US Khabar
  • रोदन नै रोदनले भरिएको देश

    - Admin | १ महिना पहिले प्रकाशित

    रोदन नै रोदनले भरिएको देश

    दुर्गा दाहाल

    नेपाली जनताहरूलाई सँधैँ रुन किन बाध्य गराईन्छ ? के कारण होला ? सँधै रुनु पर्ने ! राजा महाराजादेखि ज्यालादारीमा जीवन यापन गर्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले सँधैँ रोदन नै रोदनको पीडामा जिउनु बाध्यता भएको छ । सबैका आ आफ्नो कथा व्यथाहरू छन् । रोदनै रोदनले आँशुका भण्डार रित्तिएर पोखरी हुन लागे ।इन्द्रियका अङ्गप्रत्यङ्गबाट आँशुका मुहान बन्द भईसकेको छ । यो देशको हिमाल रोएका छन्, आफू बेचिनु परेको कारणबाट । यो देशको महाभारत, चुरे पहाड, साना गल्छीडे पहाड र हरिया जङ्गलहरू डाँको छोडेर धुरुधुरु रोएका छन्, ठुला ठुला निर्दयी फलामका मेसिनको चोटीले पिटाईबाट । ती हिमालहरू, त्यो सौन्दर्य प्रकृति जो लाखौँ लाख वर्षदेखि आफ्नो सुन्दर अनुहार जोगाएर बसेका थिए । आफ्नो रुपलाई, कुरुप देख्दा उनीहरू भक्कानिएर रोएका छन् । मानवलाई कोरोनाले भयभित बनाएजस्तै हाम्रो भूगोल र प्रकृतिलाई कुरुप बनाउने मानव स्वयम् नै कोरोना भएको छ ।

    यो देशको अमृतमय माटो र सुनौला पत्थरहरूले विदेशी मुलुकका सडक सजाईएका छन् । बेचिएका प्रकृतिको रोदनको वेग निरन्तर अघि बढीरहेकै छ । अनुभवविहीन विशेषज्ञको कारणले देशलाई दिशा निर्देश गर्ने कोशिष गरिएको छ । कुनैपछि क्षेत्रमा ज्ञान र अनुभवको प्रयोग भएको देखिन्न । आफ्नो स्वार्थ र ईच्छा अनुसार देशलाई डो¥याउने काम भएको छ । धर्म, राजनीति र व्यवहारले जनतालाई बिरालो बनाएको छ । सानो शिक्षाले अडिएर दिल्ली दक्षिणा यिनीहरूको आकाशवृत्ती भएको छ । जनताहरूले दुई छाकको कर्मलाई राजीनामा नै गर्नुपर्ने परिस्थितिको सृजना हुँदैछ । तर भ्रष्टाचारीहरू सिंहदरबारको धुरी चढी हँसीका बाण वर्षाई रहेका छन् । फोस्रो अहंकार बोकेका प्रकृतिको चाल नबुझ्ने र पानीभित्र गाउँ निर्माण गर्न ईन्द्रीयलाई जित्न कोशिस गर्दैछन्, तर समयले सफल हुन दिँदैन । त्यसबेला जनता रोदनका कलिला आँशु वहावले विदेशी वानरी शासकको नक्कली खोल ओढेका भाले डकैतलाई सँधैँका लागि बढार्ने छ ।

    इतिहासले राजनीतिको पाना फेर्न बुर्कुसी मार्दैछ । आकुल ब्याकुलको सृजना र नाटकीय अभिव्यक्तिबाट जनताहरूले अमिलो स्वादको अनुभव गरेका छन् । स्वर्गीय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको राजनीतिक रोदनको स्मरणले प्रजातान्त्रिक युवा पिँढीलाई झकझक्याउँदै छ । चितवनको जङ्गलमा पोखिएका स्वर्गीय महेन्द्रको रगतबाट मलजल पाएका विरुवाहरूले पालुवा फेर्दैछन् । नारायणी राजदरबारभित्र बगेको रगतको बाढीले अराष्ट्रिय र विदेशी मखुङ्डाहरूलाई बगाउनेछ । स्वर्गीय मदन भण्डारीका अदृश्य श्वासले पूर्व मेची देखी पश्चीम महाकालीसम्म अवश्य पनि राष्ट्रभक्तिको सुसेरा हाल्नेछ ।

    अधबैँसे राजनैतिक बालकहरू सिंहदरबारभित्र शिलिङ्गका बुट्टा गनेर शासन गरिरहेछन् । कल्पनाले सिँगारेका, विकृतिले बिगारेका, ईच्छाले खँगारेका र स्वार्थले बटारेका व्यक्तिले केवल आर्थिक गन्ध र राजनैतिक गन्धमा कल्पना र ईच्छाका जाली बुन्दै मुलुकलाई बेपर्वाहको अगाघ खाडीमा ओई¥याउँदै छन् । जसले गर्दा देश र जनताले आन्तरिक रोदनको पिडा सहनु परेको छ ।

    जन्मिले बित्तिकै राजनैतिक पुच्छरको पानी समात्नु पर्ने शिक्षा नीतिले भविश्यका कर्णधारहरूलाई उल्टो गन्तव्यतिर धकेल्दै छ ।
    विकृतिमणी दानवराजले सम्हालेको जस्तो भएको छ हाम्रो मातृभूमि नेपाल । राजनैतिक गन्ध सुँघेर आर्थिक गन्धको लालचमा नेपालको अनुहार हेर्न समृद्धि र विकासको कालो चस्मा कानमा झुन्ड्याई दिएका छन् । मानव कल्पनाले सिँगारी दिएका छन् । व्यक्तित्व बिनाका पुरुषले शासन गरेको देशमा देशभक्ति युवा पुस्ताको संहार हुन सक्दछ ।

    तर मलाई विश्वास छ ! मनसुनमा परेको पानीको भलले कहिल्यै आकाश छुन सक्दैन । यो पशुपतिनाथको देश हो । भगवान शिवले फेरेको श्वास छिनभर मै विरोधको आँधीमा परिवर्तन हुने सङ्केतको अनुभूति हुँदैछ । नकच्चरो भाषणले जनताहरू बेईमानीको निशाना हुँदैछन् ।

    कर्मलाई राजीनामा लेखेजस्तो अर्धजङ्गलीको आभास महसुस भएको छ नेपालीहरूमा । सत्तामा पुगेपछि यो मुलुकलाई सबैले आफ्नो पेवाको रुपमा प्रयोग गरेका छन् । साँच्चीकै जनताले विश्वास गरेका छन् भने देशको सम्पत्ती दुरुपयोग गरी किन सुरक्षा घेराबन्दी भित्र ? राष्ट्रिय सम्पत्तिको व्यापक दुरुपयोग भएको छ । यदी कुनै दलको नेताले सुरक्षाकर्मीको सुविधा उपयोग गर्छ भने नेपालका सबै दलका कार्यकर्ताले त्यो सुविधा पाउनु प¥यो । विगतका सबै मन्त्रीहरूले सोही अनुसारको सुरक्षाकर्मी र सरकारी गाडीहरूको सुविधा उपलब्ध हुनुप¥यो, नत्र यो देशका छोराछोरीहरूमा अन्याय हुन्छ । यो देश सबैको साझा हो कसैको पेवा होइन । त्यसैले यो देशमा रोदनै रोदन छ ।

    आउँदा दिनहरूमा यो देशले कति रोदन सहनु पर्ने भन्ने अडकल गर्न नै असम्भव देखिन्छ । दिन प्रतिदिन बिग्रँदो छ, बिग्रिरहेको छ । गुडिरहेको गाडीको ब्रेक फेल हुँदा गाडी कहाँ गएर चक्नाचुर हुन्छ । अबको हाम्रो देशको स्थिति त्यस्तै देखिन्छ ।

    यो रोदनबाट देश र जनतालाई मुक्ति दिलाउन नयाँ युवा पिँढीले कदम चाल्नु अनिवार्य छ । नयाँ राष्ट्रिय शिक्षानीतिको शुभारम्भ गर्नुपर्ने बाध्यता सिर्जना हुँदै छ । देशभक्ति र परराष्ट्र मामिला सम्बन्धी पाठ्यक्रमको नितान्त आवश्यकता देखिन्छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">