बिष्णु पादुका

केही कुरा त सबैका मनमा गुम्सँदा हुन् । एउटा लेखकले केही दिन अघि अन्लाईन पत्रीकामा यौन र नेपाली समाज विषयमा क्रमश दुइटा लेख लेख्नु भएछ । लेखमा उल्लेखित अधिकांश विषय भन्दा पनि यौनका बारेमा खुल्ला बहस होस् भन्ने कुराले मलाई पनि छोयो । लेखकसँग सम्पर्क गरि आफ्ना कुरा राख्न मन लाग्यो । गहन विषयमा लेख्दा एउटा लेखकको धारणा मात्रै उपयोगी सावित हुँदैन ।सम्पूर्ण नेपाली समाजको लुकेको र अझै लुकाएर राख्ने चेस्टा गरिएको विषयमा मलाई पनि धारणा राख्न मन लाग्यो । उसो त म आफैँ पनि लेख्न नसक्ने होइन ।

शिर्षकको उठान गर्ने लेखकले पनि भन्नू भयो कि तपाईं आफैँ लेख्नु । यसले विषयको गम्भिरता अनि नारीहरुको प्रतिनिधित्व पनि हुन्छ । तपाईले चाहे जुन सुकै शिर्षक पनि चयन गर्न सक्नु हुन्छ उहाँले लेखकिय धर्म निभाउनु भयो । तर मलाई कुनै लेखक बन्नु थिएन । मैले आफ्ना अनुभवका कुरा सकेर मेरै भाषामा तपाईंको कलमबाट यी कुरा आउने अपेक्षा राख्छु । “यौन र नेपाली समाज ” विषयमा महिलाको भावनाको प्रतिनिधित्व हुने गरि आफ्नो जीवनको भोगाइ मेरो भावनालाई उजागर गर्ने अनुमती दिएँ ।

हुन त सन्जयले देखेको साँचो कुरा हेर्न धृतराष्ट्रको चेतना अझै चेतनशील हुँदो हो त द्रौपदीले बदला र माफी लिन र दिन पाण्डबहरुलाई बारम्बार निर्देशन गर्नु नपर्दो हो । तर यो युग काल्पनिक र कोरा कृष्णको हुनाले कालो चस्मा उतार्न अलिकति कोशिश गर्छु ।

म सुरु बाट नै शुरूवात गर्न चाहन्छु । कुरा चालिसको दशकको अन्त्यतिरको हो । मुलुकमा शिशु प्रजातन्त्र वयस्क हुँदै थियो । बहुदलीय राजनीतिक स्वतन्त्रताको आँधीबेहरी सुस्त सुस्त ब्यक्तिगत स्वतन्त्रताको रूपमा घर घरमा पस्दै थियो । मलाई आज यस्तो लाग्छ , बाटोमा उडेको धुलो पनि घरको कोठा र चोटामा हतपती नपसोस् भनेर झ्याल ढोका र पर्दा लगाए जस्तै कानुनी रूपमा ल्याइएका ब्यक्तिगत स्वतन्त्रताका कुरा ब्यक्तिसम्म यथार्थमा पुग्न नदिन धर्म संस्कार र समाजलाई झ्याल ढोकाका रुपमा खडा गरिएको हुने रहेछ । अझ लैङ्गिक प्रधानता त पुरै एउटा दिवाल नै बनाइएको रहेछ । कानुन र नियममा जे सुकै भए पनि । संघर्षको एउटा कथा सायद यस्तै बन्दिगृहबाट शुरुवात हुँदो हो ।

हामी पाँच दिदिबहिनीको बिचमा एउटा भाई थियो । छ भनुँ । म गहिरिएर सोच्दिनथेँ घरपरिवार ठूलो हो या सानो । प्राय: गाउँघरमा छोरिमात्र बढी भएका घरहरु धेरै थिए । तीन चार पाँच अझ कसैको त छ सात ओटा सम्म छोरी भएका घरपनी पत्ता लाउँथेँ म । सबैको घरमा छोराको प्रतीक्षा हुन्थ्यो । आर्थिक हैसियत उकासिएको भनिएका र सक्षम देखिने घरमुलीहरुले दोस्रो या तेस्रो सन्तान पनि छोरी भए पछि दोश्रो बिवाह गरेको समेत देख्दथेँ । दोस्री पत्नी बाट पनि छोराको उपलब्धता नभएको निहुँमा तेस्रो या चौँथो सम्म बिहे गरेका पुरुषार्थी पुरुषहरु भेट्थेँ । कामधन्दा सबै महिलाको काँधमा भए पनि छोरी जन्माएकोमा नारिहरु असाध्य पिडामा थिए । पटकपटक बोक्नु र ब्याउनु पर्ने गोठको गाई लाग्थ्यो आफ्नी आमाको अवस्था पनि । समाचार अघि आउने …..पसल पसलमा पाइन्छ , भन्ने बिज्ञापन आउँदा बुवाले रेडियोको भोलुम सानो या अफ नै गर्नु हुन्थ्यो ।

म भर्खरै एसएलसी पास भएर बसेकी थिएँ । नजिकै कलेज नहुनु र छोरीलाई डेरामा राखेर पढाउँदा बिग्रन्छे भन्ने धारणाले म कलेज पढ्न नसकिरहेको पिडित अवस्था भोग्दै थिएँ । त्यो पीडा नै थियो भन्ने अनुभुती पनि अहिले हुँदैछ । एकवर्षको महत्व अहिले बुझ्दै छु । छोरिहरु डेरा लिएर बस्दा पनि बिग्रँदैनन् भन्ने मान्यता स्थापित गर्न सम्म पनि मैले मेरो जीवनको उर्वर ताजा मानसिकता एकबर्ष खाली र बाँझो राख्नु पर्‍यो । आज सोच्छु त्यहाँ सबै भन्दा बढी यौनको कारण थियो । छोरीलाई घरबाट बाहिर नपठाउन प्रमुख कारणनै यौनप्रतिको कथित चेतना जोडिएको बन्देज नै थियो आजभोली अलिकति बुझ्दा । यौनको आरक्षण थियो बा आमा र समाजको हातमा । त्यो सुनौलो एकबर्ष सदुपयोग भएको भए मेरो जीवनको बाटो र गति फरक हुन सक्थ्यो । एकपलको अन्तरालले पनि मानिसको जीवनमा भयावह उतारचढाव ल्याउछ भन्ने समयको तथ्यांक यो उमेरमा आएर बुझ्दैछु ।

दिनानुदिनको घरायसी कचकच र कामबाट उन्मुक्त भएर एकबर्ष पछि म सरकारी कलेज भर्ना भएँ एउटा साथिसँग नजिकैको शहरमा । कलेजमा पढाइ कम राजनीति ज्यादा हुन्थ्यो । हप्तामा एकदुई दिन मुस्किलले पढाइ हुन्थ्यो । मेरो एसएलसी सम्मको अब्बल पढाइको लय टुटेको थियो । उमेर थपिदो थियो । मानसिकताले खुलापन पाएको थियो । घरबाट बाहिर निस्कँदा नै आफुलाई स्वतन्त्र पंक्षी जस्तो लागेको थियो । उसै पनि गाउँभन्दा शहर खुल्ला थियो । सिनेमा हेर्नू ,भ्रमणमा जानू र पिकनिक खानु त्यसबेला अत्यधिक मनोरञ्जन मानिन्थ्यो । घरायसी आर्थिक धरातल बलियो हुनेहरु टाढाको यात्रा तय गर्थे । हामी बिहान गएर बेलुकी डेरामा फर्कन सक्ने स्थानहरु चयन गर्थ्यौ ।

हरेक दिन नयाँ नयाँ साथीहरू बन्दै गएका थिए । केटिसाथी सँगै केटा साथिहरु पनि थपिदै थिए । पिकनिक र भ्रमणमा बराबरिको संख्यामा केटाकेटी हुनु रमाइलो लाग्थ्यो ।मन मिल्ने जोडि समेत बन्दथे । त्यतिबेला अहिले जस्तो हात हातमा मोबाइल थिएन । डायरीमा फोटो सहित अटो ग्राफ भर्ने चलन थियो ।एक बर्षमा लगभग एउटा डायरी नपुग हुन्थ्यो ।
आर्थिक रूपमा बाँधिनु परे पनि बोल्न र घुम्नलाई पाएको स्वतन्त्रताले जिन्दगी प्यारो लाग्थ्यो । नयाँ लुगामा ठाँटिनु राम्रीहुनु राम्री देखिनु रहर लाग्थ्यो ।आजभोलि लाग्छ त्यो एउटा बेला हुने रहेछ । उमेरमा आउने बहार रहेछ ।तर त्यो रमाइलो त्यो बहार धेरै दिन टिक्न सकेन । उन्नाइस बर्ष पुग्दा नागरिकता बनाउन सदरमुकाम जानको लागि मलाई घरमा बोलाइयो । त्यस बेलुका म भान्से भएँ ।घरमा दुई जना पाहुना आएका थिए बाबू छोरा । बेलुकिको खाना खाएर उनिहरु हाम्रै घरमा बाँस बसेर बिहान निस्के । करिब एक किलोमीटरको दुरिमा आफन्तकोमा रुद्रीको पुजा रहेछ निम्तो मान्न म पनि त्यहाँ पुगेँ ।पुजामा हिजो बेलुकी हाम्रो घरमा आएका पाहुना पनि थिए बाबू छोरा ।

आजभोलि जस्तो पलपल बिचार प्रवाह गर्न मिल्ने सामाजिक सन्जाल हुँदा हुन् त मेरा त्यसबेला मानसिकतामा आएका बिचारहरु चरणबद्द हुँदा हुन् । घटना भोगाई विवरण र बिचार तल माथी परे पनि त्यसबेला मैले भोगेका भोगाई मेरा मात्रै थिएनन् । मेरो याम बाँचेका अधिकांश नेपाली नारीका थिए ।त्यसैले पनि एउटा पुरुषको कलम मार्फत भएपनि सार्वजनिक गर्ने धृष्टता गरेकी हुँ ।

नागरिकता बनाउन आएको तेस्रो दिन पनि बुबाको सदरमुकाम जाने संकेत देखिएन । चिया पकाउन दुध लिन छिमेकि ठुली आमाको घरमा गएकी थिएँ बिहान ।”अस्ति बेल्की तिम्रो घरमा आएका पाहुना त तिम्लाई बिहे गर्न भनी हेर्न आएका रहेछन् । कस्तो लाग्यो त केटा र केटाका बाउ ?” ठुली आमाको प्रश्न मिसिएको भनाइले म एक्कासि बिचलित भएँ । दूध लिएर घरमा आउँदा तिनै पाहुना र रुद्री लागेको घरका आफन्त दाजु अनि छिमेकी भान्दाई सहित पाँच सात जना मान्छेको जमघट भएको रहेछ । मेरो पढाई शिलस्वभाव आनिबानी र केटाको पढाई सम्पति आदि बारेमा छलफल हुँदै रहेछ । म कसैलाई नहेरी भान्सामा गएँ । दूध राखेर कुरा सुनेँ । तीन बर्ष अघि दिदिको बिहे हुँदा यसैगरी मान्छे भेला भएका थिए । दिदिलाई उसको बिहेको बारेमा केही सोधिएको थिएन । दिदिले पाँच कक्षा पढेर छोडेकि थिइ । म कलेज पढ्दै छु । दिदी र म मा अलिकति फरक त छ नि ,,कम्तिमा मेरो बिहेका बारेमा मलाई केही कुरा त सोधिनै पर्छ । यो मेरो मनको माग थियो । तर बाहिर निस्केर बोल्ने मेरो आँट थिएन र अनुमती पनि थिएन । मान्छेहरु पिँढिमा थिए । आमा भान्सामा छिर्नु भयो । “सुनिस् के रे , क्यार्चेस त , केटो राम्रो छ सोझो छ रे ,खान लाउन पुग्ने सम्पति नि छ रे ,अब तैँ भन् बा र दाइहरुले त दिने भन्चन् ।” म सँग उत्तर र प्रश्नका बिटा थिए । तर कुन प्रश्न या उत्तरको त्यान्द्रो तान्ने छुट्याउन सम्म समय थिएन ।

पानी उम्लिसकेको थियो । खुकुरीमा धार लाइसकिएको थियो । घाँटीमा बलियो डोरि समातेर अचानो माथी चारखुट्टा टेकाएर पछाडिको दुई खुट्टा कसैले समातेर हलचल हुन दिएको थिएन । चिच्याएर कराए पनि यो दशै सर्ने वाला थिएन । म रेटिनु सेरिनु या एकै झट्कामा शिर र धड छुट्टिनु त थियो नै । बुबाको वचनको धार खुकुरीको धार भन्दा चारगुना पातलो थियो ।

” भर्खरै त भर्ना भएकी छु क्याम्पस ,कम्तिमा आइ ए पास गर्न दिनु ।” निरीह पशुको अन्तिम चर्को “क्या,,,प्या ” गरे झैँ मेरो कुरा राखेँ ।

” पढ्न मन भए हामी पढाउछौँ , घरबाट खर्च भर्न हामी तयार छौँ नानी ।” पानी छम्केर देवी मनाझैँ गरे केटाका बाबुले । टाउकोमा पानी परे पछि मानेर टाउको फड्कार्ने र हुन्छमा टाउको हल्लाउने पालो सँगै म रेटिनु परेकामा भान्सामा थचक्क बसेर जोडले रोएँ आवाज सहित ।

मान्नुस् तपाईं एउटा चलचित्र हेर्दै हुनुहुन्छ कास्टिङ्ग सकियो । उत्तरार्ध सहितको पुर्वार्ध शुरु हुन बाँकी छ । जीवन रथको सारथि यौन मार्ग निर्देशन गर्न भर्खरै नामावली भराउँदै छ । मेरो यौन जीवनमा जोडिएको प्रेम माया र मेरो मायाले म मा पारेका प्रभावको भुमिका म बिस्तारमा बताउँछु । हतारमा स्खलित हुने बिस्वास बिरासत र बिर्य हुँदै होइन यो यौन ।
क्रमशः

Comments

comments