सम्झना बिक
गोठभरी बस्तु, भुरा ४ वटा, खेतबारी, रोगी सासुको जिम्मेबारी मैले आफ्नो लागि समय कहिल्यै निकाल्न पाईन । चाडपर्वमा गरिने रमाईलो, घुमघाम, मेला कस्तो हुन्छ बिर्सिसकें, जिन्दगी यस्तै रैछ । अरुको लागि बाँच्न पर्दो रैछ, आफू को हो भन्ने परिचय नै नभई कतब्र्य र जिम्मेबारीको बोझले कुर्पी परिसकेको शरिर अव त बल पनि घट्दै गयो । पहिलेको जस्तो जोश जाँगर पनि छैन भन्नुहुन्छ लिलाकली भट्ट (नाम परिवर्तन)। लोग्ने सन्तान उत्पादनका लागि मात्र काम लाग्यो, त्यो पनि अरुको शरिरलाई चाहिएर ४ वटा बच्चा जन्मिएका हुन् । मर्न भनि कति पटक बन जाँदा झुण्डने प्रयास पनि नगरेकी हैन । भुराको अनुहार र निर्दोश सासुको मायोले मर्न सकिन ।
आफ्नै अगाडी लोग्ने तरुनीको अंगालोमा मस्तमगन भएको जीउ रक्सीको नसामा हेर्ने र सहने मेरो नियती बनेको थियो । घाँस दाउरा र बस्तु भाउमै बित्यो मेरो जोवन, माया कस्तो हुन्छ, लोग्नेको फकाई र मायालु छुवाई कस्तो हुन्छ थाहै नपाई बुढी भएँ । नछुनी नहुँदै बिहे गरिदिएका बा आमाले बैकुण्ठ तरिने लोभमा दुख मलाई भोग्नु पर्यो । समाउने हाँगो, न टेक्ने डाली बनेको चोलाले सुख पाएन कहिल्यै पनि माईत जाँदा ‘घर गरेर खा छोरी, छोरीको असली घर पराई घर हो माईती हैन, सह सह सह छोरी भएपछि सहनु पर्छ ।’ यहि सहनुको सिधान्तले मेरो जिन्दगी डँडेलोले खाएको बन भन्दा कम भएन ।
कुरो बुझन, तिम्लाई कति पैसा चाहिन्छ म छँदै छु नि, छाती ढक्क फुलेर आयो, शरिर थरथरी काँपेर आयो, रिँगटा लाग्न थाल्यो, आफ्नै ससुरा पर्नेले दुखको फाईदा उठाउँदा । छोरा रुखबाट खसेर खुट्टा काटियो । लोग्नेले वास्ता गर्दैन, नाम मात्रको लोग्नेको टिकी, सिन्दुर, चुरा पोते पहिरेनी म अक्क न बक्क भएँ र आपतको समयमा पैसा टिपें र कुधें अस्पताल । बाबुको खुट्टो निको भयो । ससुराको पैसा मेला गएर कमाएको पैसाले तिर्न खोजें लिन मानेनन्, जिस्कीनी, छुन खोज्ने उसको हात म प्रति बढाउन खोज्थ्यो पैसा भुईंमा फ्याँकेर म दौडिएको आज जस्तै लाग्छ । आफ्नो लोग्नेले हेँला गरेपछि सबैले हेँला गर्दा रैछन् । ४ बच्चाकी आमा भएपनि ढुक्कले कहिल्यै निदाउन पाईन, सिरानीमा हँसिया राखेर सुत्थें, जाई लाग्न आए काटिदिन्छु भनेर । एक्ली महिला भएर बस्नु साह्रै गाह्रो रैछ बाबै जिउ जोगाउन महाभारत हुँदो रहेछ ।
गडेका आँखा, कलेटी परेका ओठ, काती परेका लुगा । फुसर्दै छैन, आफ्नो लागि बिहानीको पहिलो किरणसंगै रातीको एकनास सुनसान सम्म । रक्सी पिएर आयो, कुटपिट गर्यो, गीद्धले सिनु लुछेझैं शरिरको लुछाई यस्तै छ मेरो जिन्दगी । कमला परियार (नाम परिवर्तन) लोग्ने छोड्ने हिम्मत नगरेकी पनि होईन, बच्चा लिएर जाने ठाउँ पनि कतै छैन । महिला भएपछि यस्तै रहेछ । लोग्ने छोडेर बसुँ समाजले नराम्रो सोच्छ, माईती भन्छन्, ‘घर छोड्नु हुँदैन, सहनु पर्छ मिलेर बसेको जस्तो राम्रो अरु केही हुँदैन’ , दिक्क लाग्छ । भेडिया जस्तो लोग्नेको यातनाबाट मुक्त यो संसार रोकिएपछि नै होला । लामो सुस्केरा छाड्छिन् कमला । गतिलो खाना, न्यानो बास नभएको मैले शरिर र मनको सुख कहिल्यै पाईन, दिनहुँ बलात्कृत हुन्छु आफ्नो श्रीमानबाट ।
यि र यस्ता पात्रहरु प्रसस्त छन् हाम्रो समाजमा । हामी कति कमजोर छौं, प्रकृतिले नै हामीलाई पक्षपात गरेको छ । समान त कसरी हुन्छ र ? ज्ञानी बुद्धिजिवि भनिएकाहरुबाटै महिला हिंसा हुने हाम्रो समाजमा यि पात्रहरु त ग्रामिण भेगका हुन् । सहनशिलतादेखी कोमलता र ममताले भरिएकी हुनुपर्छ नारी, सहनु पर्छ कुटपिट लागी त लोग्नेले गरिहाल्छ नि, थप्पड त सहनै पर्यो नी, सह सहनु जस्तो केही पनि छैन भन्छ यो समाज । कति कमजोर छौं नारी भनेर हेप्ने यो समाजले कमजोर बनाउने त यिनै त हुन् । मनिकर्निका, योगमाया, क्लारा गेटकिन, रोजा लक्जर्मबर्ग जस्ता महिला पनि त थिए यो समाजमा । तर जति पनि यि घटना भई रहेका छन्, यी हाम्रा संस्कार र रितीरिवाजले नै सिकाएको त होनी ।
हामीले छोरीलाई शिक्षा र सिपमा दक्ष बनाउनु आजको आवश्यकतासंगै तिमीलाई गाह्रो साह्रो पर्दा हामी छौ नी छोरी भन्ने परिवारको आवश्यकता छ अवका दिनमा । पढेलेखेकी सिपले दक्ष नारी पनि हिंसालाई ढाकछोप गर्दै आवाज निचो बनाउँछे । अव त अति भयो, नाई, हुन्न, गर्दिन भन्न सक्ने हुने हामी कहिले ? परिवारले छोरीको दुखलाई टुलुटुलु हेरिरहने कहिले सम्म ? हामीले छोरी बाँच आफ्नो जिन्दगी, तिम्रो जीवन तिम्रै हो, शरिर र हक तिम्रो हो, यातना सहनु तिम्रो बहादुरी होईन, तिम्रो भाग्य तिमी आफैंले बनाउने हो अरुले होईन, सन्तान तिम्रो कमजोरी होईन तागत हो भन्न सक्नु पर्छ । अवका दिनमा जो कोही आफ्नो लागि आफैं हो, अरुको होईन । बाँच आफ्नो लागि खुसी हौ । आँसु खसाउने अधिकार कसैलाई छैन, रुन र हाँस्नु तिम्रो आफ्नो मनको अधिकार हो । मात्र तिम्रो भन्ने कहिले हामीले ?
प्रतिक्रिया