कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लाई लक्षित गरि कालिकोटका दुई स्थानमा बम बिस्फोट गराईएको छ । गृह जिल्ला कालिकोटको निर्वाचन क्षेत्रको भ्रमणमा रहेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बुधबार पचाल झरनाको फेदमा र बिहिबार रास्कोटमा विप्लव नेतृत्वको नेकपाका कार्यकताले बम बिस्फोट गराएका हुन्।

निर्वाचित क्षेत्रको भ्रमणमा रहेका मुख्यमन्त्री शाहीले बुधबार बेलुका पचालझरना गाँउपालिकाले आयोजना गरेको सभामा सम्बोधन गरिरहेका बेला कार्यक्रम स्थलबाट ५ किलोमिटर टाढा दुईवटा बम विस्फोट भएको थियो भने बिहीबार बिहान रास्कोट नगरपालिका अन्तरगतको मौलाकोटमा पनि दुई बटा बम विस्फोट गराईएको थियो ।

बम बिस्फाट गराएको बिप्लव समुहका जिल्ला सेक्रेटरी मनीलाल ऐडीले मुख्यमन्त्री शाही सहित ठूलो सुरक्षा फौज आफ्नो अनुमति बिना आधार इलाका प्रबेश गरेकाले सांकेतिक रुपमा विरोध जनाएको बताउँदै ’ अझै अटेर गरी आफ्नो आधार इलाकामा गतिबिधि बढाए शशक्त प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् ।

कर्णाली अञ्चलमा पहिलो पटक छापामारको स्थापना भएदेखिनै पार्टी र सेनामा समानान्तर भूमिका निभाउँदै आएका शाहीले कालिकोट जिल्लाको सैन्य इन्चार्ज भएर जिल्लामा जनमुक्ति सेनाको नेतृत्व सम्हालेका थिए ।  सुरुमा वार्ड कमाण्डर, स्क्वाइड कमाण्डर, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर, बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व सम्हालेका शाहीले सेना समायोजनको बेलामा राजनीतिक मोर्चालाई रोजर सेना समायोजन पछि मूलधारको राजनीतिमा आएका हुन् ।

Comments

comments