अष्टिन (टेक्सास)- चर्चित गायक समिर आचार्यले यो बर्ष पनि अष्टिन घन्काउने भएका छन् । ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स)ले दशैं तिहार तथा छठ पर्वको अवसर पारेर आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा सहभागी हुन लागेका आचार्यले अष्टिनवासी नेपालीहरुलाई भरपुर मनोरञ्जन दिन लागेका हुन् ।

हरेक बर्ष दशैं तिहार तथा छठ पर्वको अवसरमा चर्चित कलाकारको सहभागीतामा कार्यक्रम गर्दै आएको ग्यान्सले यस वर्ष पनि यसलाई निरन्तरता दिन लागेको हो । आउंदो अक्टोबर २० तारिख आइतवार अष्टिनस्थित एसिएन अमेरिकन रिसोर्स सेन्टरमा आयोजना गरिने कार्यक्रममा गायक आचार्य संगै स्थानीय कलाकारहरुले भव्य प्रस्तुती दिने ग्यान्सका अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभयो ।

गायक आचार्यले यसअघि पनि अष्टिनमा आफ्नो भव्य प्रस्तुती दिइसकेका छन् । अष्ट्रेलियामा बस्दै आएका गायक आचार्य हाल अमेरिका र क्यानडा भ्रमणमा छन् । आइतवार बेलुका साढे ५ बजेपछि शुरु हुने कार्यक्रममा सहभागी भई दशैं तिहार तथा छठको शुभकामना आदानप्रदान गर्न तथा कार्यक्रमलाई सफल बनाईदिन ग्यान्सले अष्टिनवासी नेपालीहरुमा अनुरोध गरेको छ ।

अष्टिनमा खोजी जारी रहेको नेपाली सामुदायीक भवनको सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रमको तयारी जारी छ । कार्यक्रममा सहभागीता जनाउन लागेका दंगाली गायक आचार्यको पिच रोड, दुनिया बेग्लै छ, घाममा सुकाइदेउ, स्यानोमा स्यानो लगायतका गित चर्चित छन् । अष्टिनमा आयोजना हुन लागेको कार्यक्रम आफ्नो यसपटकको अमेरिका टुरको अन्तिम कार्यक्रम भएको आचार्यले बताएका छन् ।

Comments

comments