म राम्रोसंग राजतन्त्र भोग्न नपाएको मान्छे हुँ, त्यसैले गणतन्त्रकै बारेमा धेर थोर जान्दछु । भाषणमा भन्दा संगीतमा शक्ती हुन्छ भन्ने मान्यता राख्ने म बेला बखत माओवादी द्वन्दकालका रक्तीम गीतहरु पनि सुन्छु देश कति फेरबदल भएछ भन्ने थाहा पाउन । प्रचण्ड नाचेनन् कि, हिसिला यामी नाचिनन् कि बामदेव नाचेनन् कि ? शेर बहादुर देउवा पनि नाचे, सबै नाचे नाचिरहेकै छन् । तर जनता सरह भै सकेका हाम्रो देशका हटिसकेका राजा र उनका परिवार सदस्यको नाचप्रति यति धेरै चर्चा किन ? यो नाच प्रशंग चर्चित बनाउनमा गणतन्त्रकर्मीहरुकै हात छ ।

[ बिचार – सुष्मा देवकोटा ]

भन्न त नमिल्ला तर मनमा यस्तो पनि लाग्छ, कालापानी र लिपुलेकको सिमा मिचिएकै बेला पूर्व राजाको यो नाच हामी प्रतिको ब्याङ्ग्य हो भन्ने आभाष बर्तमान राजनिती कर्ममा रहेकाहरुलाई हुनुपर्छ होईन भने राजगद्धीबाट हटिसकेको पनि लामो समय भै सकेका राजा, आम नागरिक सरहको जीवन यापन हुनुपर्छ भनेर बेला बखत छोराछोरीको समेत सम्पत्ती छानविन गर्ने यो गणतन्त्रलाई उनको नाईट क्लवको नाच यति भारी र चासोको बिषय किन बन्दैछ ?

यो नाच जनताका कारण चर्चित भएको होईन, ज्ञानेन्द्र शाहको नाच प्रति लक्षित नेता र कार्यकर्ताका भाषण, अन्तरवार्ता र फेसबुक स्ट्याटसका कारण भाईरल भएको बिषय हो । हुनसक्छ उनिहरुले सोचेकै जस्तो पूर्व राजाले देश डुब्न लाग्दा देख्यौं कस्तो हुँदो रहेछ देश चलाउन ? भनेर खिल्ली नै उढाएको पनि । यो हो भनेपनि आश्चर्य भएन कमसेकम गणतन्त्रका पक्षधरहरुलाइर्, किनकी आम नागरिकले आफ्नो भडास पोख्न पनि सक्छ । उनि ननाचेर मेरो देश गयो भनेर कोठामै रोएर बसेको भएपनि उनले गर्न सक्ने केही होईन यो अवस्थामा । किनकी उनलाई देश बचाउन पर्यो ज्ञानेन्द्र जी सम्म भन्न कोही गएको छैन होला त्यसैले उनि नाच्न गायन जानु उनको निजी कुरा हो । उसैपनि यहाँ बषेर भाषण गर्नेहरु पनि कालापानी र लिपुलेकमा पहरा दिन गएका छैनन् कोही भने उनको के कुरा ।

पुण्य गौतम भन्ने ब्यक्तीले लेखेछन् ‘नेपाली सीमा लुटिँदा देश आन्दोलित छ कालापानी भारतलाई बुझाउने महेन्द्रपुत्र डान्स बारमा बुहारीसंग नाच्दैछन् ।’ यो स्ट्याटसले पढेर पनि उदेक लाग्यो, उनका जस्तै अरु पनि स्ट्याटस सार्वजनिक भै रहेका छन् , अरे यार यहि देश बेचे, जनताको हितमा काम गरेनन् भनेर त उनलाई हटाएर अहिलेका नेताहरुलाई ल्याएको हो । उनको नाच हेरेर बस्ने समय हो कि अहिले अतिक्रमणमा परेको भुमी बचाउन लाग्ने हो ? उनि जनता हुन् डान्स बार गएका थिए, रमाईलोले गए या बिरहले गए जे होस् गए, उनि गएकै कारण त्यो रात देशभक्ती गीत बज्यो नाईट क्लवमा उनि नाचे, उनकी बुहारी नाचिन् छोरी नाचिन् । नाचे आए । यो नाच कसरी त्रासदी बन्यो र यसबारे बोलेर समय बर्बात गरिरहेछन् गणतन्त्रप्रेमी ब्यक्तीहरु यो पनि अचम्मकै कुरा हो ।

जो जो ले यस्ता भाषण अन्तरवार्ता र स्ट्याटस लेखे उनिहरु पनि कालापानीमा खुकुरी र चन्द्र सुर्य झण्डा बोकेर गएका छैनन् । जति जागेका छन् साधारण जनता जागेका छन् । बरु बिदेशी नागरिकता लिएर पनि बिदेशी भुमीमा रहेका नेपालीको चित्त दुखेको पाईएको छ । उनिहरुको देशभक्ती निश्वार्थ छ मेरो बुझाईमा नत्र डलरको कमाईहुने जागिर छोडेर झण्डा बोक्न कोही जाँदैन । बेकार छ उनिहरुमा देश प्रेम छैन भनेर हामीले भन्नु । जवकी उनिहरुकै कारण पनि सुरक्षित छ नेपाली मौलिकता । हाम्रो भन्दा राम्रो चाडवाड र रितिरिवाज उनिहरुले अपनाउँदै आएका छन् । भलै त्यो ब्यक्तीगत फाईदाकै लागि होला तर यता बस्नेलाई त देशको झण्डा बोकेर काम नहुने अवस्था छ उताकाले के फाइदा लिनु ?

हटिसकेका राजा जसलाई तिमीले देश बेचेउ, देशको ढुकुटी रित्याउ, गरिव र कमजोरलाई दमन गरेउ हामी देश बेच्दैनौं बचाउँछौ भनेर उनलाई हटाएर ल्याएको लोकतन्त्र, गणतन्त्रका अनुयायीहरु यतिबेला ज्ञानेन्द्रले नाचे, महेन्द्रले र त्रिभुवनले यो गरे उ गरे भन्दै बस्ने हो की लिपुलेक र कालापानी जोगाउन लाग्ने हो ? अरे यार यहि सबथोक भएर र राजा हटेर गणतन्त्र आएको हो, यसकै लागि निर्वाचित भएका हुन् नेताहरु सक्रिय भएका हुन् कार्यकर्ता । आ-आफ्नो भुमिका र कर्ममा लाग ज्ञानेन्द्र नाचुन् कि, पारसले केटी घुमाउन् यो उनिहरुको निजी कुरा हो बर्तमान समयमा । उनी त नाच्न पाउँछन् भने उनका छोरा केटी लिएर हिड्नु के नौलो भयो, जवकी आफ्नै पिता सत्ताको जिम्मेवारीमा भएकै समय पनि बहु बिहे गर्ने छोराहरुका बुवा हुन् हाम्रा नेता । देशका सभामुख त बलत्कारको आरोपमा थुनामा छन् उनि भन्दा कान्छा जनता पारस शाहले केटी घुमाउनु के आश्चर्य र त्यसको बिरोध गर्नु ।

‘देशको लायक भएनौ हामी चलाउँछौ’ भनेर सबै मिलेर आजबाट तिमी पनि हामी जस्तै जनता भएउ भनेर घोषणा गरिसकेको ब्यक्ती जसले बिपतमा परेका ब्यक्तीलाई सहयोग गर्न पनि सरकारको अनुमती माग्नु पर्छ भने उनि नाच्नुले यो देशलाई के फरक पर्छ र बिभिन्न च्यानलमा अन्तरवार्ता, फेसबुक स्ट्याटस राख्दै राजनिती कर्मका पक्षधर हिँड्नुपर्यो ? उनका बाले बेचुन् कि उनले ? त्यहि राम्रो काम गरेन हामी गर्छौं भनेर उनलाई हटाईसकेपछि उनको के अर्थ र नाचागानको कुरा ? उनि जे सुकै गरुन आफु आफ्नो भुमिकामा परेको काम गर र देश बचाउने अभियानमा लाग ।

यहाँ नाकाबन्दी लाग्यो, सुनकाण्ड ओझेलमा पर्यो, निर्मलाका बलत्कारी पत्ता लागेकै छैनन्, टिकापुर काण्ड पनि रेसम चौधरीको पक्राउले मात्र सक्कीने घटना होईन त्यो पनि सेलायो हत्या हिंसाका घटना त पर परका कुरा सभामुख नै बलत्कारको आरोपमा जेलमा छन् । अर्का नेताले कार्यकर्तानै जिउँदै जलाएका रहेछन् । एउटा घटना लुखाउन अर्को ठुलो घटना घटिरहेछ भन्ने सोचाईपनि धेरै जनतामा भेटिन्छ । के गर्नु शंकानै गर्नुपर्ने कृयाकलाप नेताहरुको छ ।

अस्ती फेरी प्रधानमन्त्रीले एक कार्यक्रममा सांकेतिक भाषामा बिदेशी सेना फिर्ता लैजाउन् भने । यस्तो अवस्थामा नामै किटेर भारत भन्न नसकेका उनले सेना फिर्ता गलान् भन्ने विश्वास कहाँ नेर छर अहिलेको अवस्था र नेताहरुको तालमाल हेर्दा ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा ग्रेटर नेपालको मागमा बर्षौंदेखी आवाज उठाईरहेका फडिन्द्र नेपाललाई कहिले एरपोर्टबाटै त कहिले घरबाट पक्राउ गरेर थुनामा राखियो । उनले कालो झण्डा देखाउने धक्कीका कारण उनि थुनिएका हुन् । खाषामा उनि थुन्नुपर्ने होईन भारतिय प्रधानमन्त्रीसंग सालिन बार्तामा नेपालले उभ्याउनु पर्ने ब्यक्ती हुन् जो देशको सिमानाको बारेमा बोलिरहेछन् । अहिले फेरी तिनै नेपालले कात्तिक २७ गते नेपाल–भारत सिमानाको नेपाली भूमि संरक्षणका विषयमा दायर गरेको रिट निवेदनलाई अग्राधिकार दिएर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासमा सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गर्दै १५ दिन भित्र लिखित जवाफ माग गरिएको छ ।

फडिन्द्र नेपालले सन् १९५० जुलाई ३१ का दिन नेपाल भारत शान्ति तथा मैत्री सन्धि भएर धारा ८ ले सुगौली सन्धि रद्ध गरेको भएपनि भारतले आफ्नो अधिनस्त भुमिको २ तिहाई नेपाली भुमि आजसम्म फिर्ता नगरेको बिरोधमा पटक पटक आवाज उठाउँदै आएका छन् । यो बिषयलाई आवाज उठाएका नेपालको माग हिजोको दिनमा सुनेको भएपनि भारतले हाम्रो भुभाग आफ्नो नक्सामा छाप्ने हिम्मत नगर्न पनि सक्थ्यो या गरेनै पनि हामी एक किशिमको तयारीमा हुन्थेउँ, अचानक छापिएर आउँथेन, कालापानी, लिपुलेख र लिम्पियाधुरा भारतिय मानचित्रमा ।

द्वन्दकालमा गाउँ गाउँमा गुन्जियो
हिउँ फुटे हिमनदी जनता जुटे जनसागर
औंसीको यो रात पनि हट्छ छिट्टै चिन्तै नगर ।

यो गीतले दिएको आश्वासन राजा लक्षित मात्र हो कि नेपालको संरक्षणका लागि उठ्नुपर्ने आवाज हो ?  ‘रातो लाल्टिन’ र ‘रातो सलाम’ लगायतका गीतहरु पनि क्रान्तीको बिगुलमा घन्केका लोकप्रिय गीत हुन् । त्यहि रातो लाल्टिन बालेर सिमानाको सुरक्षामा खोई खटेको गणतन्त्र ? त्यो रातो सलामको तागत सक्किसकेको हो ? यावत् पश्न बिचमा देश अल्झीरहेको समयमा ज्ञानेन्द्र शाहको नाच हेर्ने र बहस गर्ने समय हो की नेपाली झण्डा संगै आ-आफ्ना राजनितीक झण्डा बोकेर नेता कार्यकर्ताले सिमानामा गाड्ने समय हो अहिले ? उनिहरुले दादागीरी गरेकै हुन् यसलाई लडाईको बिषय बनाउन मन नभए जाउ भारत भ्रमणमा । अरु बेला दुनिया देश घुम्ने नेता,  प्रधानमन्त्री र राष्ट्रपति यो पटक एकजुट भएर सिमा अतिक्रमण रोक्न भारत भ्रमणमा जाँदा के बिग्रन्छ ? यस्तो अवस्थामा भारतलाई नेपाल चाहिएको होईन नेपाललाई भारतसंग कुरा गर्नु छ । जान पर्यो आफैं उता वार्ता गर्न ।

जे होस् पूर्वराजाको यो पटको नाच सिमा अतिक्रमणकै समय भयो यो एक संयोग थियो या जाना जानी गरिएको थियो त्यो ज्ञानेन्द्रलाई नै थाहा होला । तर उनको यो नाचले गणतन्त्रका अभियन्ता र कार्यकर्तालाई चुनौती थपिएको छ । पृश्वी नारायण शाहले २० बर्षको उमेरमा एकिकरण गर्न सुरु गरेको नेपाल उनका साना दुखले आज्र्याको मुलुक पक्कै होईन । दुई ठुला ढुगांबिचको कमजोर र मिठो तरुल छिमेकीको पौरख बन्छ र नक्सामा छापिन्छ भने आफ्नै देशको तरुल अर्काले लगेर आफु भोकै पर्दा सम्म टुलुटुलु हेरेर बस्ने हामी इतिहास रचेका बिरका सन्तानका लागि अत्यन्त लज्जास्पद कुरा हो । यहाँ नेपाली भुमिनै बिदेशको भै सक्यो अझै उ राजा म मन्त्री भन्ने बेला छ ? राष्टकवि माधव प्रसादले भने झैं नेपाली हामी रहुँला कहाँ नेपालै नरहे ?

माथीका धेरै सन्धर्व कम्युनिट बिचारधारा र माओवादी लक्षित छ किनकी गणतन्त्र नै माओवादीको जनयुद्धले आएको हो । काँग्रेसको एउटा गीत ‘विपी यसै भन्नुहुन्थ्यो’ पनि देश र जनताकै महिमा बोकेको गीत हो । राप्रपा नेपालले पनि यो समय आलोचना बाहेक अर्को केही गर्न सकेको छैन । सबै भन्दा सजिलो भनेकै अरुलाई उपदेश दिनु हो त्यो त हामिलाई नि आउँछ देशका सञ्चालकहरुले भाषण होईन काम गरेर देखाउने हो । त्यसैले पूर्व राजाको नाच हेरेर उनि कस्तो नाचे किन नाचे, कुन गीतमा नाचे बहश गरेर नबस र यस्तो बहसमा आउने आफ्ना कार्यकर्तालाई पनि कालापानी तिर पहरेदारीमा खटाउ । बोल्नका लागि प्रसस्त जनता छन् राजनितीकर्मी सिमा सुरक्षामा खटिनु र फर्केर एउटा बलियो नक्साको डिजाइन बनाउनु जहाँ स्पस्ट होस् हाम्रो नेपाली भुमि र फेरी हिम्मत नहोस् छिमेकीले साँध सिमानामा गर्ने बलमिच्याईंं ।

Comments

comments