गाडी अन्य पार्टीका नेताहरूले चढिरहेका छन्। तर सत्तारूढ नेकपाले ती सबै गाडी आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ। नेकपाले प्रतिबन्धित नेकपा महासचिव विप्लव, पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत ११ नेताको गाडी सम्पत्ति विवरणमा राखेको हो।

तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि केन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडीसमेत छ।

तत्कालीन माओवादी केन्द्रको सम्पत्ति विवरण कार्यालयका तत्कालीन मुख्य सचिव प्रह्लाद बुढाथोकीले असोज १ मा नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल प्रशान्तलाई बुझाएका हुन्।

ढकालले बुझेको पेरिसडाँडास्थित कार्यालयको सम्पत्ति विवरणमा पार्टीको सम्पत्तिका नाममा ३४ सवारी साधन रहेको उल्लेख छ। त्यसैमध्येका ११ वटा गाडी विप्लवदेखि डा. भट्टराईसम्मले प्रयोग गरिरहेका छन्।

अन्नपूर्णले प्राप्त गरेको उक्त अभिलेखअनुसार माओवादी केन्द्र एमालेसँग एकतामा गएपछि पुनः माओवादी केन्द्र नै ब्युँताएका गोपाल किराती, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, प्रवक्ता हरिभक्त कँडेल र इन्द्रमोहन सिग्देल, राजनीतिक जीवन छोडेर दाङमा कृषि पेसा अंगालिरहेका लोकेन्द्र विष्ट मगर, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराई, हिसिला यमी, प्रतिबन्धित नेकपाका महासचिव विप्लव, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली र खडकबहादुर विश्वकर्माले चढिरहेका गाडी पनि नेकपाले सम्पत्तिका रूपमा अभिलेख गरेको छ।

यी गाडी यातायात कार्यालयमा ‘एकीकृत नेकपा माओवादी’ कै नाममा दर्ता छन्। नेकपामा नरहेका तर तत्कालीन माओवादीले पार्टीको गाडी प्रयोगमा लगेका भनी उल्लेख गरेका ११ जना पनि कुनै बेला माओवादीकै नेता थिए।

‘माओवादी शान्ति प्रक्रियामा आएपछि सरकारले केही गाडी तत्कालीन एमाओवादीका नाममा दर्ता गर्न दिएको थियो। त्यसमध्ये नेताहरूसँग रहेका गाडीमध्ये मैले एउटा लगेको हुँ’, राजनीति छोडेर कृषि पेसामा लागेका लोकेन्द्र विष्ट मगरले भने, ‘नाम र नम्बर पार्टीको हो। तर, खर्चपानी मेरो आफ्नै हो। ब्लुबुक एमाओवादी नाममा छ।’

त्यतिबेला सरकारले एमाओवादीका नाममा झन्डै सयवटा गाडी दर्ता गर्न छुट दिएको थियो। धेरै गाडी सेना समायोजनपछि नेपाली सेनाको मातहत आइसकेको छ भने अझै ३४ गाडी तत्कालीन माओवादी नेताहरूले प्रयोग गर्दै आएका छन्।

पार्टी विभाजनपछि जुन पार्टीमा गएका नेताले जुन गाडी प्रयोग गरिरहेका छन्, त्यो उनैको हुने समझदारी भएको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले बताए। ‘उहाँहरूले यो गाडी आफ्नो पार्टीको भनेर दाबी गर्नु सीधै बेइमानी हो,’ नेता गजुरेलले भने, ‘पार्टी विभाजनपछि सम्पत्तिका विषयमा पटकपटक छलफल भएको थियो। हामीले चढेका गाडी हाम्रै नाममा दर्ता गराइदिन्छौं भन्नुभएको थियो उहाँहरूले। तर कार्यान्वयन हुन सकेको छैन। हामी चढिरहेका छौं। गाडी एमाओवादीका नाममा छ।’

समाजवादी पार्टी उपाध्यक्ष हिसिला यमीले त्यस बेला एउटै पार्टी हुँदाको गाडी रहेकाले अहिले नेकपाले दाबी गर्न नमिल्ने बताइन्।

पुनर्गठित माओवादी केन्द्रका नेता गोपाल किरातीले भने आफूसँग गाडी नरहेको बताए। तत्कालीन पार्टीको पाचौं विस्तारित बैठकलगत्तै आफूले गाडी रामबहादुर थापालाई बुझाएको उनले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

Comments

comments