तनहुँ जिल्ला म्याग्दे गाउपालिका वडा न ८ मा बसोबास गर्ने नानुमाया दुराको दुखको काहनी कारुणिक छ । खरले छाएको बाँसको टहरो, टहरो भित्र ४ आमा छोरा ।

नानुमाया दुराको ३ वटा छोरा छन् । जेठो छोरा गाडीमा कन्डक्टरको काम गर्छन् कान्छो ६ कक्षामा पढ्दै छन् तर माईलोको कथा बेग्लै छ ।

माईला १५ वर्षका भए । जन्मेको ८ महिनासम्म त उनी सामान्य थिए त्यसपछि भने विस्तारै उनी हिड्न, बोल्न र चल्नै नसक्ने भए । माईला छोरा मिलन कक्षा २ मा पढ्दै थिए । तर एक खुसी परिवार माथि बज्रपात बनेर आयो मिलनको रोग ।

के भएर छोरामा समस्या आयो । उपचार हुन्छ की हुँदैन भन्ने पनि बुझ्न पाएका छैनन् दुरा परिवारले । विहान वेलुकाको छाक टार्न नै गा¥हो छ उपचारको कुरा त असम्भव जस्तै बनेको छ ।

छोराको अवस्था विग्रेपछि नानुमायाले श्रीमान्को साथ पनि गुमाईन् । छोरामा समस्या देखिएपछि नै उनका श्रीमान् वेपत्ता छन् । त्यसपछि उनलाई आफ्नो र छोराहरुको गर्जाे टार्न नै समस्या परेको छ ।

नानुमाया ज्याला मजदुरी, मेलापात गर्छिन् र जेनतेन छाक टार्छिन् । अरुले दिएको एक टुक्रा जमिनमा बासको टहरोमा लगाएको खरको छानो पनि चुहिने भईसकेको छ । हावा हुरी चल्दा छानो उडाउँछ, पानी पर्दा चुहिएर खुट्टा टेक्ने ठाउँ हुँदैन । छोराहरु च्यापेर रुझ्दै रुनु शिवाय नानुमासँग विकल्प छैन ।

नानुमायालाई आश कसैको छैन । आफ्नो नागरिकता छैन, छोरो पाउने सरकारी सहयोग पनि लिन पाएकी छैनन् । त्यसमाथि उनका श्रीमान्ले नै उनलाई एक्ल्याएर गएका छन् ।

काम नगरी छाक टर्दैन । जेठो छोरो आफ्नै पेट पाल्ने सुर गरेको छ । कान्छो विद्यालयबाट आएर पढ्न बस्छ । नानुमाया दिनभरी काम गरेर ल्याएको निमेक लिएर आउँछिन्, माईलोको दिनभरीको दिसा–पिसाब सफा गर्छिन् र तीन परिवारको छाकको तयारी गर्छिन् ।

जंगलको छेउमा एक्लो घर छ । परिआए हार गुहार गर्ने पनि कोही छैनन् । सन्तानको मायाले सारा डर हराएको छ । तर छोरालाई ठीक पार्ने आशा भने जताततै असरल्लै छरिएका छन् ।

(भिडियो स्रोत: फ्रेण्डस् टीभी)

Comments

comments