धनकुटामा ७७ बर्षका बुद्ध दम्पतीले सम्बन्ध विच्छेद गरेका छन् । जिल्ला अदालत धनकुटामा श्रीमतीले सम्बन्धविच्छेदको निवेदन आइतबार दिएपछि शहीदभूमि गाउँपालिका–३ का ७७ वर्षीय बर्मध्वज राई र उनकी श्रीमती ६० वर्षीया बर्मेश्वरी राईको सोमबार सम्बन्धविच्छेद भएको हो । उनीहरूको विहे २०३४ सालमा भएको थियो । विवाह भएको ४२ वर्षपछि राई दम्पतीले सम्बन्धविच्छेद गरेका हुन् ।

बर्मेश्वरीले दुई छोरीको लालन–पालनमा श्रीमान् बर्मध्वोजले सहयोग नगरेकोले विगत ३० वर्षदेखि आफू छुट्टै बस्दै आएको अदालतमा बयान दिएकी थिइन् । राई दम्पतीका विवाह भएर ज्वाइँको घर गई सकेका ४२ र ३८ वर्षीया दुई छोरी पनि सोमबार अदालतमा उपस्थित थिए । जिल्ला अदालत धनकुटाले श्रीमती बर्मेश्वरीको निवेदनको आधारमा राई दम्पतीलाई सम्बन्धविच्छेदको फैसला सुनाएको थियो ।

राई दम्पती मात्र होइन, एक महिनाअघि मात्र ५९ वर्षीय पुरुष र ४९ वर्षीया महिलाको पनि सम्बन्धविच्छेद भएको जिल्ला अदालत धनकुटाले जनाएको छ । दुई वर्षअघि ५ थान सम्बन्धविच्छेदका मुद्दामात्र दर्ता भएको जिल्ला अदालत धनकुटामा अहिले सम्बन्धविच्छेदको मुद्दा नै बढी हुने गरेको छ । अघिल्लो वर्ष ३४ थान मुद्दा दर्ता भएको जिल्ला अदालत धनकुटामा आ.व.०७५/०७६ मा २ सय ६५ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको न्यायाधीश विनोदकुमार पोख्रेलले बताए ।

विगत वर्षहरूको तुलनामा आ.व.०७५/०७६ मा आठ गुणाले सम्बन्धविच्छेदका मुद्दा बढ्नुले समाज कता जाँदैछ भन्ने चिन्ता बढेको न्यायाधीश पोख्रेलले बताए । गत भदौ महिनादेखि नयाँ मुलुकी ऐन आएसँगै जिल्ला अदालत धनकुटामा पुरुषवादी भएका सम्बन्धविच्छेदका ११ मुद्दा दर्ता भएको न्यायाधीश विनोद पोख्रेलले बताए । सम्बन्धविच्छेद गर्नेहरू सामान्यतया २० वर्षदेखि ४४ वर्षका आउने भए पनि यो वर्ष भने पहिलो पटक ७७ वर्ष उमेरसम्मको देखिएको हो ।

समाचार स्रोतका अनुसार ७७ वर्षीय श्रीमान बर्मध्वोजले आफ्नी जेठी श्रीमती बर्मेश्वरीलाई थाहा नै नदिई कान्छी श्रीमती ल्याएपछि उमेरले ६० पुगेकी राईले पनि भित्री रूपमै कान्छो श्रीमान व्यवस्था गरेर सम्बन्ध विच्छेद गरेको खुलेको छ । अब दुवैको लागि विहे गर्ने बाटो खुलेको छ ।

 

Comments

comments