

‘के छ शर्मिला नानू ?’ मेरो पहिलो प्रश्न उनलाई यही थियो ।

‘आप्पै ! तपाइँलाई मेरो नाम कसरी थाहा भयो ?’ उनले आश्चर्यचकित भएर ठूल–ठूला विस्फारित आँखाले मतिर हेर्दै सोधिन् ।

‘मलाई तिम्रो सबै कुरा थाहा छ ।’ मैले जिस्कने मनसायले भनेँ । ‘तिमी क्लास वानमा पढ्छौ हगि ?’

‘अप्पै ! कसले भन्यो ?’ उनले रोशनतिर हेर्दै सोधिन् । मेरो अन्दाज ठ्याक्कै मिलेछ । अब ममा उनको इन्ट्रेष्ट बढेछ क्यारे कम्मरमा हात राखेर मतिर प्रश्नवाचक दृष्टिले हेर्दै थिइन् ।

‘बस, आऊ ।’ मैले उनलाई बस्न भनेँ । अनि हाम्रो सितन उनीतिर तेस्र्याइ दिएँ । ‘लौ खाऊ ! तिमीलाई मासु मन पर्छ हगि ?’

उनी झन् दंग परिन् । अनि मेरो अगाडि बसेर एक टुक्रा मुखमा हालेर चपाइन् । ‘तिम्रो बोर्डिङ्ग स्कूल कहाँ पर्छ नि ?’ मैले सोधेँ ।

‘ऊ त्यहीँ हो ।’ उनले ईशाराले झ्यालबाहिर देखाईन् ।

मलाई बालबालिका असाध्यै मन पर्छ । पहिला शिक्षक रहिसकेको हुनाले म उनीहरुको बालमनोविज्ञान बुझ्छु । उनीहरुको निर्दाेष अनुहार र जिज्ञासु आँखाले मलाई असाध्यै लोभ्याउँछ । उनीहरुको बालशुलभ चञ्चलताको म असाध्यै ठूलो फ्यान हुँ ।

‘तिमी फष्र्ट गर्ल हो ?’ मैले सोधेँ । उनले ओंठ लेब्र्याइन्– मिलेन । ‘सेकेण्ड’, फेरि उस्तै– मिलेन । ‘थर्ड’– मिलेन । अब त अति भयो । म लगातार ती फुच्चीसँग फेल हुँदै गएँ । ‘लौ भन तिम्रो क्लासमा कति जना स्टुडेन्ट छन् ?’ मेरो अन्तिम प्रश्न । ‘चौध जना ।’ उनले एकै सासमा भनिन् अनि एक चोक्टा मासु मुखमा हालिन् ।

‘तिम्रो -याकिङ फोर्टिन्थ (चौधौं) हो हगि ?’ उनी बोलिनन् । अघिसम्म मेरो आँखामा आँखा जुधाएकी शर्मिलाको नजर भूँईमा झ¥यो । याने कि मैले अँध्यारोमा हानेको तीर निशानामै लागेछ । अब त के थियो र शर्मिला क्लासकै सबैभन्दा लाष्ट गर्ल हो भन्नेमा कुनै शंका रहेन । त्यसपछि मैले सुरु गरेँ– ‘तिमीलाई नाच्न, गाउन मन लाग्छ हगि ?’ (त्यो त जो बालबालिकालाई पनि लाग्छ नि ! त्यसमा नौलो कुरा के भयो र ?) मैले सोधेँ ।

‘कसरी थाहा पाउनु भयो ?’ उनले खुशी हुँदै सोधिन् ।

‘मलाई सबै थाहा छ ।’ फेरि मेरो उत्तर उही थियो ।

‘तपाइँ देउता हो त ?’

‘हो नि ।’

‘अँ होला ? उसो भए भन्नुस् त मलाई अरु के–के मनपर्छ ?’

‘तिमीलाई गेम खेल्न मन लाग्छ, पढ्न अल्छी लाग्छ । म्याथ तिमीलाई झन् हेर्नै मन लाग्दैन । स्कूल सधैँ विदा भए नि हुन्थ्यो जस्तो लाग्छ । साथीहरुसँग खेलिरहुँ लाग्छ । कार्टुन हेर्न मन लाग्छ । अनि चाँडै निन्द्रा पनि लाग्छ । हो कि होइन लौ भन ?’ अब एउटा पढ्नमा कमजोर हुने स्टुण्डेन्टको बानी व्यहोराको फेहरिस्त योभन्दा पृथक के नै पो होला र भन्ने ठानेर मैले अन्दाजी पटापट भन्दिएँ ।

‘आम्मै ! तपाइँ साँच्चै देउतै हो कि क्या हो ?’ उनको बालशुलभ प्रश्नले मतिर हेरेको नजर, हेर्नलायकको थियो । मेरो कुरो शत्प्रतिशत मिलेछ ।

‘ल भन्नुस् त देउता अंकल, मलाई अरु के–के मनपर्छ ?’ त्यसपछि म उनको देउता अंकल भएँ ।

हाम्रो कुराकानी चल्दै गयो । रोशन पनि हाम्रो दोस्ती देखेर रमाईलो मान्दै थिए । १०० प्रतिशतमा ८० प्रतिशतभन्दा बढीजसो सितन त्यही भुण्टीले खाइदिएकीले हाम्रो भाग खाली रह्यो । रोशनले शर्मिलालाई नै लेज (आलुचिप्स) र चाउचाउ किन्न पठाए ।

त्यसपछि पनि उनीसँग मेरो लामै कुराकानी भयो । झण्डै साढे नौ बजेतिर उनी सुत्न गईन् । अलि अलि हामी ‘झ्याप्प’ भैसकेका थियौं । अब किताबको काम के गरिन्थ्यो र ? काम भोलि विहान सिध्याउने निर्णय गर्दै हामी पनि हाम्रो ‘महान’ कार्य सिध्याएर सुत्ने तरखरमा लाग्यौं ।
राति रोशनले भन्यो– ‘थाहा छ रविन सर, शर्मिला टुहुरी बच्ची हो नि !’

यति सुनिसकेपछि मलाई अघिको ‘झ्याप्प’ ले ठ्याक्कै छोड्यो । म छाँगाबाट खसेजस्तो भएँ । ‘कसरी ? अनि तिम्रो दिदीको छोरी (भाञ्जी) भनेको होइन ?’

‘मेरो पनि नातै पर्ने दिदी होइन । यिनीहरुसँग गाउँले नाता मात्र हो मेरो पनि । काठमाडौंमा कोठाको लागि गोरु बेचेको पनि साइनो लगाउनु पर्छ । नत्र कोठा पाइँदैन ।’

मेरो इन्ट्रेष्ट त्यस समस्यामा रहेन । मेरो भर्खर दोस्ती बढेको बालसाथी कसरी टुहुरी भइन्, त्यसमा मैले खोजी गरेँ । जुन यस प्रकार थियो; जिल्लाको कुनै विकट गाउँ (नाम उल्लेख नगरौं) मा एकचोटी ठूलो पहिरो जाँदा तीनजना बालबालिका अलपत्र परेछन् । त्यो पहिरोले शर्मिलाको बाबुलाई सधैँको लागि पुरिदियो । गाउँलेले पहिरोसमेत पन्छाउन सकेनन् । यो आजभन्दा साढे ५ वर्षजति अघिको कुरो थियो । अलपत्र परेका मध्ये त्यतिबेला ३ वर्षजति पुगेका शर्मिलाको दाजुलाई एउटा अमेरिकीले लगेछन् । उनको २ वर्षजतिको दिदीलाई त्यस्तै अर्काे दयालुले लगेछ्न्, जो अहिले भारतमा बसोबास गर्छन् अरे । त्यसबेला ५ महिनाजतिको शर्मिलालाई भने रोशनले दिदी भनेको घरबेटीले ‘म पाल्छु यसलाई’ भनेर ल्याएका रहेछन् । लोग्नेलाई पहिरोले लगेपछि कलिला बालबालिकालाई छोडेर आमा पनि अन्तै पोइल गएछन् । बडो दर्दनाक कहानी रहेछ शर्मिलाको । त्यसबेला मलाई भने डिप्लोमा पढेको ‘व्हाट मेन लिभ बाइ ?’ भन्ने अंग्रेजी कथाको याद आयो ।
मैले रोशनलाई सोधेँ– ‘यो कुरो थाहा छ त शर्मिलालाई ?’

‘अहँ थाहा छैन ।’ उनले जवाफ दिए । म रातभरि सुत्न सकिनँ । घरिघरि शर्मिला मेरो आँखा वरिपरी नाच्न थालिन् । यो दुनियाँमा जसको कोही हुँदैनन्, उसको भगवान हुन्छ भन्थे, साँच्चै हो रहेछ । आमाबाबु गुमाएकी शर्मिलाले नयाँ आमाबाबु पाइन् । उनको भविष्य सुरक्षित भए भईहाल्यो नि ! यस्तै–यस्तै सोचेर रात कट्यो । भोलि विहान ५ बजेदेखि म कम्प्युटरमा काम गर्न थालेँ । एकछिनपछि शर्मिला आईपुगिन् ।

‘देउता अंकल, उठ्नु भयो ? राति सुत्न कहाँ जानु भा’थ्यो ? उनले सोधिन् ।

‘राति स्वर्गमा गएर, अहिले विहानै आएको नि !’ बहुत बकुम्फुसे उत्तर दिएँ । एकछिन पछि उनी तम्तयार भएर स्कूल जान तयार भईन् । जाने बेलामा एक पोका चाउचाउ दिएर पठाएँ ।

त्यसपछि पनि एक÷दुई चोटी रोशनकहाँ जानुपर्ने काम भयो । त्यही फुच्चीलाई भेट्ने रहरले पनि म उनका गएँ ।

करिब २ वर्ष जति बित्यो । बिचमा आपूm पनि निकै व्यस्त भइयो । रोशन पनि बाहिर (कतार) गयो । मेरो मानसपटलबाट शर्मिलाको आकृति पनि धुमिल–धुमिल हुँदै गयो । उसो त पहिले स्कूलमै पढाउँदा ताकाका विद्यार्थीहरु अहिले पनि यदाकदा भेटिँदा म चिन्दिनँ । उनीहरुले ‘नमस्कार सर’ भन्दा कहाँ भेटेजस्तो, कहाँ चिने जस्तो हुन्छ ।

एकदिन काठमाडौंबाट चौतारा फर्कने क्रममा कोटेश्वरमा गाडी रोकिराखेको थियो । म अर्धनिन्द्रामा थिएँ । चाडबाड परेकाले होला गाडी खचाखच भरिएको थियो । कसैले मलाई सानो स्वरमा बोलाएजस्तो लाग्यो– ‘देउता अंकल…!’

मेरा आँखा उघ्रिए । तर जुन दृष्य मैले देखेँ, त्यो यति मर्माहत थियो कि त्यसको वर्णन म गर्न सक्दिनँ । त्यो दृष्य मैले देख्नु नपरेको भए हुन्थ्यो । मलाई बोलाउने शर्मिला नै थिइन् । दुई वर्षको दौरानमा उनी अलि अग्ली त भएकी रहिछन् । तर उनको लवाई भने टीठलाग्दो थियो । मैलो फ्रक, घाँटीभरि मयल, आँखाभरि चिप्रा, फाटेको चप्पल, उदास निराश र जिन्दगीबाट हारेको दर्दनाक अनुहार लिएर शर्मिला मेरो नजिक आइन् ।

‘देउता अंकल… !’ केही खुशी मिश्रित स्वरले उनले मलाई सम्बोधन गरिन् । म अवाक रहेँ ।

‘तिमी..?! तिमी कसरी यहाँ ? यस्तो हालतमा…?’ मेरो प्रश्नको जवाफ उनले दिन नपाउँदै ड्राइभरलाई गाडी हुइँक्याउन हतार भयो । मैले हतार–हतार सयको नोट निकालेर उनलाई दिएँ । शर्मिला गाडीबाट ओर्लिन् । अचानक आईपरेको त्यसबेला त्योभन्दा बेसी म के नै गर्न सक्थेँ र ? उनी बाहिरबाट मलाई हेर्न थालिन् । गाडी अगाडि बढ्यो । आँखाले भ्याउञ्जेल हामीले एकअर्कालाई हेर्दै रह्यौ । त्यसपछि भीडमा शर्मिला हराइन् । म टाढिएँ ।

मलाई चैन भएन । शर्मिला पुनः टुहुरी भईन् । तर यो कसरी भयो ? मलाई असह्य वेदना भयो । चौतारा आईपुगेपछि रोशनलाई फोन गरेँ । ऊ पनि दुई महिनाअघि नै फर्किसकेको रहेछ । कोठा पनि चेञ्ज भईसकेछ । ऊ अहिले सुन व्यापार गर्दाे रहेछ । त्यसपछि उसले बताएको कथा यसप्रकार छ; शर्मिलालाई जिम्मा लिने रोशनकी दिदीको आफ्नै सन्तान भएपछि शर्मिला परित्यक्त पविारबाट हुँदै गइन् । उनको बाबु (धर्मपिता) विदेशको विदेशमै । एक दिन यस्तो भएछ कि सामान हराएको निहँुमा धर्मआमाबाट शर्मिलाले निर्घात कुटाई भेटिन् र त्यसै दिन उनी घरबाट बाहिर निकालिइन् ।

यति दर्दनाक कहानी सुनेपछि ममा बालबालिका देखाएर मोटाउने एनजीओका ठूलाबडा, नयाँ नेपाल बनाउँछु भनेर राजनीति गर्ने नेताहरुदेखि घिन लागेर आयो । नजाने सडकमा कति टुहुरी शर्मिलाहरु होलिन् ? उनीहरुको दिन कहिले आउने हो ? महंगी, असुरक्षा, भ्रष्टाचार, ढिलासुस्तीले आक्रान्त जनताको वास्ता छैन नेताहरुलाई । लाजै पचाएर पटक–पटक प्रधानमन्त्रीको चुनाव हुने देशमा शर्मिलाहरुको भविष्य के होला त ? कुनै दिन अमेरिका र भारतमा लगिएका उनका दिदी तथा दाजु उनलाई खोज्दै आए हो । नत्र ……?

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!