बिहिबार बिहान निधन भएका वरिष्ठ पत्रकार तथा साहित्यकार मदनमणि दीक्षितको निधन प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुख ब्यक्त गरेका छन् । निमोनिया पछि मृगौलामा देखिएको समस्याका कारण ९८ वर्षको उमेरमा निधन भएका दिक्षितको निधनले आफुलाई मर्माहत बनाएको बताउँदै प्रधानमन्त्री ओलीले परिवारजनमा गहिरो समवेशना प्रकट गरेका हुन् ।

उनले विहीबार बिहान ट्विट गर्दै भनेका छन् ,“वरिष्ठ साहित्य साधक, प्राच्य साहित्य दर्शनका ज्ञाता मदनमणि दीक्षितको  निधनको खबरले मर्माहत भएको छु । नेपाली वाङ्मय क्षेत्रले उहाँको योगदानलाई सदा स्मरण गर्नेछ । स्वर्गीय दीक्षित प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

निमोनियाका कारण १२ दिन अगाडी सुमेरू अस्पताल लगिएका दिक्षितको शरीरमा मृगौलालाई प्रभावित पार्ने क्रेटेनाइनको मात्रा अत्याधिक देखिएपछि चिकित्सकहरूले अक्सिजनको सहायतामा घरै लैजानु उचित हुने सुझाव दिएपछि राति ९ बजे घर ल्याइएको थियो।

बिहान ३ बजे आफै उठेर शौचालय गएका थिए। त्यसपछि नै उनलाई परिवारका सदस्यले अचेत अवस्थामा भेटेपछि तत्काल घर नजिकैको हिमाल अस्पताल लगेका थिए। त्यहाँ चिकित्सकहरूले उनको मृत्युको घोषणा गरेका थिए।

बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारी दीक्षितका सन्तानको रुपमा वि.सं. १९७९ फागुन ६ गते काठमाडौंको गैरीधारा, मा जन्मेका साहित्यकार दिक्षित वि.सं. २०१९ मा रूपरेखा पत्रिकामा ‘कसले जित्यो कसले हार्यो’ शीर्षक कथा प्रकाशित गरेर औपचारिक साहित्य यात्रामा प्रवेश गरेका हुन् । लामो समय पत्रकारिता समेत गरेका दिक्षित नेपाली पत्रकारिता क्षेत्रमा पनि विशिष्ट योगदान पुर्याएका ब्यक्ती हुन् ।

माधवी (उपन्यास, वि.सं. २०३९),चरैवेति (निबन्ध संग्रह, वि.सं. २०४४), त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७) ,हाम्रा ती दिन (निबन्ध, वि.सं. २०२९), म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७), बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)
, लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्, मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ, कसले जित्यो कसले हार्यो? (कथा संग्रह, वि.सं २०२१), दशलाख हिरोसिमातिर, ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५), जीवन महाअभियान , ऋग्वेद: केही प्रमुख सूक्त (वि. सं.२०६५ ) लगायतका कृतिहरुबाट नेपाली साहित्यमा महत्वपुर्ण योगदान पुर्याएका दिक्षितको  माधवी उपन्यासले बि. सं. २०३९ मा मदन पुरस्कार प्राप्त गरेको थियो ।

 

 

Comments

comments