दिपक घिमिरे

करिब दुई बर्ष देखिको नेपाल जाने सपना आज बिपनामा परिणत हुँदैछ । म हतार मै छु भन्दा पनी हुन्छ । मलाई एयरपोर्ट सम्म पुर्याउन जाने सन्तोष सोल्टी अनि बिबेक जि अघि देखि कराउँदै हुनुहुन्छ , म चै लास्ट म्यासेज उनलाई लेख्दै छु  “लौ म एयरपोर्ट तिर लागें है !”

उनले तुरुन्तै लेखिन  “शुभयात्रा अहिले नै भनु कि एयरपोर्ट पुगेर बोल्छौ ?”

मैले म्यासेज सिन गर्दिएँ तर रिप्लाई दिईन ।

सन्तोष सोल्टीको लेक्सस बिबेक जिले चलाउनु भो , सोल्टी र म पछिल्लो सिटमा बसेर हुईकियौ ह्युस्टनको जर्ज बुस इन्टरनेसनल एयरपोर्ट तर्फ । बेलुका सात बजेको फ्लाईट थियो मेरो । म पाँच बजे एयरपोर्ट प्रबेश गरिसक्नु पर्ने थियो ।
मेरो नेपाल बसाई अनि फर्कदा ल्याउनु पर्ने चिजहरुको बारेमा सन्तोष सोल्टीले बताउँदै हुनुहुन्थ्यो , तर मेरो ध्यान भने उहाँका गफमा थिएनन् । उनले म्यासेन्जरमा केही लेखिन् की भन्ने तर्फ नै म बढी उत्सुक थिएँ ।

“बुझ्नु भो नि सोल्टी !” सन्तोष सोल्टीले कोट्याउदै भन्नू भो ।

मैले मुन्टो हल्लाउँदै भने  “बुझें !”

“के बुझ्नु भो ?” सोल्टीले कुरा खोतल्नु भो ।

म दिमागमा उनलाई बसालेर एयरपोर्ट जाँदै थिएँ । सोल्टीले के भन्नू भो केही थाहा छैन । कानले सुनेको त थिएँ तर दिमागमा बसालेको थिईन । एउटा कानले सुन्दै अर्कोले उडाउदै थिएँ सायद । मुहारमा मुस्कान थियो , त्यसैले सोल्टीले सोच्नु भएछ ! म उहाँको कुरा सुन्दैछु । तर म उहाँको गफमा हर्षित थिईन , म उनीसँग भेटने आशामा हर्षित थिएँ ।

“आउँदा सिन्की , सुकुटी अनि भाँङो ल्याउने कुरा बुझेको छु सोल्टी ।” मैले पहिले नै भएका योजना बताईदिएँ ।

“हत्तेरी ! तपाईंको ध्यान कहाँ छ यार ? मेरो घरमा पुर्याउनु पर्ने सामान तपाईं आफैं लगेर दिनु होला , अरुको हातमा नपठाउनु भनेको ।” सोल्टी हुक्किदै बोल्नु भो ।

म हाँस्दै भने “ अबस्य ! म आफै जान्छु पक्का ।”

असी माईल प्रती घण्टामा कुदेको लेक्ससले हामिलाई जर्ज बुस इन्टरनेसनल एयरपोर्ट पुर्यायो । मलाई टर्मिनल बि मा बिदाई गरेर सोल्टी अनि बिबेक जि फर्किनु भो ।

मैले लगेज चेक गराएँ अनि जहाज चढ्ने गेटको अघिल्तिर सोफामा बसें । गोजीबाट मोबाईल निकालें ।

उनका सत्र वटा अनरिड म्यासेज थिए । सबै पढें , एक्लै हाँसे । छेउकाहरुले सायद खुस्कट भने होलान । मोबाईलमा हेरेर मुस्कुराउने अरु पनि हुन्छन , त्यसैले म लजाईन ।

“रिसाहा मान्छे ! शुभयात्रा है ।” उनको लास्ट म्यासेज यहि थियो ।

मैले दुबै आँखामा लभको चिन्ह भएको इमो पठाईदिएँ ।

उनले तत्कालै हेरेर लेखिन “ आई लभ यु । ”

मैले उनको म्यासेन्जरमा कल गरे ।

“हेल्लो ! ” उनी सुरिलो स्वरमा बोलिन ।

“कालू ! मलाई लिन एयरपोर्ट आउँछ्यौ ?” मैले प्रश्न गरें ।

तिम्रा भाईहरु आउलान नि ? अनि मलाई के भनेर चिनाउँछौ त ?” उनले झन प्रतिप्रश्न गरिन ।

“तिमी आउने भए म भाईहरुलाई बोलाउँदिन ।” मैले माया देखाएँ ।

“प्लिज ! भाईहरुलाई फ्लाईट ढिला भो भनेर झुट बोल्देउ , म तिम्लाई एयरपोर्टमा पिक-अप गर्छु,  एकछिन बसौ न ल !” उनले आग्रह गरिन ।

हामी सहमती भयौ । नेपालको एयरपोर्टमा मलाई लिन उनी आउने भईन । म खुशिले गद-गद भएँ ।

एयरलाईन्सका कर्मचारीहरु आए , मैले फोन काटिदिएँ । गेट खुल्यो । टिकेट हेर्दै गेट छिराउने क्रम सुरु भो ।

ह्युस्टन देखि स्पेनको बर्सिलोना जाँदै थिएँ म । करिब तेर घण्टाको फ्लाईट थियो । बर्सिलोनामा चार घन्टा ट्रान्जिट भएसी म त्यहाँ बाट मध्यपुर्वको देश संयुक्त अरब इमिरेट्सको दुबई शहर उडने छु । अनि त्यहाँ दुई घण्टा ट्रान्जिट भएपछी मेरो प्यारो देश काठमाडौं तर्फ उड्नेछु ।

मलाई जहाजको यात्रा एकदमै पट्यार लाग्दो लाग्छ । म निक्कै थाक्छु पनि । न फोनमा गफिन पाउनु , न त च्याटमा गफिन । उहीँ नयाँ पुराना गित सुन्दै यात्रा गर्ने हो ।

म प्लेन भित्र छिरें । लाष्ट पटक म्यासेन्जर हेरें , उनले लेखेकी थिइन “ तिमीले मजाक गरेको त हैनौ नि ? कस्तो सपना जस्तो लाग्दैछ यार !”

मैले टिकटको फोटो खिचे अनि प्लेन भित्रै सेल्फी लिए । ती दुबै उनलाई पठाउदै लेखँे “ अब त बिश्वास भयो होला नि मोटी !”

उनी केही लेख्दै थिइन , मैले नेट डिस्कनेक्ट गर्दिएँ । कानमा एयरफोन घुसाएँ अनि मोबाईलमा गीत सुरु गरे । पुरानो फिल्म जिन्दगानीको गीत बज्दै थियो ”

…….तिम्लाई भेटन आउँदै छु तिम्रो गाउँमा ! ”

म आँखा चिम्लेर गीतमा मस्त हुँदै थिएँ , एयरहोस्टेजहरुले खाना पानी लिएर आए । छेउमै बस्नेहरुले कसैले व्हिस्की पिए त कसैले वाईन अनि बियर । मैले चै एक गीलास जुस लिएँ ।

सिटको अघिल्तिरको स्क्रिनमा बर्सिलोना एयरपोर्ट एराईभल टाईम चेक गरें । अझै आठ घण्टा बाकि थियो ।

लामो यात्रा , उसैमाथी एक्लो । म निक्कै झण्झटीलो यात्रामा थिएँ । खाना खाएर फेरि गीतमा मस्त हुँदै निदाउने कोसिस गरें । एकछिन निदाएछु सायद , ब्युझेर उहीँ स्क्रिनमा हेरेको ! बर्सिलोना पुग्न जम्मा दुई घण्टा बाँकी थियो । फेरीपनी आँखा चिम्लिए तर निदाउन सकिन ।

बर्सिलोनामा मलाई चार घण्टा समय कटाउनु थियो । आकासमा उड्दा भन्दा जहाजको प्रतिक्षामा बस्न मलाई सजिलो महसुस हुन्छ । ट्रान्जिट हलमा बस्दा कमसेकम उनीसँग च्याट गर्न त पाईन्छ ।

कुर्दा कुर्दै स्पेनको बर्सिलोना एयरपोर्टमा हाम्रो जहाज उत्रीयो । सबै यात्रु हतारमै थिए । म पनि हतारमै निस्किएँ ।
ट्रान्जिट हलमा आएर मोबाईलमा इन्टरनेट अन गरें । फेरि पनि भरल्तै म्यासेज आए । अधिकांस उनकै थिए ।

“दादा ! हामी कति बजे एयरपोर्ट पुग्ने हो ? ” भाइले लेखेको यो म्यासेजमा मैले सबैभन्दा पैला रिप्लाई गर्दिएँ “ प्लेन डिले भएको छ । म आफै होटेलमा आउँछु , फिक्स छैन । तिमिहरु आउन पर्दैन ।”

“बूढो ! कहाँ पुग्नु भो ? एउटा म्यासेज छैन त ? माया मारेको हो ? ” बसन्ताले यस्तो लेखेकी थिइ ।

उसलाई पनि छोटो लेख्दिए  “नेपाल उत्रेर कल गर्छु , आई लभ यु बड्डी !”

अब मस्तले गफिने उनी सँग थियो । बाकी शुभयात्रा दाजी , भाइ , अंकल , साथी भन्दै म्यासेज गर्नेहरुका म्यासेज सिन सम्म हुन पाएनन ।

“वाउ ! बेबि , तिम्लाई कुर्दै छु है । ”  ह्युस्टन एयरपोर्टबाट प्लेन उडदै गर्दा उनले लेखेको म्यासेज रहेछ । मैले म्यासेजमा लभको रियाक्ट गर्दिएँ अनि उस्तै लभको इमो पठाईदिएँ ।

उनले बेबि भनेपछी म आफुलाई बच्चा जस्तै सम्झिएँ । मेरो घोर्ले छोरोलाई भुलौं कि भाइ भनौ जस्तै भयो । एक्कासी उमेर घटेर बचपनामा आईदियो । बेबि बनेर उनको काखमा लुटुपुटु गर्ने रहर पलायो अनि खिस्स हासें ।

“कहाँ पुग्यौ ?”  उनले म्यासेज गरिन ।

“स्पेन ! अब चार घण्टा पछि दुबई उडछु । मैले लेखें ।

उनी हाँसेको इमो पठाईन । मतलब उनी धेरै खुशी छिन ।

मैले कल गरे , उनले काटीन । फेरि गरे , काटेर उनले लेखिन  “अफिसमा छु , सिनियर स्टाफसँग ।”

मैले  “ओके अनि सरी ल !” लेख्दिएँ ।

हामी च्याटमै थियौं । “कालू ! मलाई लिन स्कुटी लिएर आउँछ्यौ ?” मैले समय कटाउन बकम्फुसे कुरा सोधें ।

“अनि तिम्रो सामान नि ? स्कुटीमा अट्छ ?” उनले भनिन ।

“सामान केही छैन , झोला अनि एउटा सानो ट्रली ब्याग मात्र हो ।” मैले भन्दिएँ ।

“ओके ! उसो भए हामी एयरपोर्टबाट स्कुटीमा सिधै साँगा जाने ल । दिनभर उतै बस्ने , घुम्ने अनि बेलुका तिम्लाई एयरपोर्ट मै छाडिदिन्छु अनि भाईहरुलाई बोलाउनु ।” हाम्रा डेटिङका योजना बुनिए ।

बिहान नौ पैंतालीसमा म काठमाडौं उत्रन्छु , अनि उनीसँग दिनभर । बेलुका परेपछी म भाईहरुसँग , उनी आफ्नाहरुसँग ।
हाम्रा च्याटमा धेरै कुरा भए । उस्तै गरी प्लेन चढने समय आयो , लाईन बसे । प्लेन उड्यो , मोबाईलमा गीत बजे ।

करिब आठ घण्टाको पट्यार लाग्दो यात्रा पनि गीतले नै पार गरायो । उस्तै एयरहोस्टेज आएर खाना दिए , दारु पानी सोधे । मैले जुस पिएँ । मोबाईलमा उनै गीत दोहोरिए । म निदाउने कोसिस गर्दा गर्दै दुबई आयो ।

दुबईमा मलाई दुई घण्टा ट्रान्जिट थियो । मोबाईल निकालेँ , नेट कनेक्ट गरें । म्यासेज धेरै थिए । महत्वपुर्ण म्यासेजलाई महत्व दिएँ बाकीलाई हेरीन ।

यो बेला नारायण दाईको म्यासेज थियो । “ठुले ! आउदैछस रे हो ?”

उहाँ मलाई अझै ठुले भन्नुहुन्छ । सानोमा गाउँ घरमा बोलाउने नामले बोलाउँदा मलाई आनन्द आउँछ । म अझै सानै छु झै फिलिङ आउँछ ।

जिन्दगी हामी दुई भाईले निक्कै भोग्यौ । नाताले गोत्यार दाइ भएपनी हामी एकदमै नजिकका छौ ।

उनको म्यासेज नहेरी पैला नारायण घिमिरेको म्यासेज हेरें अनि रिप्लाई गरें “ दाङ आएको भोलिपल्टै प्युठान आउँछु । दूध खान्न, भाले खाने है । ”

डेरी ब्याबसाय गर्ने नारायण दाइसँग म अलि बढी जिस्कन्छु । कहिले काहीँ उहाँको भाईलाई जस्तै दुधवाले दाइ पनि भन्दिन्छु । हाम्रो नाता अनि मित्रता थाहा नपाउनेहरु दुधवाले भनेको सुन्दा रिसाउछन । मलाई घमन्डी पनि भन्छन तर हाम्रो नाता नै यस्तै छ ।

एकपटक यहि दुधवाले भनेको सुनेर लमहीका सन्तोष गीरी भाइ म सँग रिसाउँदै भन्नू भो “ कामको सम्मान गर्नुस दाइ , होच्याउनु राम्रो होईन ।”

म सँग कुनै शब्द थिएन । उहाँले भनेको कुरा ठिक थियो त्यसैले हासिदिएँ मात्र । यस्ता अप्ठ्यारा हामी बिच आउछन , कतिलाई नारायण दाईले सम्झाउनु हुन्छ कतिलाई मैले ।

नारायण दाईलाई प्युठानै गएर भेटने बाचा भएपछी म फेरि उनी सँग गफिन थालें ।

“कल गरु ? ” मैले सोधे ।

“नाई ! मिल्दैन । छोरो साथमा छ ।” उनी छोरासँग डराईन ।

उही च्याट ! आई लभ यु का पोका पठाउने अनि काठमाडौं ओर्लेपछिका योजनामै हाम्रा गफ सिमित भैरहे ।
फेरि दुबईबाट उडने समय आयो , उस्तै गरि । अहिले प्लेनमा दर्जन बढी नेपाली भेटीए तर सँगैको सिटमा म एक्लो नेपाली । बाकी गोरा हुन तर युरोपियन हुन या अमेरिकन । म बोलिन ।

करिब चार घण्टाको फ्लाईट पनि उस्तै गरि बिते । अब आखाँमा निद्रा थिएन । मनमा ढुकढुकी बढिरहेको थियो ।
नेपाली आकासमा जहाज उडन थालेपछी मन खुशिले उडन थाल्यो । उस्तै गरि जहाज त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा ओर्लियो ।

चेकिङका काम सकिय । ट्रली ब्याग गुडाउँदै बाहिर निस्कदै थिएँ । पार्किङ भन्दा अलिकती यता टाउकोमा हेलमेट अनि आखाँमा चस्मा लगाएर उभिएकी एउटी मैयाँ खिस्स हाँसिन । म लाजले भुतुक्क भएँ ।

कालो जिन्स , रातो ह्यानेक अनि बाहिरबाट खैरो लामो कोट लगाएर उभिएकी उनी मेरी उनी थिइन । जस्लाई भेटन अनि डेटीङ जान ट्राभलिङ फ्रम ह्युस्टन टु काठमाडौं भयो ।

अंगालोमा बेरेर खुशी साटने मन थियो तर सकिएन । उनले चलाएको स्कुटीमा बसेर हाम्रो पहिलो डेटिङमा हामी निस्कियौ ।

Comments

comments