आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व देशभर मनाइदै

60

काठमाडौँ : हिन्दु धार्मिक शास्त्र अनुसार हरेक वर्षको श्रावण महिनाको शुक्लपूर्णिमा-तिथिको दिनलाई जनैपूर्णिमा मनाइने चलन छ । हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दु समाजमा चलन छ ।

यसै दिन दाइभाई, दिदीबहिनीराखी तथा मन्त्र जपिएको रक्षाशुत्र बाँडी रक्षाको शुभकामना साट्ने पनि गरिन्छ । यसैले यस दिनलाई रक्षा बन्धन भनेर पनि चिनेने गरेको छ । नेपालकै नेवार समुदायमा यसलाई “गुनुपुन्ही” भनेर मनाइन्छ । यसवाहेक कजरी पूर्णिमा, नरियलपूर्णिमा, अवनि अवित्तम तथा जे सुकै नामले समेत यस दिनलाई चिनिन्छ।

विभिन्न ठाउँ, चलन तथा धार्मिक परम्पराअनुसार यस पर्वलाई फरकफरक ढंगले मनाए पनि ब्राह्मण तथा क्षत्रीयहरुका लागि यो पर्वविशेष महत्वपूर्ण मानिन्छ । यस दिन विहान सबेरै उठेर नदी तथा जलाशयमा गई स्नान गरेर शुद्ध भएपछि जप, ध्यान गरी वैदिक विधिअनुसार भगवान शिवजीको पूजा गरी वैदिक मन्त्रहरुले नयाँ जनै(५४ सरा धागोले ब्रह्म गाँठो पारी बनाइएको यज्ञ सुत्र) मन्त्रेर पुरानो जनै निकाली फेरिन्छ । जनै फेर्दा ” यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहज पुरस्तात्। आयुष्यमग्रम् प्रतिमुंच शुभ्रम् यज्ञोपवीतं बलमस्तु तेज:। ” मन्त्र उच्चारण गरी लगाउनु पर्दछ । जनैमा प्रयोग हुने डोरा, ग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन। यी कर्महरू गर्दा व्यक्ति, देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। जसको वैदिक विधिअनुसार चूडोपनयन(ब्रतबन्ध) कर्म भैसकेको छ, ऊ व्यक्ति मात्र जनै लगाउन योग्य हुन्छ । जनै लगाउनाले आयु तथा बल वृद्धि हुने तथा पापनाशक हुने कुराको विश्वास गरिन्छ ।

त्यस्तै रक्षाबन्धन(तीन सराभन्दा बढी भएको धागोलाई विभिन्न रंगले रंग्याइएको डोरा) लाई वैदिक मन्त्रहरुले मन्त्रेर …”येनबद्धो बलीराजा दानबेन्द्रो महाबलः तेन त्वां प्रतिबध्नामि रक्षे माचल मा चल “।। भन्ने मन्त्र उच्चारण गरी दाहिने हातको नाडीमा बाँधिन्छ । यसो गर्नाले आफ्नो रक्षा हुने, बल वृद्धि हुने र पुण्यप्रदायक मानिने जनविश्वास छ । अर्थात् सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जस्ले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैगरी म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ- भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ। यसका साथै यो दिन विभिन्न मिष्ठान्न परिकारहरु बनाई खाने गरिन्छ । विशेष गरी नेवार समुदायबाट सुरु गरिएको क्वाँटी(नौ प्रकारको गेडागुडी) खाने चलन अरु समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । परम्परानुसार यस दिन नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ। यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने विश्वास गरिन्छ। नेवार समुदायमा आजको दिनलाई गुन्हु-पुन्ही भनी मनाइने परम्परा छ । यस दिन बाँधिएको डोरालाई ३ महिनापछि लक्ष्मीपूजाको दिन फुकाई गाईको पुच्छरमा बाँध्ने गरिन्छ, यसो गर्नाले मरेपछि वैतरणी नाम गरेको नदी पार गर्न तिनै गाईले सहयोग गर्नेछिन् भन्ने कुराको विश्वास गरिन्छ ।

बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतमबुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललितविस्तरमा यससम्बन्धी विस्तृत रुपमा व्याख्या गरिएको छ । यसैका कारण आज स्वयम्भूमा पनि विशेष मेला लाग्ने गर्दछ ।

आज काठमाडौँको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्छ ।

यस पर्वको पछाडि पौराणिक कथा

पौराणिक कथाको अनुसार देवराज इन्द्र र दैत्यराज वृत मध्य १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूणिमाको शुभ मूहूर्तमा इन्द्रलाई रक्षाको

बन्धन बांध्दै निम्न मन्त्र जप्नुहुन्छ ।
येन बद्धो बली राजा दानवेन्द्रो महाबलः,
तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।

तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षासूत्र बांध्नुहुन्छ । त्यो कुन रक्षासूत्र थियो त ? जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । जसको भावार्थ यही हो कि यदि मानिसले आफ्नो आसुरी वृतिहरुमाथि विजय प्राप्त गर्न चाहन्छ भने आफ्ना धर्मपत्नीसंग पनि रक्षासूत्र अवश्य बांध्नु पर्दछ । मन, वचन र कर्मलाई पवित्र बनाउनु पर्दछ । एक अन्य शास्त्र कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बांध्दछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनमा श्रेष्ठता एवं निर्विकारितासंग छ । यसकारण यस पर्वलाई विषतोडक पर्व पनि भनिन्छ ।

रक्षाबन्धन शब्दमा दुई शब्द जोडिएको छ । रक्षा+बन्धन रक्षाबन्धन । दुनियांमा दुई प्रकारका बन्धनहरु छन् ।
१. सांसारिक बन्धन

२. ईश्वरीय बन्धन

आज हरेक व्यक्ति सांसारिक बन्धनदेखि छुट्न चाहन्छन् र ईश्वरीय बन्धनमा बांधिन चाहन्छन् किनकि ईश्वरीय बन्धन काल्पनिक र सुखदायी बन्धन हो । रक्षाबन्धन यसै कुराको प्रतीक हो कि हामीले आफ्नो स्वयंको रक्षा गर्नको लागि पवित्रताको बन्धनमा बांधिनुपर्छ । भनिन्छ कि यो बन्धन दशैंसम्म बांध्ने जबसम्म दश विकार माथि विजय प्राप्त गरेर दशमी मनाईंदैन तबसम्म यो पवित्रताको बन्धनमा बांधिनु पर्ने आवश्यकता छ किनकि पवित्रताको धारणा आत्मिक स्थितिमा स्थित भएमा मात्र गर्न सकिन्छ । यसकारण यसदिन पहिला बहिनीले भाइलाई टीका लगाइदिन्छन् र स्थूल सामाग्री दिनुको वास्तविक अर्थ खराब चिजको दान गर्ने प्रतीक हो ।

विजयको प्रतीक
रक्षाबन्धन मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्व हो । रक्षासूत्रको बन्धन र टिका यस उत्सवको प्रमुख विधान हो । सूत्र आत्माको मयादा र संयमको प्रतीक हो र टिका आत्म स्वरुप स्थितिमा स्थित हुने प्रतीक हो । सूत्र कुनैपनि वस्तुलाई अविच्छिन गर्ने वस्तु हो । सुनियोजित एवं सुव्यवस्थित वस्तु एक सूत्रमा ग्रथित मानिन्छ । रक्षाबन्धनको सही अर्थ आफू आत्म स्थितिमा अचल, अडोल भएर पवित्रताको पालन गर्नु हो किनकि पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।

Comments

comments