गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) विभाजित दल नेकपाको कुनै पक्षमा नलाग्ने भएका छन् । उनले बामदेव गौतमले थालनी गरेको राष्ट्रिय एकता अभियानलाई उनले समर्थन जनाउने भएका छन् ।
मनाङ ‘ख’बाट प्रदेश सभामा निर्वाचित भएका उनी गतवर्ष नेकपा प्रवेश गरेका थिए । उनी प्रदेश सभामा सत्तारुढ दलकै लहरमा बस्दै आएका थिए । आफू पार्टी विभाजनको पक्षमा नरहेको उनले बताए । ‘यो विभाजनले कसैलाई फाइदा गर्दैन’ उनले भने, ‘त्यसकारण पार्टी एक बनाउने प्रयास गर्दैछु ।’
आफ्नो अभियानमा साथ दिन भन्दै बामदेवले शुक्रबार बिहान मनाङ्गेलाई फोन गरेका थिए । नेकपा ओली समूहको सबैभन्दा बलियो मानिएको प्रदेश गण्डकीमा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले साथ नदिने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई संकट पर्ने देखिन्छ ।
मनाङेले आफू स्वतन्त्र भएको उल्लेख गर्दै नेकपा सांसदको रुपमा काटिएको लेबीसमेत फिर्ता मागेका छन् । मनाङेसहित २७ सांसद ओली पक्षमा र जनमोर्चाका ३ सांसदले समर्थन गर्दा ३० सांसद भई मुख्यमन्त्री गुरुङ ढुक्क थिए ।
६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेकपा प्रचण्ड–नेपाल समूहमा १३ जना, नेपाली कांग्रेसका १५ र जनता समाजवादी पार्टी जसपाका २ सांसद छन् ।
प्रतिक्रिया