कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको बैंकले जनाएको छ ।

यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो । तर, कृषि विकास बैंकमा भने योभन्दा फरक तरिकाले रकम चोरी भएको पाइएको छ । प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख देखिएको छ, बाँकी अनुसन्धान भइरहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताएका छन् ।

प्रहरीका अनुसार एउटा गिरोहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी उक्त रकम लुटेको हो । असोज ५ गते सो रकम सिरहा शाखाबाट केन्द्रीय बैंक हुँदै गिरोहले लुटेको सिरहा प्रहरीले जनाएको छ ।

सो रकम कसरी सिरहा शाखा हुँदै केन्द्रीय बैंकबाट बाहिरियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीले लुटापाट गरेको आरोपमा ११ जनालाई मंगलबार राती काठमाडौ र काठमाडौं बाहिरबाट नियन्त्रणमा लिइ गोप्य रुपमा अनुसन्धान शुरु गरेको बताएको छ ।

Comments

comments