यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबिया अहमदलाई प्रदान गरिने भएको छ । छिमेकी मुलुक इरिट्रियासँग वर्षौंदेखि जारी द्वन्द्व समाधान गर्न महत्वपूर्ण योगदान पुर्याएको कदर स्वरुप यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अहमदलाई प्रदान गरिने भएको हो ।

कमिटीले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री सन् २०१८ देखि सत्तामा रहेका इथियोपियाली नेता अहमदले इथियोपिया र इरिट्रियाबीच शान्ति स्थापना गर्न तथा अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रमा निर्णायक भूमिका निर्वाह गरेको उल्लेख छ ।
नर्वेजियाली नोबेल इन्स्टिच्यूटले पनि ४३ बर्षिय अहमदले मुलुकमा महत्वपूर्ण सुधारात्मक कदम चालेको भन्दै प्रशंसा गरेको छ ।
नोबेल इन्स्टिच्यूटकी अध्यक्ष बेरिट रेइस–एन्डरसनले गरिबी र द्वन्द्वको चपेटाबाट गुज्रिरहेको इथियोपियामा शान्ति र विकासको मूल योजनाका साथ अघि बढेका प्रधानमन्त्री अहमदले आर्थिक सुधारका धेरै महत्वाकांक्षी योजना अघि सारेका छन् र, त्यसले प्रतिफल दिन थालेको छ ।

वार्षिक रुपमा विश्वमा शान्ति क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई नर्वेजियन नोबेल समितिले प्रदान गर्दै आएको नोबेल शान्ति पुरस्कार सन् १८९५ मा उद्योगपति, आविष्कारक, र शस्त्रहरुका निर्माता अल्फ्रेड नोबेलले स्थापना गरेका थिए । यो पुरस्कार प्रत्येक वर्ष डिसेम्बर १० मा नोबेलको मृत्युको वार्षिकोत्सवमा एक वार्षिक समारोहमा ओस्लो सिटी हलमा प्रस्तुत गर्ने गरिन्छ ।

पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्यां हेनरी ड्युना र फ्रेंच पीस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।

Comments

comments