लेख्न छाडेको नि करिब दुई बर्ष भएछ।लेख्न धेरै पहिले देखि मन थियो । समस्या थियो मेरो ल्यापटपमा । धेरै कोशिस गर्दा पनि मैले ल्यापटपमा वर्ड इन्स्ट्ल गर्न सकिन ।बल्ल बल्ल गरे तर सबै नेपाली मात्रा आएन । हुक्के । अहिलेपनी गुगल ड्राइभ सहयोगमा मोबाइलबाटै लेख्दै छु ।सुरुका दिनहरु अलिक पृथक नै हुँदा रैछ्न परदेशमा । कहिले परदेशको अनुभवनै नगरेको म । त्यो पनि सात समुन्द्र पारी कहाँ हो कहाँ जस्तो लाग्थ्यो शुरुवाति दिनहरु ।स्वसथानी पढ्ने बेला पाताल अनि त्यसैगरी विभिन्न लोकहरु पढेको थिए ।यस्तो लाग्दै थियो कि म अर्कै लोकमा छु । त्यसैले त म सुत्ने बेला मेरा आफ्नाहरु उठ्थे ।म उठ्ने बेला उनिहरु सुत्थे । अचम्मै लाग्छ बिचित्र संसार देखेर ।
झन्डै एक दशक कर्नाली र सुदुरपश्चिमको मात्र अनुभव थियो । थियो त अनुभव उकाली ओराली । डाडा काडा अनि हिमाल ।
त्यो परिवेश जहाँ कती मान्छेलाई आफ्नो जिल्लाको सदरमुकाम था थिएन । उनिहरुका धेरै जस्ता कामहरु सदरमुकाम भन्दा छिमेकी रास्ट्रको नाकाबाट हुन्थ्यो ।सरकारी काम कामको लागि मात्र सदरमुकाम चाहिन्थ्यो त्यसैले गर्दा पनि मान्छेहरु आफ्नो देश प्रती अपनत्व महशुस गर्दैनथे ।सदरमुकाम आउन जान पनि १/२ दिनले पुग्दैन्थ्यो । लाग्थ्यो हप्तौ । बाटोमा खाने बस्नेको जोहो गर्नु पर्ने । एक्लै पनि यात्रा गर्नु गार्हो । समूह भएर हिड्नु पर्ने । सधै समूह पाउन पनि गार्हो । कस्टकर नै थियो यात्रा । हुनत अहिले धेरै परिबर्तन भएको छ अरे । बाटो घाटो निकै नि बनिसकेको छ कर्नाली अनि सुदुरमा । सामाजिक अभियान्ता भएर दसक बित्यो दुर्गममा। झोला र ल्यापट्प बोकेर कहिले मुगुको रारा,कहिले हुम्लाको मने काध त कहिले जुम्लाको चन्द्ननाथ हुँदै बाजुराको बडिमालिका पनि पुगियो ।हुम्लाको मुचु चीनको सिमा । चन्खेली लेक कहिले अछामको बैधनाथ डुलियो। हाम्रो लागि ल्यापटप र झोला त बाहुनबाजेको जनै जस्तै हुन्थ्यो । जति बेला नि काम लाग्न सक्ने । त्यसैले गर्दा नि जहाँ जादा नि बोकेर हिडिन्थ्यो ।जागिरनै डुल्या पर्यो । झोला बोकेर सामाजिक अभियानका सन्देशहरु बोकेर हिडियो झन्डै दसक ।
के लेख्छु भनेको कहाँ पुगेको छु । नेपालबाट हिरा (नक्कली मायाले दिएको नाम)ले बेलामा लेख्न लेख भनिरहन्छ । दुर्गालाल र केबि सरले त आर्टिकल लेख्न भन्नू भएको थियो बिद्यालयको स्मारिकाको लागि । लेनिनले भन्छ कहिले कसो लेख्न भनेर । अहिले दिपक घिमिरे भाइले पनि लेख्नु पर्यो दाजु भन्छ्न बेला बेला । मित्र किशनले टेक्सासबाट लेख्न पर्यो भनेको धेरै भयो । फेरि ट्रयाक छोड्या जस्तो लाग्यो । कहाँ थिए म । ए मैले परदेशको सुरुवाती दिनका कुरा गर्दै थिए । साच्चै सुरुवाती दिनहरु सार्है कष्टकर हुदोरहेछ । धेरै कुराले अर्थ राख्दो रहेछ । सुरुमा त घर परिवार छाड्नुको पीडा । म त अझ भाग्यमानी आफ्नो मान्छे भएकोले त्यती दुःख खेप्नु परेन जति मैले आउनु अघि धेरै बाट सुनेको थिए । दोर्स्रो आफुले आफ्नो देशमा गरेको जस्तै जागिर नपाउनु ।कामको प्रकृति हावापानी अनि समय सबै पृथक । बिस्तारै सबै कुरा समय संगै अभ्यस्त हुदोरहेछ । तर मन चाहिँ हुदोरहेनछ ।सताउदो रहेछ धेरै पक्षहरुले । आफू जन्मेको ठाँउ । हुर्केको बढेको परिवेश । जागिरे हुँदा घुमेका कुना कन्दरा । साथीभाइ । भुल्नै नसकिने ती मनोरम प्राकृतिक छ्टाहरु । बिभिन्न चराचुरुङ्गी र जनावर । जस्का आवाज मात्र सुनेर कैयौंको मन बहकिन्छ । यस्ता कुराले पनि मनलाई पिरोल्छ । कता कता घोच्च चस्स मुटुमा ।अलि बहकिए कि क्या हो। म अहिले अमेरिकामा छु । करिब दुई बर्ष हुन लाग्यो । अमेरिकाको क्यालिफोर्निया राज्यको सान्टारोजा शहरमा बस्छु । यता आइसकेको पछि मलाई उस्तै अनुभुति भयो जस्तो सुरुमा म कर्नाली जादा भएको थियो । २०६३ साल बैशाखमा पहिलो पटक कर्नालीको हुम्ला गएको थिए । रास्ट्रिय योजना आयोगको स्वमसेवक परियोजना बाट गएको । काम थियो शैक्षिक सहजकर्ता । पहिलो दिन निद्रा थिएन । भोक थिएन । थियोे त केवल याद । आफ्नो घरको । आफ्नाको । पहिलो पट्क जागिरे भएर जिल्ला बाहिर गएको दिन संग ठ्याक्कै उस्तै अनुभुति हुँदै थियो पहिलो दिनको अमेरिकी बसाइँ ।हुम्लामा पनि तीन जना थियौ । थम्सन पन्त अनि भरत सुवेदी । यता पनि तीन जना श्रीमती,छोरा अनि म । मौसम लगभग उस्तै । हुम्ला बैशाखमा गएको थिए । अमेरिका जेठमा । हावापानी पनि मिल्दो रहेछ अलिअलि ।बिहान बेलुकी चिसो चिसो । दिउँसो न्यानो जस्तो पारिलो घाम। हुम्ला हुँदा पनि पहिलो दिन दङगाली आफ्ना मान्छेहरु थिए । यता पनि साथीहरु र आफन्तहरु । हुम्लाको एयरपोर्टमा आफ्न्ती दाइ जानू भएको थियो । जो पेशाले प्रहरी हुनुहुन्थ्यो । यता कलेजको मिल्ने साथी । मधु के सि । एयरपोर्ट ल्याण्ड हुने बित्तिकैबाट मेरो मनले अर्कै अनुभुति गर्दै थियोे ।ठुलो एयरपोर्ट । कहिले नदेखेको । कहिले यात्रा नगरेको । विभिन्न चरण पार गर्नु पर्ने । धेरै लामो प्रकृया हुदोरहेछ पहिलो पटक । नेपालको अङ्ग्रेजीको बिध्यार्थी भए पनि कति कुरा गोराको बुझ्न गारो हुदोरहेछ । दुई कुराले गार्हो हुदोरहेछ । हामीहरु अङ्ग्रेजी बोल्ने अभ्यास नगरेका । खाली लेख्ने पढ्ले त्यो पनि परीक्षाको समयमा। अर्को कुरा गोराहरुको नेटिभ टोननै बुझ्न गार्हो अनि धेरै छिट्टो बोल्ने । मैले एक छिन सम्झे लेनिन अनि ठाकुरलाई । स्कुल देखि नै ठाकुर र म सार्है छिटो बोल्ने मान्छे । यता आएपछि थाहा भयो । हामी भन्दा त गोरा पो छिटो बोल्दा रैछ्न ।जे होस प्रक्रिया पूरा गरेर एयरपोर्ट बाहिर आइयो । कोठा पहिले नै फिक्स भैसकेकोले बस्नलाई सजिलो थियो ।एबम रितले बिस्तारै चल्दै थियो जिन्दगीको अर्को अध्याय । जे गर्नु पर्ने आफै । अब बल्ल बुझ्दै थिए जिन्दगीलाई नजिकबाट । नेपालहुँदा मलाई बाउ भाको अनुभुति दुई पटक मात्र भएको थियो । अस्पतालमा जब नर्सले Agreement paper मा द्स्तखत गराइन । दोर्सो बाबुको न्वारानमा । त्यो भन्दा अघिपछि घरमा पाहुना जस्तो गइन्थ्यो । घरमा बा आमा भए पछि त झन कर्तव्यबोध नै नभएको जस्तो लाग्ने ।अहिले पो रियल गृहस्थ जिन्दगी बिताउदै छु । महसुस पनि गर्दैछु बा,आमा,हजुरबुवा अनि हजुरआमा । बा ले भन्नुहुन्थ्यो सानोमा मैले जिद्दी गर्दा, ठूलो भएपछि था पाउछन् आफ्ना थाप्लोमा परेपछि । हो रै छ । अहिले यहि शब्द म मेरो छोरालाइ भन्छु । सायद यो यसरि सबैको बाउ छोरामा घुम्ने चक्रीय शब्द हो कि क्या हो । जे होस सार्है दम छ यो शब्दमा ।काम पनि गर्छ । मैले धेरै सिकेको छु यो शब्दबाट। हुनत सानोमा जानीजानी बा आमालाई दु:ख दिने नियत हुँदैन । तर त्यो समयनै त्यस्तै हुन्छ जहाँ खेल्नु,रमाउनु अनि खानुले धेरै अर्थ राखेको हुन्छ । यो मनले बुझदैन बा आमाले गरेको सघर्ष अनि उनिहरुको पीडा । यो पनि बुझ्दैन कि उनिहरुले गरेको हरेक पलपलको मेहनत सबै हाम्रो लागि हो भनेर । हामीलाई त बस भनेको समयमा खाना अनि पैसा भए पुग्थ्यो ।अहिले बुझ्दैछु । अनुसरण पनि गर्दैछु ।
बिस्तारै यो डायोस्पराबाट अलिअलि बामे सर्दै थिए । दुई चार पाइला सार्दै थिए । यो कस्तो मोडआइदियो अचानक । अहिले बामे सर्नलाइ बाटो छैन । दौड्नु त परको कुरा भयो ।सबै ठप्प । अहिले जिन्दगीको गाडी रोकिएको छ । फेरि उहीँ घर सम्झन्छु । बा आमा सम्झन्छु । त्यती सजिलो रहेनछ । बा हुनु । आमा हुनु । घरमा सबै कुराको निर्णय बा आमाले गर्नुहुन्थ्यो । आफू त सधै अल्लारे झै । कुनै कुराको टेन्सन हुने थिएन । बढो उन्मात गार्हो हुदोरहेछ । त्यो पनि यो परदेशमा । छ्न त छ नि कोठा भरी खाने कुरा । त्यो पनि मनले रोजे जस्तो । सिङै घर कोठामा सिमित छ । मेरो बैठ्क । मेरो बैगल ।मेरो डाइनिङ रुम । मेरो लिभिङ रुम। मेरो बेड रुम । सबै अटाएको छ । तर मनमा भएको खुलदुलि अटाएन ।सबै भरिदो रहेछ । यो मन भरिदो रहेनछ ।मन न हो । कहाँ पुग्छ घरी घरी।कहिले घरमा । कहिले काम गरेका दुर दराज । संगै काम गरेका साथीहरू । काम गर्दा भोगेका सुखदुःखले मनमा बेलाबेलामा झस्काउछ । कहिले हसाउछ सम्झनाले । कहिले रुवाउछ यादहरुले । पलभरमै कहाँ कहाँ पुग्छ । सम्हालेर राख्नु पर्ने । कतै राम्रो हावापानी । कतै प्राकृतिक मनोरम दृश्यले मनलाई लोभ्याउने हो कि । कता कता उडेको मन ।कतै भागेर आउदैन कि भन्ने पिर ।! जति बहकिए पनि धरातलमा आउनुनै पर्ने । इमोसन ले खाना दिदैन । सेन्टिमेन्टले समस्या बुझ्दैन ।
के गर्नु अर्काको देश । काम नगरी नहुने । यहाँको दैनिकीमा समय गएको पत्तो हुँदैन । मैले आफुलाइ धेरै काम गर्ने मान्छे ठान्थे । यहाँ आए पछि महशुस गरे मैले काम के हो । कामको महत्त्व कसरी राख्दा रैछ्न गोरेहरुले ।यहाँको काम गराइको स्टायल नै फरक । मैले भन्न खोजेको नेपालमा हामी मासिक तलब लिएर काम गर्छौ । यता घण्टाको हिसाबमा काम गर्नु पर्ने । यहाँको काम गराइ र खटाइ मैले लाइफमा देखेको थिइन् । देख्नु पनि कसरी पहिलो पटक त परदेश आएको थिए । करिब १२/१३बर्ष नेपालमा जागिर गरे । मैले काम गर्ने र सरकारीको त अझै कति फरक थियो नेपालमा । मैले सरकारी जागीरे साथीहरूलाई भन्थे कहिलेकाही । बड्डाहरु तिमीहरूलाई जागिर खान गार्हो छ । खाइसकेपछि तिमिहरुलाई जस्तो मस्ती कसैलाई छैन । कतिले हासेर मौन समर्थन गर्थे त कति उल्टो बाज्थे किनकी उनिहरुलाई सत्य लुकाउनु थियो । तल देखि माथी सम्मको परिपाटी सबैले मान्नु पर्ने । मैले फेरि सरकारी राम्रा मान्छे छैनन भनेको नि होईन । राम्रा र नराम्रा दुबैलाई हेर्ने अनि काम गर्ने मौका मिल्यो । यस्ता मान्छेहरु नि छ्न घर भन्दा काम अनि परिवार भन्दा सस्थालाइ माया गर्ने । उनिहरुको खप्पर बलियो हुदैनथ्यो । उनिहरु कि त राज्यको प्रत्यक्ष प्रभाव छिटो नपुग्ने ठाउँमा सेवा गर्ने जानू पर्थ्यो । होइन भने बाध्यकारी भएर सिस्ट्मलाई मानेर बस्नु पर्थ्यो । यो कुरा आफ्नो ठाउँमा छ । बिस्तारै समयसङै यस्मा सुधार आउला ।
म अझै लेख्न खोजेको कुरैमा आइन कि ।अलि गफाडी नै भए कि क्या हो!!अहिले सारा संसार कोरोना भाइरसबाट त्राही त्राही भइरहेको छ । म झन त्यस्तो देशमा छु । जहाँ संक्रमण हुने देशहरूको सुचीमा एक नम्बरमा छ ।मर्नेहरुको संख्यामा पनि केही दिनमै उचिन्छ । समाचार सुन्दा डर लाग्छ । घरमा बसेको झन्डै एक महिना हुदैछ ।
अहिले समाचार सुन्दा सुन्दा यस्तो लाग्दैछ ओलम्पिक खेल चलिरहेछ । हामी दर्शक भएर पद्क संख्या गन्दै छौ।
घरमा रहेका बा आमाले चिन्ता लिनु हुन्छ । आफ्ना आफन्ती,साथीभाइ अनि छरछिमेकीले चिन्ता लिन्छन् । यो सबै स्वभाविक थियो । यस्तो अबस्थामा आफ्नाले आफ्नालाइ सम्झनु ।उनिहरुको अवस्थाको जानकारी लिनु । कहिले नबोलेका साथीहरूले पनि हालखबर सोधपुछ गर्छन् । चासो बढेको छ । खुशी लाग्छ । मेरा पनि आफ्ना छ्न माया गर्नेहरु भनेर । मन न हो । त्यो नि मान्छेको । नकारात्मक हुँदोरहेछ । मलाई नै केही भै हाल्छ कि । मेरा आफ्न्तलाइ नै हुन्छ कि । त्यस्तै उल्टो सोच्दो रहेछ मन ।
यसरी बित्दै छ दैनिकी । छोराको होमवर्कमा सहयोग गर्ने । सामाजिक संजालको भरपुर उपयोग गर्ने । फिल्म हेर्ने । परिकार बनाएर खाने ।यो समयले बर्सौ नभेटेका साथीलाई भेटाएको छ । धेरैका सृजना फुरेका छ्न । अहिलेको यो समयले कतिलाई कवि बनाएको छ। कति गजलकार । कतिलाई आर्टिस्ट । जे होस समयले केही लिन्छ अनि केही दिन्छ । यो समय धेरै कुराहरु लिएर आएको छ । धेरै कुरा दिएर जादैछ । समयलाई हामीले चिन्न जान्नु पर्छ । यसरी बहकिएको मनलाई थमथमाउदै थिए बुढी आइन नयाँ डाटा लिएर । सुनाउदौ थिइन अझै पनि अमेरिका एक नम्बर ।
खिमु केसी
क्यालिफोर्निया
प्रतिक्रिया