कांग्रेसले मंसिर भित्र क्रियाशील सदस्यता बाँड्ने, त्यसपछि महाधिवेशन घोषणा गर्ने

7

काठमाडौँ : नेपाली कांग्रेसले मंसिरभित्र क्रियाशील सदस्यता अद्यावधिक गर्ने भएको छ। नयाँ सदस्यता बाँड्ने र पुराना सदस्यता नवीकरण गर्ने काम सकेपछि केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिवेशनको मिति घोषणा गर्ने सहमति भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन सात महिना बाँकी हुँदा नै महाधिवेशनको मिति तय गर्न नसकिने बताएका थिए।

सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच विधान अनुसार देशैभर अन्तरिम संरचना बनाउने, मंसिरभित्र क्रियाशील सदस्यता नवीकरण गर्ने र त्यसपछि बस्ने केन्द्रीय समितिले महाधिवेशनको मिति तय गर्ने सहमति भएपछि कांग्रेसमा देखिएको विवाद तत्कालका लागि मत्थर भएको छ।

सभापति देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिँदैछ। सभापति देउवाले विधानमा भएको व्यवस्थाअनुसार नै एक वर्ष कार्यकाल थप गर्ने बताइसकेका छन्। कांग्रेसले १३ औं महाधिवेशनका बेला बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रूपान्तरण गर्दै संघीय संरचनाअनुसार अन्तरिम संरचनाको कार्यलाई छिट्टै अघि बढाउनेसमेत निर्णय गरेको हो।

‘विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गर्ने र आवश्यक पर्ने निर्देशिका केन्द्रीय कार्यसमिति बैठकमा पेश गरि पारित गर्ने निर्णय भएको छ,’ पौडेलले भने।

१३ औं महाधिवेशनभन्दा अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेअनुसारकै क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने काम मंसिर मसान्तभित्र सक्ने कांग्रेसको तयारी छ। कांग्रेसमा अहिले चार लाख ७० हजार क्रियाशील सदस्य छन्।

क्रियाशील सदस्यता अद्यावधिकपछि बस्ने बैठकले महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सहमति नेताहरूबीचमा भएको हो। कांग्रेसमा मिलेको नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचना पनि छिट्टै समाधान गर्ने उपसभापति विमलेन्द्र निधि संयोजकत्वको सांगठनिक संरचना समायोजन समितिको तयारी छ।

उपसभापति विजयकुमार गच्छदारले दुई सय महासमिति सदस्य लिएका थिए। उनले २५ हजारभन्दा बढी पार्टी कार्यकर्ताको नाम दिएका छन्। त्यसबारे कांग्रेसले छानबिन गरिराखेको छ।

असार २२ गते महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको १४ बुँदामध्ये बाँकी रहेका एजेन्डामा छलफल गर्न कांग्रेसले बुधबार पनि केन्द्रीय समिति बैठक डाकेको छ।

Comments

comments