हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ ।

यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठा-मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ ।आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।

यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गदैछन । बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला ब्रत भनिएपनि आजभोली महिलाहरु मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । कतिपय महिलाहरु नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् ।

पूर्विय वैदिक सनातन धर्म परम्पराका बिभिन्न पौराणिक एबं आध्यात्मिक ग्रन्थहरूमा , खासगरि स्कन्द पुराण र भविष्योत्तर पुराणमा बर्णन भए बमोजिम राजा हिमालयले आफ्नी पुत्री गौरीको बिबाह भगवान बिष्णुसंग गरिदिने निधो गरे पश्चात साथीहरूले हरेर (सखीहरूको सहयोगमा)बिकट स्थानमा पुर्याए र त्यही गौरी (पार्वती ) ले कठोर तपस्या गरिन र उनको तपस्याबाट महादेव प्रशन्न भएर भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथी हस्ता नक्षत्रका दिन स्वयं प्रकट भई गौरीको तपस्या स्वीकार्दै आशिर्वाद दिएर तपस्या सफल तुल्याईदिएकाले हरेक वर्ष भाद्र महिनाको शुक्ल पक्षको तृतीयाका दिन तीज पर्व मनाउंदै आएको पाईन्छ ।सखीहरू (आलीका)बाट हरेर तपस्या गराई सफल भएकोले तीज पर्वलाई हरितालिका तीज पनि भनिन्छ ।

सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।

तीज पर्व नेपालमा मात्र नभएर भारत वर्षका बिभिन्न स्थानहरूमा मनाईन्छ ।यस पर्बलाई हरियाली तीज, काजरी तीज,केभाडा तीज,अखा तीज,काजल तीज,तीजरी तीज आदि आदि नामबाट मनाईन्छ । कतै कतै बैशाख तथा श्रावण महिनामा पनि मनाउने गरिन्छ।तर समग्रमा तीजको महत्व र मान्यता समान देखिन्छ। हरितालिका तीज नेपाल लगायत भारतका बिभिन्न स्थानहरूमा धुमधाम संग मनाउने गरिन्छ । अहिले आएर संसारका बिभिन्न देशमा नेपाली र भारतिय समूदायले तीज पर्व मनाएको पाईन्छ । खासगरि नेपाली समूदायले बिदेशमा विशेष पर्वको रूपमा मनाउंदै आएको देखिन्छ । अर्को शब्दमा भन्नु पर्दा यो पर्व नेपालीहरूको साँस्कृतिक पहिचानको रूपमा बिदेशमा परिचित भई राखेको देखिन्छ ।

तीज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व रहेको छ।त्यसो त हाम्रा अधिक चाडहरू यिनै महत्वले ओतप्रोत छन्।सामाजिक सद्भाव,मेलमिलाप एवं समाजका विवीध बिसंगति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्बको रूपमा हजारौं हजार वर्ष देखि यो चाड मनाईदै आएको छ।स्वयं माता पार्वतीले पनि नारी जातीको आफ्नो अनुकूलको योग्य वर छान्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकारलाई ब्यबहारीक रूपमा स्थापित गराउन तपस्या (सत्याग्रह / शान्ति पूर्ण आन्दोलन ) गरेर आफु अनुकूल वर छानि ब्यबहारीक रूपमा समाजमा स्थापित गरेको देखिन्छ । यस अर्थमा हामी माता पार्वतीलाई नारी जातीको अधिकार र स्वतन्त्रताको बिगुल फुक्ने पहिलो महिला अभियन्ताको रूपमा लिन सक्छौं । यो चाडले साँस्कृतिक रितिरीवाज परम्परा एवं गीत संगीत अनि भेषभुषालाई संरक्षण र संबर्द्धन गर्दै आएको छ।हालका दिनहरूमा संसारभर छरिएर रहेका नेपालीहरू मार्फत तीजको माध्यमबाट साँस्कृतिक पहिचान गराउने काम भईरहेको छ।

आध्यात्मिक रूपमा पनि तीजको निकै ठूलो महिमा छ।श्रद्धा पूर्बक श्रद्धालुहरू ब्रत बस्ने।शिव पार्वतीको आरधना एवं पूजा गर्ने।शिव पार्वती का मठ मन्दिरहरूमा दर्शन, पूजा तथा नाचगान गर्ने गरिन्छ । यसै गरि पञ्चमीका दिन ब्रत बस्ने, सप्तऋषिका पूजा गर्ने गरिन्छ।यसै प्रकार तीजको तात्विक महत्व पनि त्यतिकै छ।हाम्रो वैदिक षड-दर्शनले स्त्रीलाई प्रकृती मानेको छ।यसर्थ तीजको सम्बन्ध प्रकृती तत्व (जड तत्व ) संग छ।एक प्रकारले प्रकृतीको सम्मान, महत्व र सामिप्यतालाई यो चाडले आत्मसात् गरेको छ।तात्विक रूपमा प्रकृती र पुरूष (आत्मा ) तत्वको मिलनको चाड हो।प्रकृती आत्मा र परमात्मा को संयुक्त स्वरूपलाई नै हाम्रा दर्शनले ब्रह्म भनेका /मानेका छन् । समस्त जड तत्वको समुचित उपयोग, उपदेयता , ज्ञान र संरक्षण जस्ता कुराहरूलाई हाम्रा दर्शनले महत्व दिएको पाईन्छ । यसर्थ यो पर्ब तात्विक दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण छ।

समय परिबर्तनशील र गतीशील छ।समयको परिबर्तनशीलता र गतीशीलता संगसंगै मानव समाज र सभ्यताहरूको परिबर्तन हुंदै आएका छन् । समयको गती संगै भएका सकारात्मक एवं श्रृजनशील परिबर्तनहरूले समाज र सभ्यताहरूलाई वैभवता प्रदान गर्दै बिकासको उचाईमा पुर्याएका छन् । समयको बदलिंदो प्रबाह संगसंगै नकारात्मक र अश्रृजनशील परिबर्तनहरूले समाज र सभ्यताहरूलाई बदनाम गर्दै बिनाशको बिन्दूसम्म पुर्याएका छन् । तीज पर्ब पनि समयको परिबर्तित चक्र संगसंगै परिबर्तन हुंदै आएको छ र समय अनुकूल मूलभूत यथार्थ, मूल्य र मान्यतामा आँच नआउने गरि परिबर्तन हुन आवश्यक छ पनि।हिजो माईती घर,ब्रत,पूजा, पंधेरो,चौंतारो अनि मन्दिर हरूमा सिमीत हुने पर्व आज शहर,बजार,बस्ती,ब्यवसाय,बिद्युतीय सञ्चार माध्यमहरू,सामाजिक सञ्जालहरू लगायत हुंदै ब्यापकता लिएको छ।हिंजो डम्फू,मादल,थपडी र मुर्चुङ्गामा गाईने तीजका भाकाहरू आज सुब्यबस्थित तवरले आधुनिक बाजागाजामा लयबद्ध भएका छन् । एक प्रकारले तीज पर्बको माध्यमबाट सामाजले सांस्कृतिक एवं सांगितिक उपलब्धि हांसिल गरेको छ भन्दा अतिशयोक्ति नहोला । यि सकारात्मक पक्ष हुन।

तर बिगत केही वर्षहरू देखि आधुनिकताको नाममा ,परिबर्तनको बाहानामा अनि सस्तो लोकप्रीयता ,सजिलो आय आर्जनको लोभमा , तीज जस्तो पबित्र चाडलाई बिकृति, बिसंगति र यौन स्वच्छन्दताको शिकार बनाईदै छ। पोईल जान पाम डिस्कोमा तीज छोटो लुगा आदि आदि हुदै अगाडी बढेको तीज गीतको आधुनिक यात्राले यसपालीको तीजमा दरको साटो रक्सी खाईन्छ देखियो जामा फाटेर सम्मको उचाई छुईराखेको छ।थाहा छैन यो आधुनिकताको स्वच्छन्द गतीले कुन उचाई छुने हो ? यस्ता उच्छृंखल र छाडा गीत,संगीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्रीयता र सहज आर्जन गराए पनि हाम्रो वैभवशाली संस्कार, संस्कृति एवं परम्परा लाई पटक्कै फाईदा पुग्ने छैन।जीवन्त समाज र बैभवशाली सभ्यताका बिनाशका कारक बन्न सक्ने यस्ता गलत कृयाकलापहरू रोक्न आवश्यक देखिन्छ।

 

(ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

+९७७– ९८४२२१९७३५ 

 

Comments

comments