सप्तरीमा नेपाल र भारत सीमा छुट्याउने साढे चार सय स्तम्भ गायब छन् । नेपाल-भारत सीमा क्षेत्रमा कतै सीमा स्तम्भ गायब छ भने कतै भारतीय पक्षबाट सीमा मिचेर साना स्तम्भ गाडिएको छ । ‘ठूलो पिलर र सानो पिलरको फरक हेरे सजिलै नेपाली सीमा मिचिएको छुट्याउन सकिन्छ’, तिलाठी कोइलाडी गाउँपालिका १ का ६८ वर्षीय जगतानन्द झाले भने ।

नेपाल-भारतको सिमानामा मुख्य ३४, सानो २८३ तथा सहायक समेत गरी ६५० सीमा स्तम्भ अवस्थित हुनुपर्ने हो । अहिले दुई सय मात्र रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

गत वर्ष फेला परेको २०२ स्तम्भमध्ये पातो र रामनगर कोदरकट्टीका दुईवटा स्तम्भ यस वर्ष खोलाले बगाएको सशस्त्र प्रहरी बल ६ नम्बर गणका एसपी उद्धव न्यौपाने बताउँछन् ।

हराएका स्थानमा नयाँ नबनाइएकाले र पुराना स्तम्भ मर्मत नगरिएकाले भारतीय अतिक्रमण बढेको र भारत बिहार सुपौल जिल्ला कुनौलीका बासिन्दाले दसगजा क्षेत्रमा खेती गरिरहेको स्थानीय बताउँछन् ।

२२३ नम्बरको मुख्य स्तम्भ चार÷पाँच दशकअघि करिब सात सय मिटर दक्षिणतर्फ रहेको सीमारक्षक देवनारायण यादव दाबी गर्छन् । उतिबेला सखुवा काठको स्तम्भ बाढीले बगाएपछि भारतले सीमा मिचेर सिमेन्टको बनाएको उनको भनाइ छ । यादवले भने, ‘कहिले जमिन अतिक्रमण गरेर, कहिले नाकाबन्दी त कहिले नयाँ नक्सा सार्वजनिक गरेर अनि नदीमा जबरजस्ती बाँध बाँधेर भारतले दुःख दिइरहेको छ ।’

सीमा मिचेर स्तम्भ गाड्न थालेपछि दुई दशकअघिदेखि विरोध गरेको तिलाठी कोइलाडीका ६६ वर्षीय राजनारायण झाले बताए । उनले भने, ‘नेपाल-भारतको संयुक्त टोलीले देखाएको स्थानभन्दा भारतीय एसएसबीले दबाबमा सीमा मिचेर फरक ठाउँमा गाडेको हो ।’

तिलाठी कोइलाडी र कुनौलीस्थित नेपाल र भारत सिमामा रहेको दशगजा क्षेत्रमा लगाइएको धानबाली काट्दै एक भारतीय महिला । तब्बिर : मनोहर पोखरेल

दसगजाछेउमै खेत भएका ५५ वर्षीय नवीन झाले पिलर नम्बर २२३÷६ देखाउँदै भने, ‘वास्तविक सर्भे हुने हो भने यो पिलर पाँच सय मिटर दक्षिण पुग्छ ।’

भारतले सीमा हेर्न ३-३ किलोमिटरमा एसएसबीको क्याम्प राखे पनि नेपालतर्फ प्रहरी उपस्थिति अत्यन्त पातलो छ । सशस्त्र डीएसपी बद्रीनारायण चौधरीका अनुसार सीमा सुरक्षार्थ बोदे बर्साइनमा सुरक्षा बेस क्याम्प तथा रामनगर कोदरट्टी, छिन्नमस्ता, पातो, बननियाँ, तिलाठी, को. बर्साइनमा बोर्डर आउट पोस्ट छ । सप्तरीमा कोसी नदीदेखि पश्चिम बलान खोलासम्म भारतसँग जोडिएको नेपाली सीमाको लम्बाइ ७८ किलोमिटर छ ।

सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको ध्यान भन्सार नाका छलेर आउने-जाने अवैध समान रोक्न केन्द्रित रहेकाले सीमा अवलोकन, निरीक्षण र सुरक्षा हुन नसकेको स्थानीयको गुनासो छ । सीमावस्था गन्जागोल रहेको र २१ स्थानमा दसगजा छुट्याउन नसकिने अवस्थामा रहेकोले आँखाले हेरेको र बुझेको भरमा सीमा चलिरहेको सशस्त्र प्रहरीको भनाइ छ ।

‘आफ्नो स्वाधीनता बचाउन हामी सबै एकजुट हुनुपर्छ । भारतीय ज्यादतीविरुद्ध जनता बोलिरहेका छन् । सरकार पनि प्रस्ट बोल्नुपर्छ’, सीमारक्षक यादव भन्छन्, ‘अतिक्रमित सम्पूर्ण जमिन फिर्ता गराउन राजनीतिभन्दा माथि उठेर सबै एकजुट हुनुपर्छ ।’

 

साभार: अन्नपुर्ण पोष्ट (मनोहर पोखरेल)

 

Comments

comments