नेपाली साहित्य क्षेत्रको कविता बिधामा साहित्य अनुरागी नयाँ र पुराना दुवै पुस्तामाझ लोकप्रिय रहेका कवि सोझो गाउँलेले नेपाली साँगीतिक क्षेत्रमा पनि प्रवेश गरेका छन् । बझाङ स्थायि घर भै काठमाडौंमा लामो समयदेखी लेखनमा सक्रिय कवि सोझोे गाउँलेको गीत ‘बालो जोबन’ भिडियो सहित सार्वजनिक भएसंगै उनको सांगीतिक क्षेत्रको औपचारिक यात्रा सुरु भएको हो ।
बिष्णु भट्ट र अन्नु चौधरीको युगल आवाज रहेको गीतमा संगीत गायक भट्ट स्वयंको तथा संगीत संयोजन पवन भाटकाे रहेको छ । सुर संगीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गराईएको यस गीतको भिडियोमा राजु गीरि,प्रतिभा रानी जीवन जंग थापा र रक्षा थापाको अभिनय रहेको छ ।
ओएस आर डिजिटलको युटुब च्यानल मार्फत सार्वजनिक यस गीतमा सुदूरपश्चिम तथा मध्यपश्चिम प्रदेशको स्थानीय भाषिक लवजलाई आधुनिक लयमा प्रस्तुत गरिएको छ ।शृङ्गार अर्थात् प्रेममा समर्पणको गहिरो भाव बोकेको गीत ‘बालो जोबन’ शब्दहरु सुदूरपश्चिम जन्मथलो भएका युवा कवि सोझो गाउँलेले कोरेका हुन् । गीतमा सुदूरपश्चिमकै युवा गायक एवम् संगीतकार विष्णु भट्टले सङ्गीत भरेका छन् भने चौधरी(थारु) गीत मार्फत चर्चामा रहेकी गायिका अन्नु चौधरी र विष्णु भट्टले यसमा स्वर दिएका छन् ।
केटी-रानीलेक हिउँ पड्याको राई सल्लो ढल्याको
साई तम्रा सासले मेरो धुकधुकी चल्याको ।
केटा- पिपलबोट पिङ हाल्याको एक डोरी चुन्ड्याको
सुवाका घाँटीउँदो मेरो परानी झुन्ड्याको ।
लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरिरहेका सुदूरपश्चिमकै केशव गिरीले यसलाई बजारमा ल्याएका हुन् क्ष् गीतको भिडियोमा पुराना तथा अनुभवी मानिएका याम गुरुङको निर्देशन र वीरेन्द्र भाट ’विपिन’ को सम्पादन रहेको छ भने महेश महराले यसमा क्यामरा चलाएका छन् ।
रुसको राजधानी मस्कोमा आयोजित ’प्रिन्सेस अफ दि युनिभर्स – २०१७’ की विजेता रक्षा थापा, २०१९ कि नेपाली मिस टिन प्रतिभा रानी राई, रङ्गकर्मी जीवनजङ्ग थापा र कान्ती बाल अस्पतालका चिकित्सक राजु गिरीको यसमा अभिनय रहेको छ ।
आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्दै समय परिस्थिति अनुसार त्यसलाई परिवर्तन र परिमार्जन गर्दै जानुपर्छ भन्ने मान्यताका साथ देउडामा नयाँ प्रयोग गरिएको गीतलाई आफूले लागानी गरेको निर्माता गिरीको भनाइ छ । नयाँ तथा प्रतिभावान कलाकारलाई अवसर दिएको र उनीहरुले निकै मिहिनेतका साथ खटेर काम गरेकाले गीत श्रोता-दर्शकले रुचाइदिने विश्वास उनको रहेको छ ।
अहिलेसम्म कविको रूपमा मात्र चिनिएका सोझो गाउँलेको यो रेकर्ड भएको पहिलो गीत हो । “गीत त डायरीभरि छन् तर रेकर्ड भएको यो मेरो पहिलो गीत होस हेरौँ श्रोताहरुले कत्तिको रुचाउँछन् ।“ सोझो गाउँलेको प्रतिक्रिया थियो । सुदूरपश्चिममा बोलिने भाषा, शब्द र बिम्वलाई टिपेर आफूले गीत लेखेको र संगीत, स्वर र भिडियो पनि आफूलाई मन परेको आफ्नो गीतलाई न्याय भएको कुरा उनले बताए ।
प्रतिक्रिया