आइतबार दिउँसो साढे दुई बजे जिल्ला प्रहरी कार्यालय सप्तरीमा एउटा खबर आयो। ‘सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट आमाबुवाकै आँखा अगाडिबाट एक तीन वर्षीय बालक अपहरणमा पर्‍यो। बालकलाई अपहरणकारीबाट मुक्त गरिदिनु पर्‍यो।

आधा अघिमात्रै अपहरण परेको भनी सूचना आउनेबित्तिकै संवेदनशील बनेको प्रहरीले अपहरणकारीलाई घेरा हाल्ने पासो बुन्यो। बालकलाई सकुशल उद्धार गर्ने योजना अनुरुप जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाई स्वयम खटिए।

बालकको खोजीमा एसपी प्रसाई सहित डिएसपी तिलक भारती, इन्स्पेक्टर प्रकाश बस्नेत, इलाका प्रहरी कार्यालय सखडाका सई र सादा पोशाकमा प्रहरीहरु व्यापकरुपमा परिचालन भए। भारतीय सीमा नाकामा रहेका प्रहरी यूनिटलाई नाकाबन्दी गरी कडाईका साथ चेकजाँच गर्न प्रहरी अह्राइयो। नेपाल-भारत सीमा क्षेत्रमा जाँच तीब्र बन्यो। निगरानीका साथ आवतजावत गर्नेहरुको खानतलासी सुरुभयो।

खोजतलासका क्रममा भारतीय सीमा नजिकै छिन्नमस्ता गाउँपालिका-६ कोचाबखारीस्थित खेतमा परालको कुन्यु(टाल) मा सुताइ रहेको अवस्थामा बालक सकुशल फेला पर्‍यो। फेला परेका छिन्नमस्ता गाउँपालिका-५ लोखरमका तीन वर्षीय घनश्याम साहलाई आइतबार राति आमाबुवाको जिम्मा लगाइएको छ।

बालकलाई खेतको छेउमा राखी आमा लियन साह र बुवा प्रह्लाद साह धान काटिरहेका थिए। सोही समय नम्बर नखुलेको रातो रंगको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले बालकलाई मोटरसाइकल अगाडि राखी वेपत्ता भएका थिए। छोरा सकुशल फेला परेकोमा खुशी भएकी आमा लियन साहले प्रहरीको सक्रियताको प्रशंसा गरिन्।

‘अपहरणमा सतर्कतापूर्वक काम नगरे बालकको ज्यान जान सक्ने खतरा हुन्छ,’ सप्तरीका एसपी प्रसाइले भने। सूक्ष्म तयारी र व्यापक प्रहरी परिचालन गरेकै कारण बालक सकुशल फेला परेको उनले बताए। सीमा नाकामा कडाई गरेपछि अपहरणकारीले बालक छाडेर भागेको उनको अनुमान छ। बालक फेला पारेपछि प्रहरी अहिले अपहरणकारीको खोजीमा जुटेको छ।

साभार: अन्नपूर्ण पोष्ट

 

Comments

comments