उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस ४ गते संसद अधिवेशन बोलाएपछि तुम्बाहाङ्फेले राजीनामा दिने भएकी हुन् ।

सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले तुम्बाहाङ्फेलाई राजीनामा गर्न सुझाव दिँदै आएको थियो ।

नेकपाले तुम्बाहाङ्फेलाई उपसभामुखमा कायमै राखे सभामुख पदमा उम्मेदवारी दिन नपाउने बाध्यता रहेकाले उनलाई राजीनामा गराउन लागिएको बताइन्छ । संविधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने व्यवस्था हुनुका साथै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनैपर्ने अनिवार्य संवैधानिक व्यवस्था छ ।

सभामुख पदमा आशिन कृष्णबहादुर महरा महिला दुर्व्यवहार प्रकरणमा मुछिएपछि गत असोज १४ यता खाली सभामुख पदपुर्ति गर्न निर्वाचन गर्नुपर्ने हुन्छ ।

सत्तारुढ दल नेकपा सभामुख आफ्नो दलको बनाएर उपसभामुख अन्य दललाई दिन चाहन्छ । त्यसका लागि उपसभामुखबाट तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने हुन्छ ।

नेकपा नेतृत्वको दवाव र सुझावपछि राजीनामा गरेर सहज वातावरण बनाउने निष्कर्षमा उनी पुगेकी हुन् ।

यसअघि तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक बोलाएर राजीनामा गर्न सुझाव दिएका थिए ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि राजीनामाबारे अनौपचारिक कुराकानी भएको उनले बताएकी छन् ।

यस्तै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वासँग पनि छलफल गरेपछि तुम्वाहाङ्फे राजीनामा गर्ने निष्कर्षमा पुगेकी हुन् ।

यस्तै महिला अधिकारकर्मी तथा सरोकारवालाले उपसभामुख महिला भएकाले उनलाई नहटाउन नेकपा नेतृत्वलाई ध्यानाकर्षण गराउँदै आएका थिए ।

Comments

comments