मुना श्रेष्ठ

बाटोघाटोमा माईत जानेको राताम्य लस्कर, गाउँबेसीमा चेलिको दुख बोकेको गीत, हतार हतार काम सकेर चेलिबेटी लिन हिँडेका माईती, घर घरमा पाक्ने अनदीको लट्टे, खिर, घिँरौंला र चिडिन्डाको तरकारी तामा र काक्राको अचार रातभर रमाईलो गरेर खाने दर अनि तिजको दिन निराहार बस्ने ब्रत… यहि हो हाम्रो मौलिकता, नेपाली महिलाको सर्वाधिक आस्थाको पर्व तिजको आफ्नोपन ।

यहि तिज अहिले धनी, र नव धनाढ्य तथा मध्यम वर्गिय महिलाले आर्थिक हैसियत प्रदर्शन गर्ने र सस्तो मनोरञ्जनका लागि गरिने भड्किलोपनका कारण अलोकप्रिय तथा अयोग्य बनेको छ । मौलिक संस्कृतीलाई बिकृत बनाउने आधुनिकताले तिज सम्बन्धी धार्मिक मान्यताको अपब्याख्या गर्नुका साथै हाम्रो साँस्कृतिक बिबिधता नष्ट पार्दै एकल संस्कृतिमा लागि परेको विश्वब्यापी अदृश्य शक्तीलाई हाम्रो पर्वको पहिचान नै विस्थापित गर्नमा मद्यत पुगिरहेको छ । जसका कारण हाम्रा साँस्कृतिक पर्वहरु हाम्रै लागि पनि बितृष्णाको बिषय बनिरहेको छ ।

जवसम्म संस्कृती जिवित रहन्छ, तव सम्म राष्ट्रको पहिचान पनि रहिरहन्छ । तिज सामाजिक तथा साँस्कृतिक दृष्टीले महत्वपूर्ण पर्व हो । पारिवारिक सद्भाव र प्रेमको यो पर्वले चेली र माईतीको अगाध मायालाई प्रतिविम्वत गर्नुका साथै पति पत्नी बिचको प्रेम, त्याग र समर्पणको प्रतिनिधित्व पनि गरेको हुन्छ ।

केही सम्पन्न बर्ग र शहरी क्षेत्रलाई छाड्ने हो भने हाम्रो बाँकी भौगोलिक, सामाजिक र आर्थिक परिवेशका महिला अझै पनि मिठो खान, राम्रो लगाउन अनि आराम र मनोरञ्जनका लागि चाडपर्व नै कुर्नुपर्ने बाध्यताबाट मुक्त हुन सकेका छैनन् । तिजमा आफ्नो स्तर अनुसार श्रृंगारिएर माईत जानु, दिदी बहिनी साथी संगीहरुसंग बसेर दुख सुखका कुरा गर्नु, केही दिन भएपनि घरको चटारो बुहार्तनबाट मुक्त भएर स्वतन्त्रताको अनुभुति गर्नु, माईतीले पकाएर दिएको दर खाएर रमाईलो गरि रातभरी तिजका मौलिक भाकाहरु गाउँदै पिर ब्यथा र मनोबिकारबाट मुक्त हुँदै ब्रत बस्नु उनिहरुका लागि बर्षदिन अघि सम्मको पर्खाईको बिषय हुन्छ ।

यसलाई बैज्ञानिक किशिमले हेर्ने हो भने पनि बर्षदिन सम्म मिठो र पोसिलो परिकार खाएर शरिर स्वस्थ राख्नुपर्ने हुन्छ । तर हामीकहाँ अधिकांश विपन्न बर्गहरुमा यो एउटा रहरको बिषयमात्र बनेको छ ।

हाम्रो देशको सांस्कृतिक संरचनानै अन्य देशको तुलनामा अलग छ । पुरुषप्रधान देश नेपालको बिबाह र महिलाको अवस्था हेर्न त्यती पर जानुपर्दैन हाम्रौ आमा हजुरआमाको समय हाम्रो सामु खडा छ । अहिले सम्म परिवारमा महिला नै दोस्रो दर्जामा रहेको हाम्रो सामानिक संरचनामा बुहारीहरुको स्थान आज त छोरीको हैसियतसम्म पुग्न सकेको छैन भने तत्कालिन समयका महिलाको अवस्था आँकलन गर्न जो कोहिले सक्छ । सानैमा बिबाह गरेर टाढा टाढा पुग्नु, माईतीसंग सम्पर्कको कुनै माध्यम नहुनु, नयाँ लुगा लगाउन चाडपर्व नै कुर्नुपर्ने बाध्यता आदि परिवेश खेपेका तिनै छोरी बुहारीका निम्ती विपन्न महिलाको पक्षमा तिज पर्वको सुरुवात र स्थापना गरिएको हुन सक्छ । नेपाली समाजको पितृसतात्मक सामाजिक संरचना र त्यबाट निर्मित साँस्कृतिक मुल्य अनुरुप मिठो चोखो खान, राम्रो लगाउन, मनोरञ्जन गर्ने छुटका लागि छुट्याईएको तिज र ऋषि पञ्चमी नारीलाई माईती जाने एउटा मौकाका रुपमा रहेको थियो । पितृसतात्मक समाजको यो मुस्कीलले पाएको छुट्टी नारीहरुका लागि अवसर र उत्सव हुने गर्दथ्यो ।

पतिको लामो आयुको लागि भन्दै निराहार ब्रत बस्नुपर्ने प्रावधान पनि बनेको हुन सक्छ । पुरुषहरु घरबाहिर अर्थात आय आर्जनको कार्यमा लाग्ने भएकाले घर परिवारको रेखदेखको दायित्व महिलाले निर्वाह गर्नुपर्ने हुन्थ्यो त्यसैले पनि तिजको ब्रत पति तथा परिवारको कल्याणको कामना गर्ने दायित्व पनि महिलाकै बन्न पुग्यो जसले आजसम्म पनि निरन्तरता पाइरहेको छ ।

बर्तमान महिला घरभित्र मात्रै सिमित नरहेर बिभिन्न क्षेत्रहरुमा संलग्न देखिन्छन् । तर पनि उनिहरु पारिवारिक दाहित्वबाट टाढा रहन सकेको अवस्था देखिँदैन । आ आफ्ना मौलिक परम्परा तथा रितिरिवाजलाई जिवित राख्न थप दाहित्व समेत उनिहरुले नै पुरा गर्दै आईरहेको देखिन्छ । तिजको ब्रत र बिधी सम्बन्धी मान्यताको अपब्याख्या गर्दै र अविवाहित नारीहरुले असल पति पाउन तिजको तिजको ब्रत बस्नुलाई पितृ सतात्मक दासत्वको अनुमोदन हो भन्ने गरेको पनि पाईन्छ । किनभने हाम्रो समाजमा न विवाहित पुरुष असल पत्नी पाउनका निम्ती ब्रत बस्छन् न विवाहित पुरुष आफ्नी पत्नीको दिर्ग जीवनको कामनामा निराहार रहन्छन् । हामी सामु उभिएको यो यथार्थ नारी र पुरुषबिचको सहअस्तित्व अझै पनि हाम्रो समाजले स्वकारेको अवस्था हो ।

पौराणिक सन्धर्वमा पार्वतीले महादेव पति पाउनका लागि अन्न र जल समेत त्यागेर कठोर तपस्या गरेको र त्यहि तपस्याको फल स्वरुप पार्वतीको महादेवसंग विवाह भएकाले सोही ब्रतलाई महिला बर्गले असल पति र पतिप्रतिको प्रेम र निष्ठाको निरन्तरता दिंदै आएको मानिन्छ । जहाँ सम्म शिव पार्वतिको बिवाहको प्रशंग छ त्यस अघि महादेव र सतिदेवीको कथा झनै महत्वपुर्ण छ । तिजमा शिवको पुजा गर्नु, उनि जस्तै पति प्राप्तीका लागि कामना गर्नुलाई अन्यथा मान्न सकिंदैन किनकी हरेक पतिले शिवको जस्तै पत्नीको आत्मसम्मानको ख्याल राख्ने हो र हरेक नारीलाई सम्मानजनक दृष्टीले हेर्ने हो भने नारि उत्पीडन स्वत समाप्त भएर जान्छ ।

रातो रंग सौभाग्यको प्रतिक त हो नै त्यसलाई शक्तीको प्रतिकको रुपमा पनि लिईन्छ । तिजमा बिषेश गरि बिबाहित महिलाले रातो पहिरन तथा चुरा पोतेमा सजिनु हाम्रो मौलिक परम्परा हो तर आजभोली यसलाई महंगा कपडा र अनेक गर गहना प्रदर्शनको प्रतिस्पर्धा गर्ने माध्यम बनाईंदै छ । जसका कारण नहुनेले पनि ऋण खोजेर या अर्काको मागेर भएपनि लगाउने प्रचलन बढ्दो छ । बुहारीका माईतीबाट घर पक्षका सबैलाई दरका रुपमा कपडा, खानेकुरा, गरगहना लैजानुपर्ने नव धनाढ्य संस्कृतीले पनि तिजका नाममा बिकृती बढ्दै गईरहेको देखिन्छ । यसले एक पक्षको खुशिका लागि अर्को पक्षले पिडा भोग्नुपर्ने बाध्यताकारी अवस्थालाई देखाउँछ ।

यसैगरी तिजको अघिल्लो दिन खाईने दरको प्रचलन पनि बिकृत हुँदै गएर महिना दिन अघि देखी नै पालो गरि गरि, पैसा उँडाई उँडाई दर खाने परम्परामा परिणत भै सकेको छ । दर खाने यस्तो परम्परा धनाढ्य र नव धनाढ्य बर्गका परिवारको रोझाई, रेष्टुरेण्ट तथा पार्टी प्यालेस बन्नु ति ब्यवसायमा संलग्नहरुका लागि आर्थिक उपार्जनका दृष्टीले महत्वपूर्ण त होला नै तर यसले तिजको मौलिकता भने घटाउँदै लगेको छ । गाउँ, घर, चौतारी, मठ मन्दिरमा चेलिबेटी जम्मा भएर आफैंले गीत गाउँदै नाच्ने एक स्वच्छ आत्मियताको प्रतिकका रुपमा रहेको तिज पर्वको महत्व सांस्कृतिक हिसावले पनि उच्च रहेको छ । जहाँ पर्वका नाममा कसैले कसैको आर्थिक अवस्थामाथी बाधा पुर्याएको हुँदैनथ्यो ।

तिज पर्वका नाममा बिकृती मौलाउनुमा अल्पज्ञानी संगीतकर्मीको पनि ठुलो हात रहेको छ । हिजोआज तिजको एउटा एल्वम निकालेर बर्षभरीको आम्दानी निकाल्ने ब्यवसायिक कलाकारका उत्तेजक तिज गीतले मौलिक संस्कृतिको ईज्जतको नै धज्जी उडाईहरेको छ । संस्कृती जस्तो गम्भिर बिषयलाई संगीतले प्रवाह भर्नुपर्ने सन्देश अर्कै हो तर यहाँ कलाकार बन्ने लालसामा देशको अभिन्न संस्कृती नै सस्तो मनोरञ्जनको साधन बनिरहेको छ । भलै यस कुरालाई त्यस किशिमका कलाकारले बिरोध गर्लान तर कलाकारको दाहित्व संस्कृती संरक्षण हो संस्कृतिको तहसनहस होईन । किनकी कलाकारिता त्यो बिधा हो जसको प्रभाव समाजमा अत्यन्त छिटो प्रवाह हुने गर्दछ ।

शहरको साँघुरो परिवेशमा एउटा घरमा महिनौंदेखी स्पिकरका घन्कने यस्ता गीतले पल्लो घरको शान्त रहन पाउने अधिकारलाई असर गरिरहेको हुन्छ । वल्लो कोठामा बज्ने गीतको चर्को आवाजले पल्लो कोठामा बस्ने बिद्यार्थीको पढाईमा बाधा पुर्याईरहेको हुन्छ । यस्तै आचारणको बिकासले पनि हो पछिल्लो समय तिजको गरिमा घट्दै गईरहेको देखिन्छ । त्यसैले संस्कृतिलाई बिकृती बनाउने यस्तो पक्षप्रति सचेत भएर तिज जस्तो मौलिक पहिचान बोकेको पर्वलाई देखावटी र आर्थिक आर्थिक हैसियत प्रदर्शनको माध्यम नभई पारिवारिक सद्भाव तथा आत्मियताको पर्वका रुपमा निरन्तरता दिनुपर्दछ । यसका लागि सरकारले पनि संस्कृति संरक्षका लागि बिषेश प्रावधान तोक्नुपर्दछ जसका कारण हाम्रो एकल संस्कृति विश्वमाझ देखाउन सकियोस् ।

पवित्र आस्थाका साथ आरम्भ भएको तिज जस्तो पर्वलाई अल्पज्ञान तथा आधुनिकताको पूर्वाग्राही चस्मा लगाएर ब्याख्या गर्दै त्यसमाथी प्रहार गर्नु भन्दा त्यसको धार्मिक र सांस्कृतिक महत्वको गहिराई सम्म पुगेर विश्वव्यापीकरणले स्थापित गर्न चाहेका आ आफ्ना एकल संस्कृतीमाझ हाम्रो तिजलाई पनि उभ्याउन सकिन्छ ।

Comments

comments