गायक समिर आचार्यले दोस्रो पटक क्यानडामा आफ्नो प्रस्तुती दिएका छन् । रापती समाज क्यानडाद्वारा आयोजित दशैं तिहार सेलिब्रेसन नामक सांगीतिक कार्यक्रम समिर आचार्य संगै कृष्ण काफ्ले, देविका केसी र रोषन केसीको सांगीतिक प्रस्तुती सहित क्यानडाको मिसासागा स्थित ५८३५ केनेडी रोडमा भब्य रुपमा सम्पन्न भएको हो ।

नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरेर आयोजना गरिएको यस कार्यक्रममा क्यानडाबासी नेपालीको उत्साहजनक उपस्थिती रहेको थियो । साँझ ६ बजेबाट सुरु भएको कार्यक्रममा गायक समिरले आफ्ना चर्चित गीतहरु पिचरोड, घाममा सुकाईदेउ, मेरो दुनिया बेग्लै छ लगायतका गीतहरु गाउँदा दर्शकहरु अत्यन्त उत्साहका साथ उनिको प्रस्तुतीमा झुमेको देखिन्थ्यो ।

क्यानडाका लागि पर्यटन दुत दाङबासी एनवी टण्डनको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन निराजन थापाले गरेका थिए ।

गायक समिर आचार्यले यस अघि पनि क्यानडामा आफ्नो प्रस्तुति दिईसकेका छन् । नेपाल भ्रमण वर्ष २०२० का लागि केन्द्रित रहेर अगष्ट ३१ का दिन टोरेन्टोको नाथन फिलिप स्क्वायरमा आयोजित हिमालय मेलामा आफ्नो बेजोड प्रस्तुती दिएका समिरको मिसासागाको प्रस्तुती अत्यन्त आकर्षक र भब्य बनेको थियो ।

हाल अष्ट्रेलियामा रहँदै आएका गायक समिर गत अगष्टमा अमेरिका र क्यानडाको सांगीतिक टुरका लागि अमेरिका आएका उनले यस अघि क्यानडा संगै अमेरिकाका बिभिन्न कार्यक्रममा प्रस्तुती दिंदै आएका छन् ।

 

Comments

comments