युट्युबलगायतका अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्म अनुसार काम गर्न अनलाइन टिभी पत्रकार संघले आह्वान गरेको छ । बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी सञ्चारकर्मीले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला संघले त्यस्तो व्यवहार नगर्न र पत्रकार आचारसंहिताको ख्याल गर्न आग्रह गरेको हो ।
सङ्घका महासचिव राजु सुवेदीद्वारा जारी वक्तव्यमा तत्काललाई पत्रकार आचारसंहिता २०७३ नै पालना गर्न र चाँडै नै अनलाइन टिभी पत्रकार आचारसंहिता जारी गर्न लागिएको उल्लेख गरिएको छ । सङ्घले युट्युबर लगायतका अनलाइन टिभी पत्रकारलाई सामाजिक दायित्व नभुलेर आफूलाई सुधार्दै लैजान आग्रह पनि गरेको छ । सञ्चार कानूनले नयाँ माध्यमलाई सहजै समेट्न नसकेको र अर्कोतर्फ नयाँ सञ्चार क्षेत्रमा क्रियाशीललाई सिक्ने/सिकाउने र सङ्गठित हुने वातावरण पनि बनिनसकेकाले अन्यौलता रहँदै आएको वक्तव्यमा लेखिएको छ ।
गत वर्ष माघ २४ गते नेपालमा पहिलो पटक अनलाइन टिभी सञ्चालकको पहिलो राष्ट्रिय भेलामार्फत गठन भई दर्तासमेत भइसकेको अनलाइन टिभी पत्रकार सङ्घले सबै अनलाइन टिभी पत्रकारलाई सङ्घमा आबद्ध भएर यस क्षेत्रको शुद्धीकरण र सुदृढीकरणमा लाग्न आग्रह गरेको छ । रासस
प्रतिक्रिया