१२ बर्ष अघि रौतहटको राजपुरमा आफ्ना कार्यकर्तालाई जिउँदै ईट्टाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई नख्खु कारागार चलान गरिएको छ । शुक्रबार जिल्ला अदालत रौतहटको आदेशले ज्यान मार्ने उद्योगमा पक्राउ परेका नेता आलमलाई शनिवार विहान रौतहटबाट नख्खु कारागार ल्याईएको हो ।

आलमलाई जिल्ला कारागार गौरमा राखिने कुरा भएपनि सुरक्षित कारागारमा राख्ने अदालतको आदेश अनुसार आलमलाई रौतहटवाट काठमाडौं ल्याईएको हो ।

कारागार व्यवस्थापन विभागका कामु महानिर्देशक वासुदेव घिमिरेले आवश्यक प्रक्रिया पुर्याएर आलमलाई नख्खु कारागारमा राखिएको बताए। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले शनिबार बिहान ललितपुरको नख्खु कारागार ल्याईएका आलमलाई पुर्पक्ष गरिएपछि उत्पन्न हुनसक्ने परिस्थितिको आँकलन गर्दै रौतहटबाट उपत्यका कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो। विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा असोज २६ गते आलम पक्राउ परेका हुन्।

अनुसन्धानका क्रममा दर्जनौ व्यक्तिसँग बयान लिइएको प्रहरीले जनाएको छ। पूर्वप्रहरी, त्यस समय राजपुरमा खटिएका प्रहरी अधिकृत, प्रत्यक्षदर्शी, घटनाका घाइते भनिएकासँग प्रहरीले बयान लिएको थियो। मृतक तथा घाइते ओसार्न प्रयोग गरेको भनिएको ट्र्याक्टर तथा घाइतेको उपचार गरिएको भारत मोतिहारीस्थित अस्पतालको रिपोर्ट प्रहरीले संकलन गरेको छ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लो पटक जिल्ला प्रहरी कार्यालयलाई १२ वर्षअघिको घटना अनुसन्धान गर्न पत्राचार गरेको थियो। त्यसपछि उक्त घटनाका मुख्य आरोपित नेता आलम पक्राउ परेका हुन्।

 

Comments

comments