पूर्वराजा ज्ञानेन्द्र शाह भारत गएका छन् । राजाकै हैसियतमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा उनि भारत गएका हुन् । पूर्व राजा शाहले गत शुक्रबार निजी भ्रमण भन्दै भारत पुगेका थिए । त्यहाँ उनले योगी आदित्यनाथसँग भेटवार्ता गरिसकेका छन् ।
सो भेटवार्ताका विषयमा पूर्वराजाको संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको थियो । त्यसयता भने भारतमा पूर्वराजा के गर्दै छन् भन्ने विषय सार्वजनिक भएको छैन । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्वराजाबीच भेटवार्ता गराउने प्रयास भइरहेको बुझिन्छ।
‘भारतीय प्रधानमन्त्री मोदीजी पनि पूर्वराजासँग भेट गर्न इच्छुक हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘अहिले मोदीजीको कार्यव्यस्तताले समय मिलिसकेको छैन । कोसिस भने जारी छ।’ पूर्वराजा शाह आफ्ना सुरक्षाकर्मी र सहयोगी विनै लखनउ पुगेका हुन् । उनलाई उत्तर प्रदेश सरकारले सुरक्षा उपलब्ध गराउने र त्यहाँ रहँदा पूर्व राजाले विभिन्न धार्मिकस्थलको दर्शन गर्ने औपचारिक कार्यक्रम रहेको छ।
योगी आदित्यनाथले विगतमा पनि उत्तर प्रदेशका विभिन्न धार्मिक कार्यक्रमहरुमा पूर्वराजालाई नेपालको राजाकै हैसियतमा निमन्त्रणा दिने गरेका छन्। त्यहाँ जाँदा पूर्वराजालाई नेपाल नरेशकै हैसियतमा मञ्च र आसन उपलब्ध गराइन्छ ।
यसअघि पूर्वराजा शाह फागुन २२ गते सोमबार स्थलमार्ग हुँदै भारत भएका थिए । नेपालका राजनीतिक दलहरु सत्ताको आपसी खिचातानीमा लिप्त भएको मौकामा पूर्वराजा ज्ञानेन्द्रले छिमेकी मुलुक भारतको साथ खोज्ने प्रयास विगत लामो समयदेखि गर्दै आएका थिए। यसअघि पनि उनी विभिन्न वाहनामा भारतको भ्रमणमा गएका थिए।
पछिल्ला दिनहरुमा नागरिक बचाऊ अभियानमा भारतको राष्टिय स्वयं सेवक संघ (आरएसएस)को विशेष सहयोग रहँदै आएको बताइएको छ जसको उद्घाटन झापाबाट पूर्वराजा ज्ञानेन्द्रले नै गरेका थिए । यो अभियानको नेतृत्व दुर्गा प्रसाईंले गर्दै आएका छन् ।
फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्रबाट जारी भएको विज्ञप्तिमा राजनीतिक दलहरुले राजसंस्थासँग सहकार्य गर्नु पर्ने धारणा अघि सारेका थिए । विगत केही समयदेखि पूर्वराजाका विज्ञप्तिहरु राजनीतिकरुपले खरो बन्दै आएका छन् । यो परिस्थितिमा पूर्वराजाको सुटुक्क भारत भ्रमणलाई निकै अर्थपूर्ण मानिएको छ ।
प्रतिक्रिया