बंगलादेशमा जारी एसीसी इमिर्जिङ टिम एसिया कपमा नेपाल हङकङविरुद्ध ४० रनले विजयी भएको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले हङकङलाई २१८ रनको विजय लक्ष्य दिएको थियो । उक्त लक्ष्य हङकङले भेट्टाउन सकेन । उसले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १७७ रन मात्र जोड्न सक्यो ।

नेपालको जितका लागि शरद भेषवाकरले सर्वाधिक ८९ रन जोडे । उनले १३९ बलको सामना गर्दै ९ चौका हिर्काए । त्यस्तै आरिफ शेखले ४२ रनको योगदान गरे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७ रन र विनोद भण्डारीले १५ रन बनाए ।

नेपालले खराब सुरुवात गरेको थियो । पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा नेपालको स्कोर ३ रन मात्रै थियो । कुशलले बिहीबार भारतविरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका थिए । ज्ञानेन्द्र भने भारतविरुद्ध पनि पहिलो ओभरको दोस्रो बलमा शून्य रनमै आउट भएका थिए ।

त्यसपछि उपकप्तान दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले इनिङ सम्माले । शरद र उपकप्तान दीपेन्द्र ऐरीले तेस्रो विकेटका लागि १२४ बलमा ८३ रनको साझेदारी गरेका थिए । त्यसपछि आएका आसिफले पनि शरदसँग ९६ बलमा ७४ रनको साझेदारी गर्दा नेपालको सम्मानजनक स्कोर बनेको हो ।

हङकङका लागि ऐजाज खानले ३ विकेट तथा नस्रुल्ला राना र इशान खानले २/२ विकेट लिए ।

यसैगरी २१८ रनको लक्ष्य पछ्याएको हङकङ नेपाली बलरसामु निरीह देखियो । उसका प्रारम्भिक सबै ब्याट्स्म्यान सस्तैमा समेटिए । तर पाँचौँ क्रममा आएका किन्चित शाहले हङकङको रन उकासे । उनले ८० बलको सामना गर्दै ५३ रन जोडे । त्यस्तै इशान खानले ४४ रन जोडे ।

नेपालका लागि करण केसी र अबिनाश बोहराले ३/३ विकेट लिए । ९ ओभर बलिङ गरेका अबिनाशले २ मेडन राख्दै मात्र ३२ रन खर्चिए भने करणले पनि १ मेडन राखे। यसैगरी सुशन भारीले २ विकेट हात पारे ।

पहिलो खेलमा भारतसँग हार व्यहारेपछि नेपाललाई समूह चरण पार गर्न यो खेल जित्नै पर्ने दबाब थियो । तर आजै भएको अर्को खेलमा बंगलादेशले भारतलाई ६ विकेटले पराजित गरेपछि समूह चरण पार गर्ने यात्रा कठिन देखिएको छ ।

नेपालले अब बंगलादेशको यू–२३ टिमसँग सोमबार भिड्नेछ । यो खेल जितेमा ३ खेलबाट नेपालको ४ अंक हुनेछ । त्यसपछि हङकङले भारतलाई हराएमा नेपालको अघिल्लो चरणको यात्रा सहज हुन्छ । तर हङकङले भारतलाई जित्न कठिन छ । यस्तै नेपालले ठूलो अन्तरमा बंगलादेशलाई हराएमा र भारतले हङकङलाई सानो अन्तरमा जितेमा रनरेटका आधारमा नेपाल अघिल्लो चरण प्रवेश गर्न सक्छ ।

स्रोत: अन्नपूर्ण पोष्ट

Comments

comments