अघिल्लो साता काठमाण्डू भ्रमण गरेका एक उच्च अमेरिकी अधिकारीले आफ्नो देशको रक्षा मन्त्रालय अन्तर्गतको एउटा विशेष कार्यक्रममा नेपाललाई समेट्न चाहेको बताएका छन्। ‘स्टेट पार्टनरशिप प्रोग्राम’ अन्तर्गत अमेरिकाको राज्य तहमा पनि नेपालसँग सुरक्षा साझेदारी आदानप्रदान गर्ने उनको उद्देश्य हो।

उक्त कार्यक्रममा अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतका विभिन्न राज्यका न्याशनल गार्डहरूले साझेदार मुलुकसँग तालिम गर्ने लगायतका सहयोग आदानप्रदान हुन्छ।

अघिल्लो हप्ता तीन दिने भ्रमणमा काठमाण्डू आएका इन्डो प्यासिफिक मामिला सम्बन्धी अमेरिकी रक्षा सहायक मन्त्री र्‍यान्डल स्राइभरले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए।

ती भेटमा अमेरिकाको इन्डो प्यासिफिक रणनीति अन्तर्गत नेपालमा कार्यान्वयन गरिने भनिएको मिलेनियम च्यालेन्ज कोअपरेशन सम्बन्धी आर्थिक सहायता र नेपाल-अमेरिका रक्षा सम्बन्ध अभिवृद्धि गर्ने सहितका विषयमा छलफल भएको अधिकारीहरूले बताएका छन्।

स्टेट पार्टनरशिपमा नेपाल सकारात्मक
रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकारीहरूले बीबीसीसँग कुरा गर्दै सहायकमन्त्री स्राइभरसँग स्टेट पार्टनरशिप कार्यक्रममा नेपाल सहभागी हुनेबारे छलफल भएको जानकारी दिए।

नेपालले त्यस कार्यक्रमप्रति आफू सकारात्मक रहेको जबाफी सन्देश दिएको उनीहरूले बताए। २५ वर्षअघि स्थापित उक्त कार्यक्रममा अहिलेसम्म ८१ वटा देशहरू साझेदार रहेको अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको न्याशनल होम गार्डको वेबसाइटमा उल्लेख छ।

दक्षिण एशियाका देशहरूमध्ये बाङ्ग्लादेश मात्रै हालसम्म उक्त कार्यक्रमको साझेदार सदस्य हो। उसले सन् २००८ मा अमेरिकाको ओरेगन राज्यसँग साझेदारी गर्ने सम्झौता गरेको थियो।

अमेरिकी रक्षा मन्त्रालयको उक्त कार्यक्रम राज्य तहमा रहने न्याशनल गार्डले साझेदार देशसँग सहकार्य गर्दै आएको अमेरिकी सेनाको कमाण्डसँग मिलेर कार्यान्वयन गर्छ।

उक्त कार्यक्रमको वेबसाइटमा राखिएका विवरण अनुसार विपद् व्यवस्थापन, उड्डयन सुरक्षा तथा मर्मत, स्टाफ तथा अधिकृतहरूको नेतृत्वदायी क्षमता विकास, स्वास्थ्य तथा इन्जिनियरिङ गतिविधि, साइबर सुरक्षा तथा सञ्चार अनि रासायनिक अस्त्र तथा विस्फोटक पदार्थ निष्क्रिय बनाउने जस्ता क्षेत्रमा सहकार्य गरिने जनाइएको छ।

छवटै भौगोलिक क्षेत्रमा अवस्थित अमेरिकी सेनाका कमाण्डहरू र अमेरिकाका सबै राज्य आवद्ध रहेको यस कार्यक्रम अन्तर्गत वर्षभर ९०० भन्दा धेरै कार्यक्रमहरू हुने गरेको वेबसाइटमा उल्लेख छ।

बिहीवार अमेरिकी सहायक मन्त्रीसँगको भेटमा रक्षामन्त्री इश्वर पोखरेलले उक्त स्टेट पार्टनरशिप कार्यक्रमप्रति नेपाल सकारात्मक रहेको जबाफ दिएको बताइएको छ।

छलफल जारी: नेपाली सेना
नेपाली सेनाले उक्त कार्यक्रममा सहभागिताबारे आफूलाई लिखित रूपमा पत्राचार नगरिएपनि त्यसबारे छलफल चलिरहेको जनाएको छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे भन्छन्, “दुई सरकारको स्तर बाहेक पनि अमेरिकाका विभिन्न राज्यहरूले विपद् व्यवस्थापन सहितका क्षेत्रमा विभिन्न देशका सुरक्षा निकायसँग तालिम लगायत अन्य सहकार्य गर्ने गर्छन्। हामीसँग पनि विपद् व्यवस्थापनमा संयुक्त तालिमहरू गर्ने र सहकार्य बढाउने हिसाबले छलफल भएको छ।” (विविसी)

 

Comments

comments