भारतीय नागरिकलाई नेपाली नागरिकता बनाई दिएको अभियोगमा जिल्ला अदालत सप्तरीले २६ अभियुक्त विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला अदालत सप्तरीका अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोरकुमार राम, असई महेन्द्रप्रसाद चौधरी, राजविराज नगरपालिकाका–११ का वडा अध्यक्ष उदितनारायण यादवसहितका २६ अभियुक्त विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत सप्तरीका सुचना अधिकृत भरतमणी पोखरेलले भारतीय नागरिकलाई नेपाली नागरिकता बनाई दिने धन्दामा संलग्न अभियुक्त विरुद्ध अदालत समक्ष पक्राउ पुर्जी जारी भएको बताए बताए ।
उनले भने,‘भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउने धन्दामा सरकारका कर्मचारीसहितका व्यक्ति संलग्न भएको देखियो । अनुसन्धानका लागि पक्राउ गर्नु पर्ने देखियो । त्यसो हुँदा उनीहरु विरुद्ध प्रहरीले अदालत समक्ष पक्राउ पुर्जी माग गरेको थियोे । उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । पुर्जी बिहान १० बजे भित्र प्रहरी कार्यालयमा पुगिसक्छ ।’
झुटो विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिक सतिश यादव र सूर्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेका थियो । उनीहरुलाई जिल्ला अदालत सप्तरीले १ जेठमा एक–एक लाख रुपैयाँ धरौटीमा छाडिसकेको छ । प्रहरीका अनुसार सतिशले २१ फागुन ०७९ मा नेपाली नागरिकता लिएका थिए । उनी हजुरबुबा सूर्यनारायणसँगै राजबिराज बस्दै आएका थिए । उनले हजुबुबालाई बुबा बनाएर नेपाली नागरिकता लिएका थिए ।
धन्दामा जिप्रका सप्तरीका प्रशासकीय अधिकृत किशोरकुमारसहित जिल्ला प्रहरी कार्यालयका असई महेन्द्रप्रसाद र अन्य तीन प्रहरी, राजविराज नगरपालिका ११ का वडाध्यक्ष उदितनारायण,वडा सचिव हरिनारायण यादव संलग्न रहेको प्रहरीको भनाई छ । प्रहरीले गत ३१ बैशाखमा उनीहरु विरुद्ध मुद्या दायर गरेको थियो ।
प्रतिक्रिया