‘अनु के पारा हो तेरो कपिलको फोन किन नउठाएकी तैंले ?’ मैले उसलाई देख्नासाथ भनें ।

‘ह्या छोड्दे आफ्नो जीवन हो यार निर्णय पनि आफ्नै हुन्छ । अमेरिकाको केटासंग बिहे हुँदैछ मेरो । परिवार नी खुसी छ मेरो नि करिअर बन्छ । के गर्नु मैले नि धोका दिन्छु भनेर कपिललाई मन पराएको होईन नि, परिस्थती यस्तै भो भनेर तँ नि बुझ् । यो हुलाकीको जागीर छोड्दे ।’ उसले हाँस्दै भनि

‘कपिलले आत्महत्या गरिदिन्छु भनेको छ रातदिन रक्सी खाएर सुर न बेसुरको भएको छ । तँलाई यहाँ कल्पनाको गगनमा उडाँन भर्दैको ठिक छ ।’ मैले झोक्कीदैं भने ।

Sushma Devkota

उ अनौंठै कुरा सुने झैं निधारको भृकुटी खुम्च्याउँदै भनि ‘के अचम्म हो एउटा केटीले छोड्दैमा आत्माहत्या गर्ने रे ? मैले अर्को पाउँदा उसले नि पाउँछ होला नि ।’ फेरी आफ्ना गाजलले कोरेका सुन्दर आँखाहरुमा केटाकेटीपन मिसाएर झोक्किई उ ‘अनि तँ चाहिँ उसलाई सम्झाउनुको साटो के मलाई लेक्चर दिई रहेको नि । य छोड्दे के मेरो ब्वाईफ्रेण्डको मलाई नै पिर छैन तँलाई चाहिँ के को माया लागेको हो ।’

‘तँलाई यो कुराले कुनै फरक परेको छैन ?’ मैले उसका मुस्कुराई रहेका प्रश्न सुचक आँखामा हेरेर भनें ।

‘अरे यार तँ के कविको जस्तो कुरा गरिरहेको के ? आफन्तवाट आएको कुरा हो, मलाई नि मन पर्यो केटा । जीन्दगीले बार बार मौका दिँदैन । उ हेर्नमा मात्र होईन सबै कुरामा मेरो टाईपको छ । रोमान्टीक छ, लाउन खान जानेको, तौर तरिका जानेको । तँलाई मन परेन ? अस्ती फेसबुकमा देखाएको थिएँ त फोटोहरु ।’ उसले उल्टो मलाई प्रश्न गरि ।

हो केटा राम्रो छ तर कपिलसंग पनि तैंले बाचा गरेको थिईस् त तिमीसंगै बिहे गर्छु बेबी भन्दै कोठामै पुग्थीस् मायाँ जताउन । तेरो त सेक्स सम्म भै सकेको केटा हो कपिल ।

सिन्दुर नपर्दा सम्म सबै केटी कुमारी नै हुन्छन् पारु । बन्द कोठाभित्र कपिल र मेरो जे जे भयो त्यो हामीलाई मात्र थाहा भएको कुरा हो । त्यसमाथी सहमतीमा भएको सेक्सलाई लिएर यति साह्रो सिरियस हुनुपर्छ भन्ने मलाई लाग्दैन । भनि हाँले त अस्तिनी कपिल मन परेथ्यो अहिले यो मन पर्यो मेरो के दोस ? दोस नै हो भने मनको होला मेरो त होईन ।

भोली यो कुरा तेरो बिहे गर्ने केटाले थाहा पायो भने ?

कसरी थाहा हुन्छ म खानदानी परिवारको छोरी हुँ, आफन्तले शिल स्वभाव राम्रो भएको केटी भन्छन् । यहाँ कत्रो तारिफ छ मेरो यो जमानामा नि फलानाकी छोरीले बाउ आमाले नै भनेको ठाउँमा बिहे गर्न मानि खुरुक्क भनेर । बिहे गर्नेले भर्जिन हो की होईन भनेर थाहा पाउने गरी के विग्रीएको छ र ? यहाँ एउटै पुरुषसंग मात्र शरिर साटेका बिधवा र डिभोर्स भएका केटीहरुलाई बिहे गर्न मान्दैनन् मान्छे । तर धेरै जनासंग शरिर साटेर पनि सिन्दुर नपरेका केटी कुमारी कहलिन्छन् भने मेरो त जावो एउटासंग बिहे अघि सेक्स भएको के ठुलो कुरा भयो र ?उसले हावाले उडाँईरहेको कपाललाई समेटेर जुरो पार्दै भनि ।

म ट्वाल्ल परेर उसको बेदाग सुन्दर अनुहार हेरीरहे । म चुपचाप हेरीरहेको देखेर उसले हाँस्दै भनि ल ल ३ जनै संग भएको हो । तैंले फेरी एक जना भनेपछि पुरै गम्भिर नै भएर हेरिस् त । जे भयो सक्कियो अरुले जस्तै कपिलले पनि बिर्सन्छन् भोली । अर्को नपाउँदा सम्म मात्र हो याद आउने ।यत्ति हो कपिलसंग चाहिँ साँच्चै लभ परेको थियो यार मेरो ।

म बिग्रेको केटी हो र ? जसको नि हुन सक्छ नि यस्तो त मन मिल्यो, शरिरको माग पनि थियो होला भयो सक्कियो । मैले बिहे गर्ने केटा चाहिँ आज सम्म केटीको अनुहार नी नहेरी बसेको होला र ? भयो होला नि उसको पनि । अव के जो जो संग सेक्स भयो उसैसंग बिहे गर्दै जानु ? यति भनिसकेर उ फेरी जिस्कीई तँलाई नि उतै बोलाउँछु नि म एउटा केटा खोजेर ।

यस पटक म पनि फिस्स हाँसे र भने तँ मान्छे चाहिँ पागल होस् यार कमसेकम कपिलसंग छुटेर अथवा केही बहाना देखाएर यता बिहे फिक्स गरेको भएपनि हुन्थ्यो । उता उ मर्न लाछ यता यसको अनेक प्लान छन् अमेरिका गएपछि यो गर्छु र उ गर्छु ।

उ जोडले हाँस्दै भनि ‘हेर पारु अव तँ नि केही सिक् के म बाट । म गएर केटा खोज्छु तँ बिहे गर अनि त मस्ती के । बेला बखतमा तेरो भाषण सुन्न नि पाईयो संगै भएपछि, भन्न नि पाईयो नि तँलाई, मैले गर्दा अमेरिका आउन पाईस् भन्दै बेला बेलामा ।

मेरो रिसाएको अनुहारमा हेर्दै फेरी थपी ‘अरुले सुन्दा नि कस्तो राम्रो के अनिताले अमेरिकाको ग्रिनकार्ड होल्डर केटा पाई । बुवा आमाको नि ईज्जत फुलचोकीको डाँडा भन्दा नि माथी पुग्यो । आफन्त नि सबै मेरै पछि लाग्नेछन् । तेरो नि त भाउ बढ्यो नि अव, बेष्ट फ्रेण्ड नै अमेरिकामा भएपछि । पैसा नी पठाईदिन्छु तँलाई पार्टी गर्दे मेरो अनुको तर्फबाट भनेर ।’

‘हेर त कति लक्की म । टक्क अमेरिका जाने हो, उसले चलाउने गाडीमा बसेर सरर अमेरिका घुम्ने हो । समुन्द्रको छेउमा बसेर टङ किस हान्ने हो । तँलाई नि पठाईदिउँला २-४ वटा सेल्फी । सेक्स पनि गज्जव हुन्छ होला । सासु ससुरा हुँदैनन् बुढा बुढी अमेरिकन बियर खाने हो, पुरा फ्ल्याटको ठाउँ ठाउँमा रोमान्स । ‘उसले यति भनेर फेरी जोडले हाँसी । उसको हाँसो सुनेर वरिपरीका टेवलमा कफि र चियामा रमाईरहेका आँखाहरुले हामीलाई हेरे ।

हो सब तैंले सोचेकै जस्तो होलानी । कति दुख छ होला उता केटालाई ।

दुख त जहाँ बसेपनि गर्नुपर्छ । त्यसमाथी अमेरिकामा यहाँको जस्तो दुख हुँदैन । हाईफाई लाईभ स्टाईल हुन्छ । पैसा भएपछि सब पाईन्छ त्यहाँ ।

साँच्चै तैंले यस्तो सोचेकी छस् भन्ने कुरा त्यो केटा र उसको परिवारलाई थाहा छ ?

उसले आँखामा चन्चलता भर्दै भनि हेर मागी बिहे हो । केटाको परिवार सुशिल कन्याको खोजिमा रहेछन् । त्यसमाथी म घरमै पनि सबैभन्दा सोझो मै पर्छु । के जान्छ मेरो, बिहे छिनेको दिनदेखी कुर्ता सलवार लाउन थालेको छु, केटा र उसको परिवारले फोन गर्दा हजुर, हो, खाना खाईस्यो, के गर्दै होईसिन्छ जस्तो कुरा मधुर आवाजमा बोलेपछि सबैलाई मेरो स्वभावकको गतिलो प्रभाव पर्छ । बाँकी कुरा त बिहे पछि आफ्नो बुडालाई मनायो, खुसी पार्यो भने आफ्नै ईसारा चलिहाल्छ नि ।

‘भनेपछि कलाकार बन्न पनि सुरु भयो तेरो’ मैले हाँस्दै भने ।

सबैजना कलाकार नै त हुन् नि । कथाले जे माग्छ अभिनय त्यहि गर्ने हो केटी । उसमाथी मैले त्यत्रो योजना के बनाएको छु र एउटा सुखी बैबाहिक जीवन बाहेक । उसलाई धोक दिएर अरुसंग २ ४ दिनलाई रोमान्स गरौंला भनेर सोचेको भए पो पाप ।

अभिनय चाहिँ किन नि उसो भए जस्तो छस् त्यस्तै भन्दा पनि तँ ठिकठाक छस् त ।

अघि नै भने नी कथाले मागेपछि अभिनयको शैली पनि फरक फरक हुन्छ । अहिले मलाई अमेरिका जानु छ, यति सानो कुरामा कम्परमाईज गर्न जानिन भने हातमा आएको भाग्य नि गुम्छ ।

तेरो र त्यो केटाको बिचार नमिल्ने रहेछ भने ?

उसले मेरो गम्भिर अनुहारमा हेर्दै भनि ‘दुध दिने गाईको लात्ती पनि सहनुपर्छ भन्ने उखान थाहा छ तँलाई ? तँ यो चुरोटको धुँवा जस्ता कल्पनामा बाच्ने मान्छे, तेरो नजरको स्वतन्त्रता र मेरो नजरको स्वतन्त्रता अलग छ । हेर तँ आफ्नो भन्दा ज्यादा आफु निकट मान्छेको मनलाई सोच्छेस् र पनि तँलाई मान्छेहरु अभद्र सम्झन्छन्, असामाजिक ठान्छन् । रक्सी म पनि पिउँछु चुरोटको स्वाद मलाई नि थाहा छ, कयौं पटक तँ संगै पिएको पनि छु । तर तैले जस्तो खुलेआम भन्दिन केटीलाई यो अधिकार छ भनेर त्यसैले समाजले मलाई नै राम्रो भन्छ । म त भन्छु तैंले जीवन जिउन जानिनस् । शैली ठिक हो तर सन्धर्व मिल्दैन तेरो सोच र समाजको वास्तविकता बिच ।

‘त्यहि केटाले तँलाई हेरेको भएपनि यो केटी ठिक छैन मलाई भनेर सोझैं रिजेक्ट गर्दिन्थ्यो होला अझ परिवारले त तेरो चरित्रमै औंला उठाउँथ्यो तर मलाई हेर् एक नजरमै फिदा भए सब । अव भन् तँ स्वतन्त्र छस् कि म ?’

सुनेर म मुस्कुराएँ, उसले भनेको कुरा सत्य थियो त्यसैले मैले मुस्कुराउनु बाहेकको विकल्प देखिन ।

चित्त बुझ्यो ? उ आँफैंले हाँस्दै सोधी

म फेरी आँखी भौं उचालेर हाँसिदिएँ, उसले बुझी र भनि ‘तर्क गर्न हामीलाई नि आउँछ के नानी ।’

साँझको एक झोक्का बतासले अनुको जुरोमा नसमेटिएका केसहरुलाई सुमसुमाएर गयो जसरी बैसालु ह्रदयलाई एक भल्को तरंगीत बनाएर नबोली बाटो लाग्छ कुनै सुन्दर चेहेरा । मैले एकपटक उसलाई सम्झिएँ जसलाई मेरो मनले प्रेम गथ्र्यो । बेनाम प्रेम, जसको बारेमा सुनाउने जस्तो कहानी कोरिएको छैन यो २ बर्ष सम्म पनि ।

कफिको बिल बुझाएर दरबारमार्गको झिलमिल साँझ नियाल्दै अनु र म घर फर्किदैं थियौं । अमेरिकाबाट उसको भाईबरमा कल आयो । उसले फोन उठाएर मिठो लवजमा गुड मर्डिङ भनि । त्यसपछिका उनिहरुका संवादहरुमा अनुको सालिनता कुनै दुर गाउँकी लज्जावती किशोरकी भन्दा पनि कोमल सुनियो । जसरी उसले अघि मलाई भनेकी थिई । मधुर आवाजमा मिठा शब्द मिसाएर बोलेपछि शिष्टता र चरित्र दुवैको प्रभाव बलियो बन्छ ।

म यो पटक पनि हाँसे तर मन मनै र उसलाई सम्भिएँ उ बेला बखत भनिरहन्छ ‘अक्सर मान्छेहरु भ्रममा खुसी हुन्छन् ।’

Comments

comments