US Khabar

नक्कली भुटानी शरणार्थी प्रकरण : सानु र केशवले योजना सुनाए, टोपबहादुरले गृहमा मिलाउने जिम्मा लिए !

- Admin | २ हप्ता पहिले प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरण : सानु र केशवले योजना सुनाए, टोपबहादुरले गृहमा मिलाउने जिम्मा लिए !

नक्कली भुटानी शरणार्थी तयार गर्ने योजनाका सुरुवातकर्ता पूर्वउपप्रधानमन्त्री, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी रहेको खुलेको छ । ३६ करोडभन्दा बढी रुपैयाँ ठगीको योजना रायमाझीसहित चारजनाले बनाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले तथ्य फेला पारेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको प्रहरीले आफ्नो प्रतिवेदनमा केशव दुलाल, सानु भण्डारी र रायमाझीले योजना बनाएको उल्लेख गर्ने तयारी गरिरहेको छ । प्रतिवेदन लेखनमा रहेका ती प्रहरीका अनुसन्धान अधिकृतले सुरुमा तीनजनाले योजना बनाएर यसको सुरुवात गरेको खुलेको अनुसन्धानमा जानकारी दिए ।

सानु भण्डारी र केशव दुलालले यसरी यस प्रकरणमा पैसा कमाउन सकिन्छ भन्ने योजना सुनाएपछि टोपबहादुरले सरकारी निकाय मिलाउने जिम्मा लिएरपछि योजना अघि बढेको थियो । रायमाझी र भण्डारीले एक अर्कालाई मामा–भान्जा भन्छन् । सानुले व्ववयवसायिक साथी केशव दुलाललाई सँगै राखेर योजना सुनाएपछि टोपबहादुर सरकारी निकायमा सबै मिलाउन तयार भएको देखिएको तथ्य फेला परेको अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले जानकारी दिए ।

टोपबहादुर तयार भएपछि तीनै जना मिलेर तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई भेटेर योजना सुनाएका थिए । भेटघाटको चाँजोपाँजो टोपबहादुरले मिलाएको दुलाल र भण्डारीले बयानका क्रममा प्रहरीलाई बताएका छन् ।

इन्द्रजित पनि योजना बनाउन सहमत भएपछि उनीहरुकै सल्लाहमा यो प्रकरणको सुरवात गर्न भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपाय पहिल्याउन भन्दै पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनेको देखिएको प्रहरी बताउँछ ।

गृहका अधिकारीमा सबैभनदा पहिला इन्द्रजित जोडिएका देखिएको प्रहरी बताउँछ । इन्द्रजितले यो प्रकरणमा तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीकलाई कन्भिन्स गराएको प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतीक गृहमन्त्री बादलका स्वकीय सचिव थिए ।

ठगी गर्ने धन्दाको सुरुवात २०७६ जेठमा भएको हो। त्यसबेला गृहमन्त्री बादल र गृहसचिव प्रेमकुमार राई थिए। राई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त छन् ।

गृहमन्त्री बादलले २०७६ जेठ ३० गते भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपाय पहिल्याउन भन्दै पूर्वसहसचिव पन्थीको नेतृत्वमा कार्यदल बनाएका थिए । कार्यदलमा दुलाल र भण्डारीको सिफारिसमा गणेशबहादुर केसीलाई विज्ञ सदस्य बनाएर घुसाइएको पनि प्रतिवेदनमा प्रहरीले उल्लेख गरेको छ । कार्यदलको सदस्य–सचिवमा गृहका शाखा अधिकृत दीपकप्रसाद न्यौपानेलाई पनि दुलाल र भण्डारीकै जोडबलमा राखिएको देखिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

कार्यदल बनेलगत्तै नक्कली शरणार्थीका नाममा जाने मान्छेको खोजी सुरु भएर एक व्यक्तिबाट १० लाखदेखि ५० लाख रुपैयाँसम्म उठाउन थालिएको प्रहरीले आरोपितको बयानका आधारमा प्रतिवेदन तयार पारेको छ ।

गृह प्रशासनमा सेटिङ मिलाएबापत टोपबहादुर रायमाझीले सानु भण्डारीमार्फत २ करोड इन्द्रजित राईले ५ करोड बुझेको आरोपितहरूले बयानमा उल्लेख गरेको प्रतिवेदनमा लेख्ने तयारी भएको प्रहरीले बताएको छ । २०७४ फागुन ११ गते गृहमन्त्रीमा नियुक्त बादलले झण्डै चार वर्ष चलाए ।

२०७८ असार २९ गते शेरबहादुर देउवाको नेतृत्वको मन्त्रिपरिषद्मा बालकृष्ण खाण गृहमन्त्री बने । गृहमन्त्री भएको एक महिना नबित्दै २०७८ साउन २७ गते टेकनारायण पाण्डे गृहसचिव बनाएर ल्याएका थिए खाणले ।

खाँणको पालामा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा रोकिएको कार्यदलको प्रतिवेदन पुनः गृह मन्त्रालयमै फर्किएको र त्यसमा थपघट गर्ने काम भएको देखिएको प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको जानकारी स्रोतले दियो ।

आफूहरूसँग पैसा उठाएको लामो समयसम्म पनि अमेरिका पठाउने तयारी सुरु नभएपछि पीडितहरूले एक वर्ष अघि उजुररी दिएका थिए । त्यो उजुरीपछि एक वर्ष अघि चैतमा दुलाल, भण्डारी र टंक गुरुङलाई प्रहरीले थानकोटमा पक्राउ गरेको थियो ।

तर, पक्राउ गरेकै राति गृहसचिव पाण्डेको निर्देशनमा प्रहरीले छोडेको थियो । गत चैत १२ गते दुलाल, भण्डारी टंक गुरुङ र सागर राई पक्राउ परेपछि यो प्रकरणको पर्दाफास हुने प्रकरण सुरु भएको हो । यो प्रकरणमा अहिले सुरुवातकर्ता पूर्वउपप्रधानमन्त्री टोपबहादुर, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जना पक्राउ परेका छन् ।

हिँजो शरणार्थी नेता टेकनाथ रिजाल र बिचौलियालाई सरकारी गाडी प्रयोग गर्न दिएको आरोपमा हज कमिटिका अध्यक्ष शमशेर मियाँ प्रहरीले पक्राउ गरेको छ । कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, टोपबहादुरका छोरा सन्दीप, इन्द्रजित राई, बालकृष्णका निजी सचिव नरेन्द्र केसी, बिचौलियाहरु सन्देश शर्मा, सागर राई, रामशरण केसी र गोविन्द चौधरी पनिलाई पक्राउ गरेको प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

यस प्रकरणमा ठगी, संगठित अपराध, किर्ते, राज्यविरुद्धको कसुर, भ्रष्टाचारलगायत मुद्दा लगाउने तयारीमा आफूहरू रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!