प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकू शिविरमा भ्रष्टाचार भएको भन्ने आरोप कपोलकल्पित रहेको जिकिर गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बिहीवार सांसद ज्ञानेन्द्र शाहीको प्रश्नको जवाफमा प्रचण्डले यो विषय पुष्टि भए आफू जेल जान तयार रहेको बताए । ‘क्यान्टोनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको जानकारी गराउन चाहन्छु ।’उनले यस विषयमा आरोपका निम्ति आरोप लगाइएको गुनासो गरे ।
‘पूर्व माओवादीका लडाकूलाई राज्य कोषबाट दिइएको रकम हिनामिना गरेको भन्नु आरोपका निम्ति आरोप हो । शान्ति सम्झौता भएर क्यान्टोन्मेन्टमा लडाकूलाई राख्ने समझदारी भइसकेपछि अडिट गरिएको छ । हिसाबकिताब सबै रेकर्डमा छ । त्यतिबेला गिरिजा (गिरिजाप्रसाद कोइराला) प्रधानमन्त्री हुनुहुन्थ्यो । कांग्रेसबाट डा.रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरू समेतले रुजु गरेपछि यसको पटाक्षेप भइसकेको छ,’ प्रचण्डले भने ।
राजनीतिक प्रतिशोध साँध्नका खोजिएको गुनासो गर्दै प्रचण्डले थपे, ‘अहिले नियतवश उठाइएको छ । इतिहासको त्यो संवेदनशील घडीमा देश, शान्ति प्रक्रिया र लोकतन्त्रलाई संस्थागत गर्ने बाटोमा अघि बढ्यो । राज्यबाट पैसा दिएर अडिट भएर टुंगो लागिसकेको विषयलाई राजनीतिक प्रतिशोध साँधेर उठाउन खोजिएको छ ।’लडाकू शिविरमा भएको भनिएको अनियमितताको विषय छानबिन हुनुपर्ने माग बेलाबखत उठ्ने गरेको छ ।
प्रतिक्रिया