US Khabar

जुत्ताचप्पल नलगाउने त्यो गाउँ, जहाँका जनता दलित समुदायका मानिससँग बोल्दैनन् !

- USKHABAR | १ हप्ता पहिले प्रकाशित

जुत्ताचप्पल नलगाउने त्यो गाउँ, जहाँका जनता दलित समुदायका मानिससँग बोल्दैनन् !

भारतको एउटा गाउँमा सबै मानिसहरू खाली खुट्टा बस्छन्, कोही पनि जुत्ताचप्पल लगाउँदैनन् । बाहिर जानु परे पनि खाली खुट्टै जान्छन् । त्यति मात्र होइन, परिवारमा कोही बिरामी परे भने पनि अस्पताल जान मान्दैनन् । बाहिर जानै प¥यो वा आफन्तको घरमा जानु परे यो गाउँका मानिसहरू बाहिरको खाना खाँदैनन्, पानीसमेत पिउँदैनन्।

पत्याउन गाह्रो होला तर यस्तै एउटा गाउँ आन्ध्र प्रदेशको तिरुपतिबाट ५० किलोमिटर टाढा अवस्थित छ। र, गाउँको नाम वेमन इन्ड्लु हो। यो गाउँमा बसोबास गर्ने स्थानीयले यी कुराहरूलाई आफ्नो परम्पराकै रुपमा मानेको बताउँछन्।

पुरानो प्रथाको अनुशरण
गाउँका मानिसहरुलाई विश्वास गर्ने हो भने जिल्लाका अधिकारीले गाउँ आउँदा जुत्ता गाउँबाहिर फुकाल्ने गरेका छन्। यो सबै गाउँलेको प्रचलनले गर्दा भएको हो। आफ्नो जनजाति वेमनमा बसोबास गरेदेखि नै यो चलन चल्दै आएको गाउँका प्रमुख इराब्बा बताउँछन्।

‘हामी बाहिर जाँदा नुहाएर मात्रै घरभित्र पस्छौँ र खाना खान्छौँ। म धेरै पटक गाउँ बाहिर गएको छु। एकपटक अदालतको कामका लागि मलाई पाँच दिनको लागि गाउँबाट बाहिर रहनु परेको थियो। तर म जहाँ बसेको थिएँ, त्यहाँको खानामा हात पनि लगाइनँ,’ उनले अगाडि भन्छन्, ‘म अदालतको काममा गएको ४७ वर्ष भइसक्यो। तर मैले कहिल्यै बाहिरको पानी पनि पिएको छैन। घरबाट पानी बोकेर त्यही पानी मात्र पिउँछु। बाहिरको पानी पिउने सवाल नै उठ्दैन। हामी बाहिरको खानेकुरा पनि खाँदैनौ।’

गाउँमा कोही जुत्ता लगाउँदैनन्
वेमना इन्डलु गाउँ आन्ध्र प्रदेशको तिरुपति जिल्लाको पाकला मण्डलको एउटा गाउँ हो। यसमा ८० व्यक्तिको जनसंख्या भएको २५ घरहरू छन्। भारतको यो गाउँमा जम्मा ५२ मतदाता छन्। तीमध्ये थोरैले मात्र स्नातक पूरा गरेका छन्। यहाँका मानिसहरू धेरै शिक्षित छैनन् र कृषिमा निर्भर छन्। र, यो गाउँका मानिसहरूलाई भेट्न आउने आफ्ना आफन्तले पनि चलन पालना गर्नुपर्ने कुरा रोचक प्रशंग रहेको छ।

गाउँमा आएका आफन्त महेशले यही गाउँमा बहिनीको बिहे भएको बताए। महेशले भने, ‘यो गाउँका सबैजसो मानिसहरू मेरा आफन्तजस्ता लाग्छन्। गाउँमा आउँदा चलनअनुसार चल्छौं। गाउँमा हुँदा पनि आफ्नो रीतिरिवाज मान्छन्।’ महेश बताउँछन्, ‘हामी गाउँबाहिर नै आफ्नो जुत्ता फुकाल्छौँ, कुनै घरमा पस्दा भन्दा पहिले नुहाउनुपर्ने हुन्छ। यदी तपाईमा मासिकधर्म भएको छ वा हालसालै परिवारमा कसैको मृत्यु भएको छ भने पनि यो गाउँमा पस्न पाइँदैन।’

यस गाउँका साक्षर मानिसहरूले पनि यो चलन पालन गर्छन्। यस गाउँका मानिसहरु आफूलाई पाल्वेकरी जातको मान्छन्। तिनीहरूलाई आन्ध्र प्रदेशमा पिछडिएको वर्गको रूपमा वर्गीकृत गरिएको छ। यस गाउँका सबै मानिस एउटै कुलका हुन्। बाहिरीसँग भन्दा पनि उनीहरू आफ्नै जात भित्र सम्बन्ध राख्छन्।

अस्पताल किन जाँदैनन् ?
यो गाउँका मानिसहरूले पुरातन मन्दिरमा पूजापाठ र अनुष्ठान गर्छन्। गाउँमा नरसिंह स्वामी र गंगा माताको पूजा पनि गर्छन्। ‘भगवानले सबैको ख्याल गर्नुहुन्छ’ भन्ने विश्वासले यहाँका गाउँलेहरू अस्पताल जान मान्दैनन्। गाउँका प्रधान प्रमुख इराब्बा बताउँछन्, ‘हामीलाई सर्पले टोके पनि भगवानले निको बनाइदिनु हुन्छ भन्ने विश्वास गर्छौं। हामी कुनै अस्पताल जाँदैनौं। हामी सर्पको पहाडको परिक्रमा गर्छौं। नीमको रुखको परिक्रमा गर्छौं। अस्पताल जानु पर्दैन।’

‘हाम्रो भगवानले हाम्रो हेरचाह गर्नुहुन्छ, हामी बिरामी हुँदा मन्दिरको परिक्रमा गर्छौं। दुई दिन यसो गर्दा हामी फेरि स्वस्थ हुन्छौं । यो हाम्रो परम्परा हो,’ उनी अगाडि भन्छन् । विद्यालय जाने गाउँका बालबालिका पनि जुत्ता लगाएर विद्यालयमा दिइने ‘मिड डे मिल’ खाँदैनन् । बाहिरकफ कुनै मानिसलाई छोएमा नुहाएर मात्रै घरभित्र पस्छन् ।

‘यस गाउँका मानिसहरूले गर्भवती महिलालाई अस्पताल लैजाँदैनन् । उसको घरमा सबै कुरा हुन्छ,’ नजिकै गाउँकी भाविताले भनिन्, ‘विद्यालय जाने बालबालिकाले त्यहाँ दिइएको दिवा खाजा खान पाउँदैनन्, खाना खान घर आउँछन्, खान्छन र फेरि विद्यालय जान्छन् ।’

दलितलाई प्रवेश निषेध
यस गाउँमा दलित समुदायका मानिसलाई प्रवेश निषेध गरिएको छ। गाउँका जनता दलित समुदायका मानिससँग बोल्दैनन् पनि । महिनावारी हुँदा महिलाहरु गाउँबाहिर बस्नुपर्छ । गाउँका मानिसहरू पनि मिडियाबाट टाढा छन् । रासन डिपो चलाउने बाबु रेड्डीका अनुसार अफिसर वा विधायक भए पनि गाउँबाहिर जुत्ता फुकाल्नु पर्छ ।

‘अनुसूचित जातिलाई गाउँमा पस्न दिइँदैन। न त उनीहरूसँग कुरा गर्छन्, न छुन्छन् । महिनावारी भएका महिलालाई महिनामा कम्तीमा पाँच दिन गाउँ बाहिर राखिन्छ,’ उनले भने, ‘महिनावारी भएका महिलाका लागि गाउँबाहिर कोठा बनाइएको छ, दिनरात एउटै कोठामा बस्नुपर्छ। गाउँलेहरूले सबै स्थानीय सरकारी योजनाको फाइदा पाउँछन्, उनीहरूलाई घरघरमा राशन पु¥याउने व्यवस्था गरिएको छ। हामी अरूको राशनबाट उनीहरूको राशन छुट्याई दिन्छौं र उनीहरूलाई दिन्छौं ।’ तिरुपति जिल्ला मजिस्ट्रेट वेंकटरामी रेड्डीले वेमाना इन्दुलु गाउँका यी चलनहरूबारे कुरा गर्दै गाउँमा सचेतना शिविर आयोजना गरी जनतामा परिवर्तन ल्याउने प्रयास गर्ने बताए । यो सामग्री बीबीसी हिन्दीबाट लिइएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!