US Khabar
  • ट्रम्पको ४ बर्षे कार्यकाल र उनिप्रति विश्व जगतको धारणा

    - Admin | ३ महिना पहिले प्रकाशित

    ट्रम्पको ४ बर्षे कार्यकाल र उनिप्रति विश्व जगतको धारणा

    संयुक्त राज्य अमेरिकाका राष्ट्रपति आफ्नो देशका नेता मात्रै नभई सम्भवतः विश्वकै सर्वाधिक शक्तिमान व्यक्ति हुन्। उनले के गर्छन् त्यसले हामी सबैको जीवनमा प्रत्यक्ष वा परोक्ष प्रभाव पार्छ। डोनल्ड ट्रम्प पनि यो कुरामा अपवाद बन्न सकेनन्।

    अमेरिकालाई विश्वले कसरी हेर्छ ? 
    राष्ट्रपति ट्रम्पले अमेरिका ‘विश्वकै महत्तम राष्ट्र’ भएको बारम्बार घोषणा गरेका छन्। तर १३ वटा देशमा पीउ रिसर्च सेन्टरले गरेको सर्वेक्षणले उनले देशबाहिर अमेरिकाको छवि राम्रो बनाउन खासै केही गरेका छैनन्।

    धेरै युरोपेली देशमा अमेरिकाबारे सकारात्मक धारणा राख्ने मानिसको सङ्ख्या लगभग २० वर्षयताकै न्यून छ। संयुक्त अधिराज्यमा ४१ प्रतिशत, फ्रान्समा ३१ प्रतिशत र जर्मनीमा जम्मा २६ प्रतिशतले अमेरिकाबारे सकारात्मक धारणा राखेका थिए। त्यसको मूल कारण अमेरिकाले कोरोनाभाइरस महामारीविरुद्ध गरेको प्रतिकार्य थियो।

    जलवायु परिवर्तनबारे उनको निर्णय
    राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनबारे कस्तो धारणा राख्छन् ठ्याक्कै बुझ्न गाह्रो छ। उनले त्यसलाई ‘महँगो ठट्टा’ देखि ‘आफ्ना लागि एकदमै महत्त्वपूर्ण’ अनि ‘गम्भीर विषय’ सम्म भनेका छन्।

    तर कार्यकाल सम्हालेको छ महिनामै वैज्ञानिकहरूलाई असन्तुष्ट बनाउनेगरी उनले विश्वव्यापी तापक्रम वृद्धि २ डिग्री सेल्सीअस तल झार्ने प्रतिबद्धता व्यक्त गरिएको तथा झन्डै २०० देशद्वारा हस्ताक्षरित प्यारिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग्याउने निर्णय गरे।

    जलवायु परिवर्तनविरुद्ध लड्न अमेरिकी चुनाव किन महत्त्वपूर्ण

    अमेरिका चीनपछि सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देश हो र अनुसन्धानकर्ताहरूले राष्ट्रपति ट्रम्प पुन: निर्वाचित भए तापमान वृद्धिलाई नियन्त्रण गर्न असम्भव हुनसक्ने चेतावनी दिएका छन्।

    राष्ट्रपति ट्रम्पले प्यारिस सम्झौताका कारण आकर्षित हुने कडा नियमनहरूले अमेरिकामा उत्पादित सामग्रीहरूलाई ठप्प बनाउने दाबी गरेका थिए।

    कोइला, तेल र ग्यासको उत्पादनका लागि प्रदूषण सम्बन्धी कैयौँ नियमहरू राष्ट्रपति ट्रम्पले हटाए पनि सस्तोमा पाइने प्राकृतिक ग्यास र नवीकरणीय ऊर्जालाई समर्थन गर्ने राज्यहरूको नीतिका कारण अझै धेरै कोइला उद्योगहरू बन्द छन्।

    अमेरिका औपचारिक रूपमा प्यारिस सम्झौताबाट अलग हुने दिन नोभेम्बर ४ राष्ट्रपतीय निर्वाचनको भोलिपल्ट हो। जो बाइडनले आफूले जिते पुन: उक्त सम्झौतामा फर्किने घोषणा गरिसकेका छन्।

     

    सीमा बन्द
    राष्ट्रपतिको पद सम्हालेको एक सातापछि नै ट्रम्पले मुसलमान बहुल भएका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाए। हाल १३ देशका नागरिकलाई कडा यात्रा नियममनको प्रावधान लागु गरिएको छ।

    अमेरिकामा बसिरहेका विदेशमा जन्मिएका नागरिकहरूको सङ्ख्या राष्ट्रपति ओबामा सत्तामा रहेको अन्तिम वर्ष भन्दा ३ प्रतिशतले बढेको छ।

    तर ट्रम्पको कार्यकालमा अमेरिकामा बसिरहेका मेक्सिकोमा जन्मिएका व्यक्तिहरूको सङ्ख्या निरन्तर घटिरहेको छ र ल्याटिन अमेरिका र क्यारबीअनमा अरू देशबाट आउने मानिसको सङ्ख्या बढी रहेको छ।

    मेक्सिकोसँगको सीमामा “ठूलो, सुन्दर पर्खाल” बनाउने प्रतिबद्धता राष्ट्रपति ट्रम्पको मूल आप्रवासन नारा थियो। अक्टोबर मध्यसम्म ३७१ किलोमिटर पर्खाल निर्माण भइसकेको छ जुनमध्ये अधिकांश पहिलै कायम रहेको तारबारको सट्टा बनाइएको हो। तर त्यसले अमेरिका प्रवेश गर्न आतुर व्यक्तिहरूलाई छेक्न सकेको छैन।

    अमेरिका-मेक्सिकोको सीमामा थुनिएका आप्रवासीको सङ्ख्या सन् २०१९ मा १२ वर्ष यताकै उच्च रह्यो। राष्ट्रपति ट्रम्पले अमेरिकामा पुनर्वास गरिने शरणार्थीको सङ्ख्यामा पनि ठूलो कटौती गरे। सन् २०२१ मा १५ हजारलाई आश्रय दिँदैछ जुन सन् १९८० मा शरणार्थी कार्यक्रम सुरु भएयताकै न्यून सङ्ख्या हो।

     

    मिथ्या समाचार र ट्रम्प
    राष्ट्रपति ट्रम्पले ‘फेक न्यूज’ पदावली आफैँले बनाएका हैनन्। तर उनले यसलाई लोकप्रिय बनाइदिएको भन्न सकिन्छ। पहिलो पटक डिसेम्बर २०१६ मा ट्विट गरेयता उनले त्यसलाई झन्डै २,००० पटक प्रयोग गरेका छन्। अहिले गुगलमा ‘फेक न्यूज’ खोज्दा गर्दा १.१ अर्ब वटा परिणामहरू फेला पर्छन्।

    समयक्रमसहित खोजी गर्दा सन् २०१६-१७ को हिउँदयाममा राष्ट्रपति ट्रम्पले आफूलाई गलत लाग्ने समाचारहरूको सूची बनाएर ‘फेक न्यूज अवार्ड’ दिने घोषणा गरेपछि त्यसबारेको चासो ह्वात्तै बढेको देखिन्छ।

    सन् २०१६ को चुनावमा मिथ्या समाचार भनेको पोप फ्रान्सिसले ट्रम्पलाई राष्ट्रपतिमा अनुमोदन गरेको जस्तो झुटो खबर बुझ्ने गरिन्थ्यो।तर त्यसपछि त्यो ‘गलत सूचना’ भन्दा पनि राष्ट्रपति ट्रम्पले आफू सहमत नहुने समाचारलाई आक्रमण गर्न निरन्तर प्रयोग गर्ने अस्त्र बन्यो।

    सन् २०१७ मा उनले कैयौँ समाचार संस्थाहरूलाई अमेरिकी जनताका शत्रुका रूपमा चित्रण गरे।

    थाईल्यान्ड, फिलिपिन्स, साउदी अरब आदि देशका नेताहरूले विपक्षी अभियानकर्ता र पत्रकारहरूलाई दमन गर्न र कारबाही चलाउन फेक न्यूज शब्दावलीको प्रयोग गरेका छन्।

     

    चीनसँगको तनाव
    सन् २०१६ को डिसेम्बर २ मा राष्ट्रपति निर्वाचित ट्रम्पले अस्वाभाविक रूपमा सीधै ताइवानी राष्ट्रपतिसँग कुरा गरे जून सन् १९७९ मा औपचारिक सम्बन्ध भङ्ग भएपछिकै पहिलो थियो। त्यस बेलाकी बीबीसीकी चीन सम्पादक क्यारी ग्रेसीले उक्त कदमले ताइवानलाई आफ्नो देशको प्रान्तका रूपमा ठान्ने बेइजिङलाई ‘सतर्क र आक्रोशित’ बनाउने भविष्यवाणी गरेकी थिइन्।

    ट्रम्पको उक्त कदम दुई देशको सम्बन्धलाई अहिलेसम्मकै तल्लो तहमा पुर्‍याउनेगरी विश्वका ठूला सामरिक प्रतिस्पर्धीबीच उत्पन्न गतिरोधको पहिलो उदाहरण थियो।

    अमेरिकाले चीनलाई आक्रोशित बनाउनेगरी साउथ चाइना सागरमा आफ्नो दाबी प्रस्तुत गरेको छ भने चिनियाँ उत्पादनहरूमा भन्सार दर बढाएको छ।

    टिकटक र वीच्याटजस्ता लोकप्रिय एपमा प्रतिबन्ध लगाउनुका साथै आफ्नो राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गराएको भन्दै उसले अग्रणी चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेईलाई कालोसूचीमा राखेको छ।

     

    अमेरिका-चीन व्यापार
    तर आंशिक रूपमा चीनकै आफ्नै कारण पनि यस्तो परिस्थिति आएको हो।

    सन् २०१३ मा सत्ता सम्हालेयता राष्ट्रपति सीले अत्यन्तै विवादित राष्ट्रिय सुरक्षा कानुन हङ्‌कङमा लागु गरेका छन् र देशका उइगुर मुस्लिम अल्पसङ्ख्यकहरूलाई सामूहिक रूपमा थुनामा राखेका छन्।

    राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसलाई ‘चाइना भाइरस’ भन्ने गरेका छन्। उनले महामारी नियन्त्रणमा आफ्नो कमजोरी छोप्न त्यसो भनेको हुनसक्ने भएपनि नेतृत्व परिवर्तनको अवस्थामा पनि ठूलो फेरबदल भइहाल्छ भन्न सकिँदैन।

    डेमोक्र्याट उम्मेदवार जो बाइडनले राष्ट्रपति सीलाई ‘ठग’ भनेका छन्।

     

    इरानसँग युद्धको मुखमा
    सन् २०१९ को नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत् इरानले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका थिए।

    त्यसको केही दिनपछि अमेरिकाले मध्यपूर्वको सैनिक कारबाही हेर्ने इरानका सबैभन्दा शक्तिशाली सैनिक अधिकारी कासिम सुलेमानीको हत्या गरिदियो। त्यसको जबाफमा इरानले इराकमा रहेका अमेरिकी शिविरहरूमा एक दर्जनवटाभन्दा बढी बलिस्टिक क्षेप्यास्त्र प्रहार गर्‍यो र्यो जसमा १०० जना भन्दा बढी सैनिक घाइते भए।

    दुई देश युद्धको मुखमा पुगेको जस्तो देखिए पनि युद्ध भएन। क्षेप्यास्त्र आक्रमणको केही घण्टापछि इरानी सेनाले गल्तीले युक्रेनी यात्रुवाहक विमानलाई खसाल्यो जसका कारण सबै १७६ यात्रुले ज्यान गुमाए।

    मे २०१८ मा ट्रम्पले इरानसँगको परमाणु सम्झौता नमान्ने घोषणा गरे र आफ्नो सर्तअनुसार सम्झौता गराउन इरानविरुद्ध ह्वाइट हाउसकै शब्दमा ‘हालसम्मकै सबैभन्दा कडा प्रतिबन्धहरू’ लगाए। तर तेहरानले घुँडा टेकेन।

    प्रतिबन्धका कारण इरानको अर्थतन्त्रमा चरम मन्दी देखा पर्‍यो। एक वर्षमा खाद्यान्नको मूल्य ६१ प्रतिशतले र सुर्तीको मूल्य ८० प्रतिशतले बढेपछि मारमा परेका इरानीहरूले व्यापक प्रदर्शन पनि गरे। तर कोरोनाभाइरसको महामारीसँगै त्यो सेलायो। (साभार: बिबिसी)

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">