कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन ढिला गरेको भन्दै सरकारले खरिद सम्झौता रद्द गरेको झन्डै एक साता भएको छ। तर त्यस्ता सामग्री अब कहाँबाट कहिलेसम्म ल्याइसक्ने भन्नेबारे अन्योल देखिएको छ।
दुई देशका सरकारबीच समन्वय गरेर अर्थात् जीटूजी सम्झौता मार्फत् ल्याउने जिम्मेवारी दिइएको नेपाली सेनाले खरिद एकाइ गठनको प्रक्रियामा रहेको र सामानको उपलब्धताबारे विभिन्न देशसँग अनौपचारिक कुरा भइरहेको जनाएको छ।
विदेशबाट फर्किएका र तिनको संसर्गमा आएका हजारौँ मानिसलाई अहिले विभिन्न जिल्लामा क्वारन्टीनमा राखिएको छ भने १०० जनाभन्दा बढी व्यक्ति आइसोलेशनमा छन्। विदेशबाट फर्किएका व्यक्तिमा मात्र हैन स्थानीय स्तर पनि कोभिड-१९ सरेको देखिएपछि रोग नियन्त्रणका लागि उच्च सतर्कता आवश्यक भएको विज्ञहरू औँल्याउँछन्।
के छ सामानको स्थिति?
तर कोरोनाभाइरस रोकथाम र नियन्त्रणका त्यसका लागि आवश्यक पर्ने सामग्री क्रमशः सकिँदै गएको छ। अहिले सरकारसँग एक हप्तादेखि १५ दिनसम्म मात्र काम गर्न पुग्ने सामग्री रहेको बताइएको छ।
यसअघि आवश्यक सामग्रीको खरिद सम्झौता रद्द गर्ने निर्णयसँगै तीन दिनमा बोलपत्रको काम सक्ने र त्यसको पाँच दिनमा सामान ल्याउने योजना स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको थियो।
तर त्यसअघि नै मन्त्रिपरिषद्ले जीटूजी सम्झौतामार्फत् नेपाली सेनालाई त्यस्ता सामग्री ल्याउने जिम्मेवारी दिएपछि सबै पक्ष सेनाकै भर परेको देखिन्छ।
(स्रोत: विविसी)
प्रतिक्रिया