देशको मायालाई भूगोलको दुरीले खाष फरक पर्दैन भन्ने उदाहरण प्रवासमा रहेका नेपाली मनहरुले सावित गर्दै आएका छन् । भन्ने नै हो भने पछिल्लो समय साँस्कृतिक पहिचानका सवालमा प्रवासी नेपालीहरुको योगदान अत्यन्त महत्व पूर्ण छ । भलै उनिहरुलाई देखवाका लागि यस्ता कार्यक्रम आयोजना गर्ने गरेको आरोप नै किन नलागोस् । तर प्रवासमा गरिने हरेक कार्यक्रम आफैंमा चुनौतीपूर्ण छ । अत्यन्त ब्यस्त समयमा बितेका परदेशका दिनहरुका बाबजुद पनि नेपाली संघ संस्था र मनहरु आफ्ना चाडवाड र मौलिक संस्कृतिका लागि समय छुट्याईरहेका छन् ।

त्यस्तै एक नेपालदेखी कौशौं परको देश हो अमेरिका जहाँ नेपाली संस्कृती संरक्षणका लागि बिबिध कार्यक्रम आयोजना हुँदै आएका छन् । यसैबिच शनिवार न्युयोर्कमा गाईजात्रा हाँस्य व्यंग्य महोत्सव आयोजना गरिएको थियो । अमेरिकाबाट सञ्चालित अनलाईन पत्रिका टुटुल्को डटकमद्वारा आयोजित गाईजात्रा हाँस्य व्यंग्य महोत्सव अमेरिकामा नै पहिलो पटक आयोजित यस प्रकारको महोत्सव हो ।

आज भन्दा ३६ बर्ष पहिले बिक्रम संवत २०४० सालमा मासिक पत्रिकाका रुपमा धरानबाट सुरु गरिएको पत्रिका हो । तत्कालिन राज्य व्यवस्था र सामाजिक विक्रिती विसंगतिहरुलाई व्यंगात्मक रुपमा प्रस्तुत गर्ने उद्धेश्यले सुरु गरिएको यस पत्रिका बिगत ४ बर्षदेखी अमेरिकामा पनि अनलाईन संस्करणका रुपमा सक्रिय सुचना प्रवाह गर्दै आएको पत्रिका हो । जसले यस पटक ऐतिहासिक रुपमा पहिलो गाईजात्रा हाँस्य व्यंग्य महोत्सव आयोजना गर्यो ।

मनोरञ्जनात्मक रुपमा सन्देशमुलक प्रस्तुती दिईएको यस न्युयोर्कको पहिलो गाईजात्रा महोत्सवलाई लिएर दर्शकहरु कार्यक्रमको आयोजना हुने खबरले पहिलेबाट नै अत्यन्त उत्साहित थिए । त्यसैले समय निकालेर परिवारका सदस्य सहित गाईजात्रा महोत्सव हेर्न बाक्लो संख्यामा सो क्षेत्रमा नेपालीहरु उपस्थित देखिन्थे ।

नेपाली संस्कृतिको संरक्षण र प्रवद्धन संगै अमेरिकामा नै जन्मेका र हुर्केका बालबालिकाहरुमा मौलिक नेपाली संस्कृतीको ज्ञान र जानकारी दिनुका साथै उनिहरुमा संस्कृति हस्तान्तरणको बातावरण सृजना गर्ने उदेश्यले आयोजित यस महोत्सवमा वर्तमान नेपाली राजनिती, मुग्लनी मनका पिडा, एनआरएन र यसका सदस्य, समाजसेवी, पत्रकार लगायतदेखी युटुव र फेसबुक सम्मका बिकृती र विसंगतीमाथी हाँस्य रसमा गतिलो ब्यंग्य गरिएको थियो । कमेडी, प्यारोडी, कविता , नाटक मार्फ़त समाजको वास्तविकतालाई कलात्मक रुपमा प्रस्तुत गरिएको यस कार्यक्रममा न्युयोर्कबासी बालबालिका देखी बृद्ध बृद्धा सम्मको उत्साहजनक सहभागीता रहेको थियो ।

टुटुल्को डटकमका प्रधान सम्पादक तथा कार्यक्रम संयोजक ज्योतिकुमार श्रेष्ठका अनुसार गाईजात्रा पर्व बाहिरबाट हेर्दा मनोरन्जनात्कम पर्व मात्र जस्तो देखिएपनि यसको उदेश्य समाजको वास्तविकतालाई देखाएर समाज सुधार र सचेतनाको संभाहक भएकाले पहिलो पटक न्युयोर्कमा आयोजना गरिएको गाईजात्रा हाँस्य व्यंग्य महोत्सवले पनि बर्तमान समाजको सजिवतालाई चित्रण गरेको हो ।

श्रेष्ठका अनुसार बिभिन्न शिलशिलामा अमेरिकामा रहेका परिवारका नयाँ पुस्तामा आफ्नो मौलिक संस्कारबारे जानकारी दिन सके भोलीका पुस्तामा नेपाली मौलिक अस्तित्व हस्तान्तरण गर्न सकिन्छ ।

सांप्रदायिक रुपमा गाईजात्रा नेवारी संस्कृतीको पहिचान भएपनि यसको उदेश्यले सबै बर्ग र समुदायलाई समानरुपमा हेर्ने हुँदा यो पर्व नेपाल लगायत नेपाली समुदाय रहेका स्थानमा आयोजना हुँदै आएको पाईन्छ । न्युयोर्कको पहिलो गाईजात्रा महोत्सवमा पनि बाक्लो संख्यामा नेवारी समुदायको उपस्थिती देखिएपनि अन्य समुदायका नेपालीको पनि उपस्थिती रहेको थियो र उपस्थित सबैमा यो पर्व नेपाली संस्कृतीमात्र हो भन्ने आभाष देखिन्थेन । उत्साहित माहौल हेर्दा यो एक पर्व मात्र नभई खुसी र हाँसोको संवाहक जस्तो भान कार्यक्रमको दृश्यले देखाउँथ्यो । समग्रमा पहिलो पटक आयोजना गरिएको भएपनि न्युयोर्क गाईजात्रा महोत्सव अत्यन्त आकर्षक र भब्य रुपमा सम्पन्न भएको छ । 

 

 

Comments

comments