एनआरएनए अमेरिकाको सदस्यता अभियान सकिएको छ । मे १५ को मध्यरातसम्म रहेको अभियानमा करिब १४ हजारले सदस्यताका लागी आबेदन दिएका छन् ।
एनआरएनए अमेरिका अध्यक्षद्धारा जारी गरिएको विज्ञप्ती अनुसार सन् २०२३–२५ का लागि तेह्र हजार नौ सय छपन्न जनाले साधारण सदस्यका लागि आवेदन दिएका छन् । जसमा दुई हजार चार सय सताउन्न जना आजीवन सदस्यहरूको विवरण समावेश गरिएको छैन । यसरी हेर्दा आगामी सन् २०२३–२५ का लागी संस्थाको सदस्य संख्या लगभग १५ हजार पुग्ने देखिन्छ ।
मेम्बर भेरिफिकेशन कमिटी र सुपर भिजन कमिटीका अनुसार अहिले सम्म ८८३३ जनाको आवेदन स्वीकृत भइसकेको छ । जसमा ७८४ जनाको निवेदनमा केही समस्या देखिएकाले सच्याउन इमेल पठाइसकिएको जनाईएको छ । ३६८६ जनाको निवेदन हेर्न बाकी रहेको छ । कुल निवेदक मध्ये ६४१ जनाले पैसा तिरेका तर सबमिट र कन्फर्मेसन बटम थिच्न बिर्सेको जनाईएको छ ।
यस पटक फरक र डिजिटल शैली एमआइएस सिस्टम अन्तर्गत स्मार्ट एनआरएनए एप मार्फत आवेदन माग गरिएको थियो, जस्मा सेल्फी फोटो, बसोबास गरीरहेको ठाँउको जानकारी, चालक अनुमती पत्रको जानकारी लगायतका ब्यक्तिगत बिवरण पेश गर्नुपर्ने ब्यवस्था गरिएको थियो ।
यता एनआरएनए अमेरिका अध्यक्ष बुद्धि सुबेदीले नयाँ सदस्यहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गरेका छन् । सामाजिक सन्जाल मार्फत एक धन्यवाद तथा स्वागत सन्देश दिदै सुबेदीले भनेका छन्,-“राम्रा कार्यक्रमको निरन्तरता साथै अझ नयाँ, रचनात्मक र सृजनात्मक काम गर्न र गराउन यहाँहरू संस्थामा आबद्ध हुन लाग्नु भएकोमा स्वागत गर्दछु ।”
अध्यक्ष सुबेदी आफ्ना कार्यकालमा भएको उपलब्धी स्मरणः गदैँ भनेका छन्,-“हामीले संस्थाको कार्यालय भवन खरिद गरी सञ्चालनमा ल्याइसकेका छौँ । नेपाल र नेपालीको संवृद्धि र विकासमा काम गर्न अमेरिका र नेपालका विज्ञहरू बिचमा अन्तरक्रिया र विज्ञ सम्मेलनहरू आयोजना गरिएको साथै महिला सम्मेलन, युवा सम्मेलन, कोभिडको महामारीमा साढे ३ करोड रुपैयाँ भन्दा बढीका स्वास्थ्य सामाग्री र उपकरण नेपाल पठाउने काम सम्पन्न भयो ।”
सुवेदीले सदस्यता अभियानमा अहोरात्र खटिने उपाध्यक्ष तथा मेम्बर सीप ड्राइभ कमिटीका चेयर डिलु पराजुली लगायतको टिम, कार्यसमिति र च्याप्टरका सबैलाई यो जागरण र सदस्यता अभियानको सफलताका लागि खट्नु भएकोमा हार्दिक धन्यवाद समेत ब्यक्त गरेका छन् ।
प्रतिक्रिया