महिला चलचित्रकर्मीलाई कोमल वलीको ‘सल्युट’

15

काठमाडौँ : चलचित्र विकास बोर्ड अन्तर्गतको ‘महिला चलचित्रकर्मी सशत्तीकरण’ समितिले निर्माण गरेको फिल्म ‘सल्युट’ को प्रेस सो सम्पन्न भएको छ । वोर्डका अध्यक्ष केशव भट्टराईको सभापतित्वमा आयोजना भएको कार्यक्रममा चलचित्रकर्मी, समाजसेवी लगायत विभिन्न क्षेत्रबाट प्रतिनिधिको उपस्थिति थियो ।

फिल्म हेरिसकेपछि कार्यक्रमको मुख्य अतिथि एवं सांसद कोमल वलीले फिल्म राम्रो रहेको प्रतिक्रिया दिइन् । ‘यो फिल्म हाम्रो समाजको ऐना हो । फिल्म क्षेत्रमा यसरी महिला सहभागिता बढेको देख्दा अत्यन्तै खुशी छु । यो टिमलाई मेरो सल्युट छ’ उनले भनिन् ।

‘सल्युट’लाई आशुका अर्याल(अस्कर फिल्म कलेज), अम्बिका भण्डारी(नेपाल फिल्म एकेडेमी), मेरोन राजभण्डारी(नेपाल फिल्म एकेडेमीका )ले मिलेर निर्देशन गरेका हुन् । सब्बु सुवेदीको पटकथामा बनेको चलचित्रमा संजिता लामा(एभरेष्ट फिल्म एकेडेमी) र प्रिया राजकर्णिकार(एभरेष्ट फिल्म एकेडेमी)को छायांकन छ । मनीषा धमला(आभाष इन्सिस्चूट)को सम्पादन रहेको चलचित्रको निर्देशक टिमलाई समितिकी सदस्य निर्देशक संगीता श्रेष्ठले चलचित्र निर्देशनमा सहयोग गरेकी हुन् । जया ओझाले स्क्रिप्ट तयार पार्नलाई सब्बुलाई सहयोग गरेका हुन् ।

चलचित्रमा एउटा परिवारको श्रीमान र श्रीमतिबिच भएको व्यवसायिक द्वन्द्व समावेश छ । कलाकार मोहन चाम्लीङ,शेसुका राई,बसन्त रिजाल,चन्द्रा थापा,थमान सिं पुर्जा पुन,ओम कृष्ण भण्डारी,विष्णु ठकुरी,भरत रौनियार,एन्जल श्रेष्ठ,आविश्कार रेग्मी,सन्तोष चाम्लीङ,जय कुमार कार्की ढली,सागर रौनियार,अलविन तिरुवा,सुमित्रा पाखरिन,सुस्मिता तामाङले यस चलचित्रमा अभिनय गरेका छन् ।

फिल्म निर्माणको अवधाराणालाई वोर्ड अध्यक्षले सुरुवातदेखि नै साथ दिँदै आएको थियो । समितिको संयोजक शबनम मुखियाले यस अवधाराणाबारे वोर्ड अध्यक्षलाई सुनाएसँगै ‘सल्युट’ निर्माण अघि बढेको हो । यस कथाका परिकल्पनाकार शबनम मुखिया हुन् ।

Comments

comments